भर्खरै :

कियोको ओगुराको काठमाडौं स्पि्रङमा फागुन ८ गते

(पञ्चायती व्यवस्था हटाएर प्रजातन्त्रको पुनर्स्थापनाका लागि संयुक्त वाममोर्चा र नेकाले संयुक्त आन्दोलनको घोषणा गरे। ४० वर्षअघि जहाँनिया राणा शासनले जनताको अगाडि घुँडा टेकेको दिन फागुन ७ गतेका दिन आन्दोलन श्रीगणेश गर्ने निधो गरे। प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएको त्यस आन्दोलनमा पञ्चायती सरकारले निर्ममतापूर्वक दमन चलाए। अन्ततः जनइच्छाको जीत भयो। यी नै विषयहरूलाई जापानी पत्रकार कियोको ओगुराद्वारा लिखित जनआन्दोलनसम्बन्धी पुस्तक काठमाडौं स्पि्रङ, द पिपल्स मोभमेन्ट अफ १९९० (काठमाडौं वसन्त, १९९० को जनआन्दोलन) मा नेपालमा दोस्रो पटक प्रजातन्त्र स्थापनाका लागि भएको जनआन्दोलनका ६० दिनमा भएका घटनाहरूलाई विस्तृत वर्णन गरिएको छ। ओगुराले ती घटनाहरूसँग प्रत्यक्ष वा परोक्षरुपमा सम्बन्धित हजारभन्दा बढी मानिसहरूसँगको अन्तर्वार्ताको आधारमा नेपाली जनताले पुनः कसरी प्रजातन्त्र प्राप्त गरे त्यसलाई क्रमबद्ध रुपमा वर्णन गरेकी छिन्।
लेखक कियोको ओगुराले २०४६ सालको नेपाली जनताको आन्दोलनको बारेमा शुखम आसाही र माइमिची समाचारपत्रको इकोनोमिष्ट पत्रिकाको लागि लेखेकी थिइन्। हाल उनी टोकियोबाट निस्कने एसिया प्रेस इन्टरनेसनल (Asia Press international)का संवाददाताका रुपमा नेपालमा बस्छिन्। यो पुस्तक सुरुमा राष्ट्र हल्लाउने ६० दिन नामले प्रकाशित भएको थियो। अङ्ग्रेजी भाषाको यसै पुस्तकबाट २०४६ साल फागुन ८ गतेकेा विशेषगरी भक्तपुरको घटना अंशलाई यहाँ नेपालीमा दिइएको छ।)
राजनैतिक पार्टीका कार्यकर्ताहरू निकै सक्रिय थिए। नेपाली काङ्ग्रेस र संयुक्त वाममोर्चाले फागुन ८ गते आमहड्ताल ‘नेपाल बन्द’ को आह्वान गरेका थिए। सबै पसल, शैक्षिक संस्था र यातायात बन्द गर्ने कार्यक्रम थियो। बिहानको मिरमिरे उज्यालो हुनुअघि पार्टीका कार्यकर्ता र विद्यार्थीहरू हड्ताललाई सफल पार्न लागिसकेका थिए।
काठमाडौं उपत्यकाका तीनवटा सहरहरूमध्ये पुरानो सहर भक्तपुर हो। मूलतः किसानहरूको सहर भएकोले त्यहाँ बिहान सबेरैदेखि चहलपहल हुन्छ। सहरलाई पूर्व र पश्चिम भागमा छुट्याउने बजारका पसलहरू पनि सबेरै उठ्ने किसानहरूको चियानास्ताको आवश्यकता पूर्ति गर्न चाँडै खोलिन्छ। तर फागुन ८ गतेकेा दिनमा सबैजसो पसलहरू बन्द थिए। संयुक्त वाममोर्चाको एकपटक नेपाल मजदुर किसान पार्टीका सदस्य श्यामकृष्ण कोजू बजार क्षेत्रको अवस्था अध्ययन गर्दै थिए।
नेपाल मजदुर किसान पार्टीको स्थापना भक्तपुरका नारायणमान बिजुक्छेंले गर्नुभएको हो। त्यस पार्टीलाई त्यहाँका अधिकांश जनताको समर्थन रहेको छ। का. रोहित नामले सुपरिचित पार्टीका अध्यक्ष नारायणमान बिजुुक्छें र पार्टीका अरु केही सदस्यहरूलाई भक्तपुरका भूतपूर्व राष्ट्रिय पञ्चायतका सदस्य कर्णप्रसाद ह्योजू जो २०४५ सालमा एउटा हुलहुज्जतमा पिटिएको थियो, उसको मृत्युमा हात रहेको शङ्कामा जेलमा राखिएको थियो।
पार्टीका वरिष्ठ कार्यकर्ताहरूमध्येका भए पनि श्यामकृष्ण पक्राउमा परेको थिएन। जनआन्दोलनमा नेमकिपाको आधिकारिक व्यक्तिको रुपमा जिम्मेवारी उनको काँधमा आएको थियो। वाममोर्चाको कार्य समितिमा पार्टीको प्रतिनिधित्व उनैले गरेका थिए। साढे तीन दसक वसन्त पार गरिसकेका श्यामकृष्णको नेतृत्व अब अग्नि परीक्षामा थियो।भर्खरै उनले तत्कालीन जिल्ला पञ्चायतका सभापतिलगायत पञ्चहरू हड्ताललाई तोड्न बजारतिर गइरहेको खबर पायो। पञ्चहरू पसल खोल्न पसलेहरूलाई दबाब दिइरहेका थिए। ‘यदि हामीले केही गरेनौं भने डरले पसलेहरूले पसल खोल्नेछन् के गरौं’श्यामकृष्णलाई उसका साथीहरूले प्रश्न गरे।
कोठामा सँगै बसिरहेका विद्यार्थी कार्यकर्ताहरूद्वारा त्यस प्रतिकूल अवस्थामा निर्देशन माग गरेपछि युवा नेता श्यामकृष्णले भने –’त्यसो हो भने जुलुस गरौं। पसलेहरूलाई पसल बन्द गर भन्दै बजारतिर जाऊ।’ विद्यार्थी कार्यकर्ता रवीन्द्र खर्बुजालाई जुलुसको नेतृत्व गर्न निर्देशन दियो। कोठाबाट छुटिंदा उसले पटकपटक जोड दिएर भन्यो –’कुनै पनि हालतमा पक्राउबाट बच। हाम्रो सानो लडाकू बल अझ कमजोर भएमा हामी अ्क कठिन अवस्थामा पर्ने छौं।
कार्यकर्ताहरू तुरुन्त बजारको पूर्वीछेउ सूर्यमढीतिर लागे। ‘सूर्यमढीमा भेला होऔं।’ तुरुन्त जनताको बीचमा सो सूचना सर्कुलर गरियो।
त्यस समय भक्तपुरका किसानहरूका लागि आलु खेतीको समय थियो। आसकुमार मचामसी आफ्ना बाल्यकालका साथी कृष्णराम दुवालसँगै नियमित रुपमा खेतमा जाने गर्थे। त्यस बिहान उसलाई कहीं जाने मन भएन। आन्दोलनको पहिलो दिनदेखि नै भक्तपुरमा अलि असजिलो वातावरण थियो। कुनै प्रदर्शनी नभएको भए तापनि अघिल्लो दिन (फागुन ७ गते) काठमाडौंमा गएकाहरूको घटना विवरणबाट भक्तपुरलाई काफी असर पारेको थियो।
मचामसी र दुवालको घर बजारको दक्षिणपट्टिको भिरालोमा अवस्थित थियो। एकाबिहानै दुवैजना हड्ताल हेर्न बाहिर गएका थिए। पछि फेरि आसकुमार कृष्णरामको घर जाँदा कृष्णराम बजारबाट फर्कंदै थियो। ‘आज के गर्दैछौ’– आसकुमारले सोध्यो। कृष्णरामले जवाफ दियो –’हिजो गरेको काम सिध्याउनेछु।’
आसकुमार त्यो दिनमा काममा नजाने विचारमा थियो। बिहानको खाना खान बसेको मात्र थियो, कोही चिच्याएको सुन्यो –’बजारमा जुलुस आयो।’ ऊ तुरुन्त बाहिर आयो। कृष्णरामको घर हुँदै आउँदा उसले आफ्नो साथीले खेतमा जाँदा बोक्ने खर्पन ढोका अगाडि देख्यो। ‘कृष्णराम कहाँ गयो।’ उसले कृष्णरामको आमासँग सोध्यो। एकजना साथीसँगै बजारतिर लागेको कुरा उसको आमाले भनिन्। आसकुमार पनि आफ्नो साथीको पछि लाग्यो।
रवीन्द्र खर्बुजा सूर्यमढीमा थियो। श्यामकृष्णले तुरुन्त जुलुस गर्न निर्देशन गरेको भए पनि तीसजनाभन्दा बढी मानिसहरू जम्मा भएका थिएनन्। एक डेढ वर्ष अगाडि ह्योजू काण्डको क्रममा आम धरपकड भएकोले भक्तपुरका मानिसहरू पुलिसदेेख तर्सिएका थिए। भेलामा आएका मानिसहरूको त्रसित मुख देखेपछि उनले अब जुलुस नहुने सम्भावना देख्न थाले। तैपनि उनले नाराहरू लगाउन थाले। मानिसहरुले उनलाई साथ दिए। त्यो सानो समूह सूर्यमढीबाट दत्तात्रयको चोकसम्म पुग्यो।
दत्तात्रयको चोक कलात्मक काष्ठ कलाबाट सिंगारिएका झ्यालहरू भएका भवनहरूले घेरिएको छ। चोकतिर फर्केका बढीजसो भवनहरूमा रहेका पसलहरूमा पर्यटकहरूका लागि उपहार बिक्री गरिन्छ। रवीन्द्र खर्बुजा र अन्य प्रदर्शनकारीहरूले पसलेहरूलाई पसल बन्द गर्न आह्वान गर्न थाले। प्रजातन्त्रको माग गर्दै नाराहरू घन्काउन थालेपछि थुपै्र मानिसहरू  जुलुसमा सहभागी हुन थाले। प्रदर्शनमा हजारौं मानिसहरू देखापर्न थाले। प्रदर्शन सुकुलढोका बजार पुगुञ्जेल चुप लागेर बसेका प्रहरीहरूले अचानक जुलुसको बाटो छेके।
सुकुलढोकामा थुपै्र किराना पसलहरू छन्। त्यसैले सामान्यतया त्यहाँ भीड भइरहन्छ। तर त्यो दिन सबै पसलहरू बन्द थिए। प्रदर्शनकारीहरू सुकुलढोका पुग्दाखेरि प्रहरीले उनीहरूलाई धपाउन थाले। प्रदर्शनकारीहरूले पनि प्रहरीलाई पछाडि धकेल्ने प्रयास गरे। प्रहरीको चक्रव्यूह तोडेर सयौं मानिसहरू (टौमढी) पाँचतले मन्दिरको चोकतिर लागे। एउटा ठूलो समूह अगाडि बढ्दै गयो। अचानक टौमढीमा बसिरहेका प्रहरीको एक दलले प्रदर्शनकारीमाथि हमला गरे। प्रदर्शनकारीहरू पछाडि हटे। जब उनीहरू टौमढी र सुकुलढोका बीचको साकोठा पुगे प्रहरीले तीनतिरबाट प्रदर्शनकारीमाथि आक्रमण गरे। आसकुमार दौड्दै थियो। उसले आफ्नो साथी कृष्णरामलाई अन्दाजी एक सय मिटर टाढाबाट दरवार क्षेत्रको बाटोमा देख्यो। प्रहरी र कृष्णरामबीच त्यस्तै ५०–६० मिटरको मात्र दुरी थियो। ऊ प्रहरीमाथि इँटा हान्दै थियो। अचानक आसकुमारले बन्दुकको आवाज सुन्यो।
‘प्लाष्टिकको गोली रहेछ।’ एकजना प्रदर्शनकारी चिच्यायो र मानिसहरू तितरवितर हुन थाले। उसले गोलीको आवाज फेरि सुन्यो। आसकुमारको आँखा आफ्नो दायाँपट्टि नेपाल बैङ्कको भित्तामा लागेको गोली देख्यो। गोली लागेको इँटा चर्केको थियो। ‘साँच्चैको गोली रहेछ।’ उसले सोच्यो र साकोठातिर दौड्यो।
कृष्णराम पनि उसको पछाडि पछाडि दौड्दै आइरहेको थियो। आसकुमारलाई देखेपछि उसको नजिक आएर आफ्नो पाखुरा देखाउँदै भन्यो –’मलाई गोली लाग्यो।’
कृष्णरामको दुवै पाखुरा रगतले लतपतिएको थियो। आसकुमारले नजिकबाट हेर्‍यो र आफ्नो साथीलाई छातीमा गोली लागेको देख्यो। आसकुमारले घाउमा छोएर हेरेको मात्र थियो, कृष्णराम बेहोस भयो। अरु मानिसहरूको सहयोगमा कृष्णरामलाई सहरको दक्षिणतिरको परोपकारमा लगियो। त्यहाँ डाक्टर थिएन तसर्थ भक्तपुर अस्पतालतिर लगियो जुन सहरको पश्चिम दिशातिर थियो। अस्पताल पुग्दासम्म निकै ढिला भइसकेको थियो। २३ वर्षे कृष्णराम आफ्नो भर्खरै विवाह गरेको पत्नीलाई छोडेर गइसकेको थियो।
भक्तपुरका नेवारहरू आफ्नो चाडपर्वका कारण प्रसिद्ध छन्। बिस्केट जात्रा उनीहरूका ठूलो जात्रा हो। यो हरेक वर्ष चैतको अन्तिम हप्ता सुरु गरी वैशाखको पहिलो हप्तामा अन्त हुन्छ। आठ दिनसम्म मनाइने सो चाडको पहिलो र अन्तिम दिन सहरको पूर्व र पश्चिम भागबाट टौमढीमा मानिसहरू भेला हुन्छन्। त्यहाँ भैरवको मूर्ति भएको रथलाई आफ्नो दिशामा लानको लागि ठूलो प्रतिस्पर्धा हुन्छ। यो एक प्रकारको रस्सी तान्ने खेलजस्तै हो। दुवै विरोधी पक्षहरूको त्यो उत्तेजना कहिलेकाहीं होहल्ला र झगडामा परिणत हुन्छ।
साकोठामा प्रहरीले गोली चलाएपछि टौमढीमा पञ्चहरू र प्रदर्शनकारीहरूबीच विवाद भयो। पञ्चहरूको एक हुल पाँचतले मन्दिरको पश्चिमतिरको गल्लीमा प्रहरीसँगै भेला भयो। उनीहरू प्रहरीसँग सल्लाह गर्दै थिए। यसले प्रदर्शनकारीहरूलाई उत्तेजित पार्‍यो। पञ्चहरू प्रहरीसँग मिलेको थियो। त्यसैले प्रदर्शनकारीहरूले पञ्चहरूतिर चोकबाट इँटा हान्न थाले।
राजेन्द्र दुमरु टौमढीको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित तीनतले क्याफेबाट पञ्चहरूतिर इँटा हान्दै थिए। उसले आफ्नो घुँडा मुनितिर केही बगेको महसुस गर्‍यो। निहुँरेर हेर्‍यो, उसले विश्वासै गर्न सकेन। दायाँ घुँडामुनिको हाड छर्लङ्ग देखिएको थियो। यसअघि नै उसले गोलीको आवाज सुनिसकेको थियो। तसर्थ आफूलाई गोली लागेको कुराको महसुस गर्‍यो।
शिव अवालले त्यो बिहानदेखि आफ्नो साथ रहेका आफ्ना मिल्ने साथी हरिकृष्ण भुजूलाई देख्न छाड्यो। कसैले शिवतिर चिच्याउँदै भन्यो –’कल्पनाको दाजुलाई गोली लागेको छ रे।’
कल्पना हरिकृष्णका बहिनी थिइन्। त्यो कुरा सुन्ने बित्तिकै शिव भक्तपुर अस्पतालतिर दौड्यो। तर ऊ अस्पतालमा पुग्नुअघि घाँटीमा गोली लागेका हरिकृष्णको मृत्यु भइसकेको थियो। हरिकृष्णले आफ्नो नाम आफ्ना आमाबुबाको पहिलो नामबाट पाएका थिए। हरिभक्त र कृष्णमायाका छोरा हरिकृष्ण २० दिन पछाडि आफ्नो २० औं वर्ष जन्मदिन मनाउन गइरहेको थियो। उनको बुबा भक्तपुर अस्पतालतिर हुरिंदै गइरहेको थियो, छोराको मृत्युको खबर सुनेबित्तिकै बेहोस भयो। उनले छोराको लास पनि हेर्न पाएनन्। प्रहरीको गोली लागी मृत्यु भएका हरिकृष्ण र अरु तीनजना प्रदर्शनकारीहरूको लासलाई प्रहरीले कसैलाई फिर्ता गरेन।
यो प्राचीन सहर युद्धभूमिको रुपमा परिणत भयो। दिनभरिमा पाँच फरक फरक ठाउँमा गोली चलेको थियो। चार जना प्रदर्शनकारीहरू मारिए र तीस जनाभन्दा बढी घाइते भए।
साँझपख चारजना पर्यटकहरू त्यस अशान्त सहरमा आइपुगे। तिनीहरू पाटनका महर्जनहरू थिए। उनीहरू स्थानीय जाँड ‘थों’ खान नियमित रुपमा भक्तपुरमा आउने गर्थे। त्यसदिन उनीहरूले एउटा भट्टीमा चिउरा मासु खाएका थिए। त्यहाँ उनीहरूले भक्तपुरमा गोली चलेको कुरा पनि सुनेका थिए। त्यसैले त्यहाँ गएर हेर्ने इच्छा गरे।
नेपाल बन्दको दिन भएको हुँदा सरकारद्वारा सञ्चालित ट्रलिबसबाहेक अरु यातायातका साधन थिएन। होहल्ला, प्रहरी र प्रदर्शनकारीबीच मारामारीको  आशा गरेर आएका ती महर्जनहरू भक्तपुर आइपुग्दा सबै कुरा शान्त भएको पाए। अवस्था बुझ्नका लागि सोध्नलाई समेत कोही थिएन। सडक छेउछाउमा रहेका मानिसहरूले उनीहरूलाई टुलुटुलु हेरिरहेका थिए। बेकारमा आएको महसुस गर्न थालेका ती महर्जनहरूमध्ये एकजनाले इँटाले छापेको बाटोमा रगतका टाटाहरू देखे।
‘के यहाँ कसैलाई गोली लाग्यो?’ उनीहरूले सोधे। ‘केही क्षणअघि त्यो गल्लीबाट गोलीद्वारा मारिएका एकजना प्रदर्शनकारीलाई प्रहरीले घिसार्दै लगेका थिए।’ एक जनाले जवाफ दियो।
यो कुरा सुनेर उनीहरू आफ्नो इच्छाविपरीत रगतका ती टाटाहरू पछ्याउन थाले। रगतका टाटाहरू दरवार क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय अगाडि हुँदै फलामको ढोकासम्म पुग्यो। ढोकासम्म पुगेपछि उनीहरूले महसुस गरे कि उनीहरूबाट गम्भीर गल्ती भएको थियो। त्यो त जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वार पो रहेछ। त्यसबेलासम्म निकै ढिलो भइसकेको थियो। उतिखेर उनीहरू प्रहरीद्वारा घेरिए। साथीलाई भेट्न आएको भनी कैयौं अनुनय/विनय गरे पनि उनीहरूको कुरामा प्रहरीले विश्वास गरेन। उनीहरूलाई प्रहरी कार्यालयमा लगिएको दृश्य टाढैबाट स्थानीय बासिन्दाहरूले देखेका थिए।
रगतका ती टाटाहरू जसलाई उनीहरूले पछ्याएका थिए, ती निर्मलकुमार शाक्यका थिए। उनलाई दरवार क्षेत्रको उत्तरपट्टि तुलाछें गल्लीमा गोली लागेको थियो। टाउकोमा गोली लाग्ने बित्तिकै ऊ त्यही ढलेको थियो। लगत्तै पछि उनको मृत शरीरलाई प्रहरीले घिसार्दै लगेकेा थियो। ती ललितपुरेहरूले उसको मृत शरीर एउटा कोठामा परिरहेको देखे।
प्रहरी हिरासतमा ती ४ जना साथीहरूले जीवनको ठूलो पाठक सिके। प्रहरीबाट निर्मम यातनापश्चात् उनीहरू साढे ३ वर्गमिटरको कोठामा कोचिइयो। त्यो दिन समातिएका अरु प्रदर्शनकारीहरूबाट त्यो कोठा पहिले नै भरिएको थियो। पाइला राख्ने ठाउँसमेत थिएन। पल्टने त परै रहोस्। बस्नका लागि पालो कुर्नुपर्थ्यो। शौचालयको रुपमा कोठामा एउटा बाल्टीन थियो। त्यो भरेपछि पिसाव भुईमा पोख्थ्यो र त्यसको दुर्गन्धले कोठा नर्कतुल्य हुन्थ्यो। बाहिरबाट खाना दिइंदैनथ्यो। अन्य पक्रिएकाहरूका परिवारले ल्याएका खानालाई मात्र प्रवेश अनुमति दिइन्थ्यो। यसरी पाटनका ती चारजना महर्जनहरूले विनाखाना त्यो रात कटाउनु परेको थियो।
काठमाडौं वीर अस्पतालका कर्मचारीहरूले भक्तपुरमा भएको नृशंस घटनाको परिणाम आफ्नै आँखाले देखेका थिए। भक्तपुर अस्पतालमा उपचार गर्न नसकिएका घाइतेहरू त्यहाँ ल्याइएको थियो। एकपछि अर्को गरी १४ जना घाइतेहरू त्यस अस्पतालको आपतकालीन कक्षमा ल्याइएको थियो। नेपालको सबभन्दा ठूलो अस्पताल भए पनि एकै समयमा गोलीबाट घाइते भएका त्यति बढी बिरामीहरू त्यहाँ ल्याइएको यो पहिलो घटना थियो। आपतकालीन कक्षका इन्चार्ज डाक्टर भरतकुमार प्रधान अभिलेखको लागि बिरामीहरूको अवस्थाको तस्वीर लिंदै थिए।
वीर अस्पतालको त्यो दृश्यले आफ्नो अस्पताल जाने क्रममा वीर अस्पतालमा रोकिएको शिक्षण अस्पतालका डाक्टर महेश मास्केलाई नराम्ररी प्रभाव पार्‍यो। चिरफारसम्बन्धी डाक्टर बन्नका लागि मेडिसिन विषय पढेका युवा डाक्टर जो पछि जनतासँग नजिकको सम्बन्ध राख्नका लागि सार्वजनिक स्वास्थ्य सेवातिर लागे, उनी जनआन्देालनमा नेतृत्वदायी भूमिका निभाउँदै थिए।
१४ जना गोलीका घाइतेहरूमध्ये छातीमा गोली लागेका राजकुमार सुवालको शल्यक्रिया गर्ने क्रममा मृत्यु भयो। राजकुमारको अपरेशन गर्ने क्रममा डा. भरत प्रधान र उनका सहकर्मीहरूले घाइतेका शरीरमा लागेको गोली सबुत भेटाउन सकेनन्। गोली शरीरभित्र पड्केर स–सानो टुक्राहरूमा शरीरभरि फैलिएको थियो। यस्ता अनौठो कुरा पाएपछि शङ्का गर्दै डा. प्रधानले शिक्षण अस्पतालका प्रोफेसर डाक्टर मथुराप्रसाद श्रेष्ठसँग सल्लाह मागे। अन्तमा उनीहरू एउटा सहमतिमा पुगे कि त्यो गोली ‘डम डम’ गोली थियो। जसको विध्वंसात्मक असरका कारण विश्वबाट यसको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो।
त्यस दिनदेखि प्रहरीको एक दल वीर अस्पतालमा पहरा दिन आए। भक्तपुरका सबै घाइतेहरूलाई आपतकालीन कक्षमा राखिएको थियो। तिनीहरू प्रहरीको प्रत्यक्ष निगरानीमा थिए। घाइतेहरूको दुर्भाग्य यतिमा अन्त भएन। प्रहरी अधिकारीहरूले उनीहरूलाई कानुन तोड्ने अपराधीको दर्जा दिए र घाउमा केही खत बसेपछि केहीलाई जेलमा लगे त केहीलाई प्रहरी हिरासतमा राखे।
प्रस्तुति: राजेन्द्र दुमरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *