भर्खरै :

विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो

विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो

बुद्ध जयन्तीको सन्दर्भ जोडेर चीनको छन्दुस्थित नेपाली महावाणिज्य दूतावासले त्यहीँको सरकारी विद्यालय छन्दु नम्बर २ मिडिल स्कूलसँग मिलेर वैशाखको अन्तिम साता निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कक्षा दसका बीस जना विद्यार्थीले नेपालबारे आफ्ना बुझाइ लेखेका थिए – कसैले चिनियाँ भाषामा त कसैले अङ्ग्रेजी भाषामा । चिनियाँ स्कूले विद्यार्थीहरूले नेपाललाई कसरी चिनेका रहेछन् भनी बुझ्न त्यहाँ लेखिएका निबन्धहरू आँखीझ्यालसरह छन् ।
हामीले प्रतियोगीमध्ये अङ्ग्रेजी भाषामा लेखिएका केही निबन्धबाट प्रतियोगी विद्यार्थीहरूका नेपाल बुझाइ चियाउने कोसिस गरेका छौँ । प्रतियोगितामा प्रथम भएकी ह्वाङ याओ हुईले आफ्ना सुन्दर हस्ताक्षरमा नेपालसँग चीनको सम्बन्धको वर्णन गरेकी छिन् । उनले लेखेकी छिन्, मेरो विचारमा शान्ति हुनु भन्नु लडाइँ झगडा नहुनु मात्र होइन । शान्ति भनेको त साँच्चै एक अर्कासँग हृदय गाँसिनु हो । देशहरूले आपसमा एक अर्कालाई बुझ्नु हो । आकार र जनसङ्ख्याको हिसाब गर्दा त चीन र नेपालबिच निकै भिन्नता छ । तर, हामीले यस्ता क्षेत्रीय भिन्नता नाघेर मित्रताको एउटा पुल बनाएका छौँ जसले एकअर्कालाई मद्दत गरिरहेको छ । अनि यसप्रकार हामीले विश्व शान्तिको लागि पनि एउटा न्यानो आधार निर्माण गरेका छौँ ।
याओ हुईलाई पछिल्ला वर्षहरूमा नेपाल र चीनबिच छिङहाइ तिब्बती पठारका दुर्लभ हिउँ चितुवाको संरक्षण र पर्यावरण जोगाउन सहकार्य भइरहेको जानकारी छ । उनले आफ्ना सुन्दर अक्षरमा लेखेकी छिन्, यस्ता प्रयासले हामीलाई स्मरण गराएको छ, वातावरणको कुनै सिमाना हुँदैन । एउटा छिमेकीले बाटो बिराउँदा अर्को छिमेकीले सास्ती भोग्नुपर्ने हुन्छ । वातावरण संरक्षणका यस्ता प्रयासले चीन र नेपालले क्षेत्रीय शान्तिको लागि मात्र होइन, विश्व शान्तिको लागि पनि टेवा पु¥याएको छ ।
चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूप्रति स्थानीय चिनियाँ काकाकाकीहरूले गर्ने न्यानो व्यवहारले पनि दुई देशबिचको आत्मीय व्यवहार अझ गाढा बनाएको उनले आफ्नो निबन्धमा लेखेकी छिन् । अर्जुन नामको एकजना नेपाली विद्यार्थीले छन्दुस्थित सिछुवान विश्वविद्यालय पढ्दा एक जना स्थानीय काकीले गरेको मायालु व्यवहारको प्रसङ्ग राख्दै याओ हुईले यस्ता मसिना कुराले छन्दु सुन्दर दृश्यको सहर मात्र होइन, न्यानो हृदय भएका मानिस बस्ने सहर पनि भएको पुष्टि गरेको लेखेकी छिन् ।
अर्का सहभागी लो छि च्रिले भने नेपाललाई चिनियाँ सिग्नेचर प्रोजेक्ट वान बेल्ट एन्ड रोड
(बीआरआई) सँग जोडेर चर्चा गरेका छन् ।
“नेपाल बीआरआईमा सामेल भएर अन्तरसीमा पूर्वाधार निर्माणमा दुई देशबिच सहकार्यका खबर निकै उत्साहप्रद छ । नेपालले सधैँ व्यावहारिक प्रयासहरूमार्फत दुई देशीय मित्रतालाई प्रबद्र्धन गर्दै आएको छ । सिछुवानको छन्दुबाट पोखरासम्म सिधै हवाई सेवा सुरुवात हुनु व्यापार र पर्यटनको लागि अझ सजिलो भएको छ,” छि च्रि लेख्छन् ।
यि होङ यु भने इतिहासतिर फर्केका छन् । उनी सम्झन्छन् स्वाङ जाङलाई, जो बौद्ध दर्शनको अध्ययन गर्न चीनका मरुभूमि, हिमाल र पहाड छिचोलेर हजारौँ किलोमिटर यात्रा गरेर नेपाल आएका थिए । स्वाङ जाङले आजको नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानसम्म घुमेर जम्मा गरेका थिए बौद्ध दर्शनका असङ्ख्य कृतिहरू र तिनै कृति चीनमा लगेर चीनमा बुद्धका सन्देश जन–जनको घर–घरमा पु¥याएका थिए । आज पनि चीनका हरेक कुनाकाप्चामा बुद्ध गुम्बा र मन्दिरहरू शान्तिको लागि प्रार्थना गरिरहेका छन् । होङ युको इतिहास चर्चा स्वाङ जाङबाट अघि बढेर नेपाली छोरी भृकुटी अनि नेपाली वास्तुकार अरनिकोसम्म पुगेको छ । उनी लेख्छन्, चीनको राजधानी पेइचिङमा आज पनि युआन वंशमा अरनिकोले परिकल्पना गरी बनाएको श्वेत गुम्बा (पाइ था स) उत्तिकै सुन्दर सम्पदा बनी परिचित छ  । अनि त्यो गुम्बा दुई देशबिचको लामो सम्बन्धको साक्षी बनेर उभिएको छ ।
“नेपालका केही विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूले चिनियाँ गीत गाएको र चिनियाँ गीतमा नाचेको दृश्य देख्दा मलाई निकै खुसी लागेको छ । उनीहरू चिनियाँ भाषा बोल्न र पढ्न पनि सक्छन्, चिनियाँ गीत गाउन मात्र होइन, चिनियाँ परिकार डम्पलिङ पनि बनाउन जानेका छन्,” युले आफ्नो निबन्धमा लेखेका छन् ।
ली छोङ युको निबन्धमा भने अझ गहिरो भावना पोखिएको छ । आपसी सम्बन्धका आयाम उनले गहन पाराले केलाएका छन् । उनले लेखेका छन्, सबभन्दा पहिला त आपसी सम्मानले धेरै फरक पार्दछ । कुनै पनि देशले अर्को देशलाई पर धकेल्ने प्रयास गर्नु हुन्न । हामीले एक आपसका भिन्नता स्वीकार्न सिक्नुपर्छ र मिलेर के गर्न सक्छौँ भन्ने खोज्नुपर्छ । म सम्झन्छु, कक्षाकोठामा पनि साथीहरूबिचको खास मित्रता आपसका कुरा सुनेर सुरु हुन्छ, हल्ला गरेर होइन । मलाई यही कुराले स्मरण गराउँछ, यदि सबैले देशले आपसका कुरा सुने भने संसारमा यति धेरै द्वन्द्व हुने नै थिएन । छोङ युले नेपालीहरू दसैँमा चिनियाँहरूले वसन्त पर्वमा जस्तै परिवार सबै एकै ठाउँमा जम्मा भएर आपसमा शुभासिष बाँड्ने गर्छ भनी चिनियाँ संस्कृतिको नेपालीसमक्ष पहिल्याएका छन् ।
अर्का प्रतियोगी ली ख मिङले शिक्षाको कोणबाट दुई देशबिचको सम्बन्धलाई नियालेका छन् । नेपालमा कन्फुसियस शिक्षालय र चीनमा विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनले एक आपसलाई बुझ्न र नजिक बनाउँदै लगेको आफ्नो बुझाइ निबन्धमा लेखेका छन् ।
ह्वाङ च्या सिन भने दुई देशको सम्बन्धलाई विश्व शान्तिसँग जोडेका छन् । उनले लेखेका छन्, विश्व शान्ति कहिल्यै पनि रित्तो नारा होइन, आजको युगको युवा हुनुको नाताले विश्व शान्तिको रक्षा गर्नु हाम्रो छल्नै नमिल्ने जिम्मेवारी हो । निकै दुःखले आर्जेको यो विश्व शान्तिलाई हामीले संवद्र्धन गर्नुपर्छ र त्यसको लागि चीन र नेपालबिच सम्बन्धको आयामबाट सिक्न जरुरी छ । अझ मेहनत गरेर अध्ययन गरी विश्व शान्ति रक्षा गर्न हाम्रो ज्ञानलाई फराकिलो बनाउँदै जाऔँ ।
भौगोलिक रूपमा नजिक भएर पनि हुनुपर्छ, छन्दुका सर्वसाधारणहरू नेपालबारे जानकार मात्र होइन, चासो पनि राख्छन् । कसैलाई दुई देशबिचको इतिहासबोध छ, कसैले नेपाललाई सामाजिक सञ्जालका लघु श्रव्यदृश्यमार्फत चिनेका छन् । कोही भारतीय, पाकिस्तानी र नेपालीहरू एकै खालको देख्छन् । कोही नेपाललाई गरिब देश देख्छन् भने कोही गरिब भएर पनि सुखी मानिसहरूको देश भन्छन् । कोही नेपाललाई चीनको असल छिमेकी भन्छन् भने कोही सधैँ राजनीतिक अस्थिरता हुने देश भनेर पनि सोच्छन् ।
नयाँ पुस्ताका अधिकांश युवा विद्यार्थीको लागि नेपालसँग पहिलो परिचय भूगोल कक्षामा हुन्छ । अनि सामाजिक सञ्जालका लघु श्रव्यदृश्यमा । सामान्यतः नेपाल भौगोलिक रूपमा नजिक भएर पनि उनीहरूले कोही पनि नेपालीलाई प्रत्यक्ष देखेका छैनन् । त्यसैले, जेठ १ गते पुरस्कार लिन आएका चिनियाँ विद्यार्थीहरू कालोटोपी र दौरा सुरुवाल अनि साडी लगाएका नेपाली विद्यार्थी देखेर उत्सुक भएर नियालिरहेका थिए ।
तर, पुरस्कार वितरण कार्यक्रममा एक जना वक्ताले भनेजस्तै ती युवाहरूले आफ्नो बाँकी जीवनमा कहिले पनि नेपाललाई भुल्नेछैनन्, बरु मौका पाए तीन घण्टा विमान चढेर काठमाडौँ वा पोखरा पुगेर नेपाललाई अझ नजिकबाट चिन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *