भर्खरै :

आधुनिक नेपाली ‘निरो’प्रति जनताको आक्रोश बढ्दो

 सुरेन्द्रराज गोसाई
यस वर्षको दशैं अगाडि आइपुगेको छ । दशैं आउनु अगाडि दुईतिहाइको वर्तमान सरकारले नेपाली जनतालाई महँगीको उपहार दियो । दशैंको मुखमा बजारभाउ आकाशिएको छ । हरेक सामानमा अनियन्त्रित ढङ्गमा मूल्यवृद्धि भएको छ । सर्वसाधारण जनता ठूलो मारमा परेका छन् । मूल्यवृद्धि गरी जनताको दुःखमा दुःख थप्ने, पीडामा पीडा थप्ने सरकार जनताको सरकार हुनैसक्दैन । त्यस्तो सरकारलाई शुभकामना होइन भत्र्सना गर्न आवश्यक छ । दशैं सम्मुख मूल्यवृद्धि गरी चाडपर्वमा जनताको उमङ्ग खोस्ने, उत्सव रोक्ने शासक दलको जति भत्र्सना गरे पनि आज कमै हुनेछ । बालुवाटारमा बसी महँगीको चङ्गा उडाएर मख्ख परिरहेको आधुनिक नेपाली ‘निरो’प्रति जनताको आक्रोश बढ्दो छ ।
दशैंको मुखमा यातायातको भाडा वृद्धि गरिएको छ । सर्वसाधारणलाई सुविधा र सहुलियत दिइनुपर्ने बेला भाडा वृद्धि गरी अप्ठेरोमा परेका जनतालाई ठग्ने, लुट्ने काम भइरहेको छ । दुई–तिहाइको सरकारलाई आज जनता धिक्कारिरहेका छन् । जनताको खुसियाली खोस्ने सरकारलाई जनता तिरस्कार गर्दैछन् । मत दुईतिहाइ ल्याएपनि इमानदारी सोच एकचौथाइ नभएपछि यस्तै हुन्छ, जनता भन्दैछन् । सिन्डिकेटको आतङ्क फेरि सुरु भएको छ । यात्रा अत्यन्त कष्टकरमात्र होइन जोखिमपूर्ण बनिरहँदा र सडकमा अराजकता बढिरहँदा सरकारमा कुनै संवेदनशीलता नदेखिइनु निश्चय पनि गम्भीर रोगको लक्षण हो ।
दुईतिहाइले मैमत्त सरकारको उपस्थिति जनताले अनुभव गर्न पाइरहेका छैनन् । कञ्चनपुरको बालिका बलात्कार तथा हत्याले वर्तमान सरकारलाई व्यङ्ग्य गरिरहेको छ र प्रश्न तेस्र्यारहेको छ– सबै–सबै पत्ता लाग्ने, यो चाहिं किन सम्भव हुन सकेन ? एक–दुई व्यक्ति जोगाउन देशको सिङ्गो प्रशासनयन्त्रको बद्नामी सहन तयार हुनु पछाडिको रहस्य के हो ? निर्मला पन्त र कैयौं निर्मला पन्तका परिवारलाई न्याय नदिई तड्पाई राख्ने सरकार, तिनीहरूको दशैं खोस्ने सरकार र शासक दललाई कहिल्यै क्षमा मिल्ने छैन । ती परिवारको आँसुले सरापिरहनेछ । आज शासक दल ती घटनालाई छोप्ने र प्रसङ्ग अन्तै मोड्ने षड्यन्त्र गर्र्दैछ । त्यो अर्को राजनीतिक बेइमानी हो । हामी सरकारलाई खबरदारी गर्दछौं ।
दशैंको माहोलकै बीचमा पप्पु कन्ट्रक्सनको भ्रष्टाचार काण्डले देशको डरलाग्दो वास्तविकता उदाँगो पा¥यो । देशको खर्बांै खर्ब भ्रष्टाचार गर्ने त्यस कम्पनीका मालिकमात्र होइन उनका सहयोगीहरू को–को हुन् ? उनीबाट सहयोग पाइरहेका को–को छन् ? अब एक–एक गरी जनताले चिन्न पाउनुपर्छ । कसको संरक्षणमा यति ठूल्ठूला ठगी कर्म गर्न सफल भए ? देशभित्र मात्र होइन बाहिरको पनि यसमा हात जरुर हुनुपर्छ । वास्तविकता जनताले जान्न पाउनुपर्छ । यस्ता ठग ठेकेदार उम्किन नपाऊन् । नेमकिपाले ठूला–ठूला अपराधी, देशद्रोहीलाई ज्यान सजायको बन्दोबस्त गर्नुपर्ने माग त्यतिकै राखेको होइन भन्नेबारे शासक दलले बेलैमा हेक्का राखोस् । एक दुईजना अपराधी, ठग या गुण्डामात्र होइन तिनीहरूको जालो नै च्यात्न नसकेसम्म यस्ता कुकर्म दोहोरिरहनेछन्, संरक्षणकर्ताहरूले टाउको उठाइरहनेछन् ।
करोडौं रुपैयाँको बैङ्क घोटालामा फरार ज्ञवाली पक्राउ परेको खबरले देशमा ठगहरूको बिगबिगी बढेको त सङ्केत गर्छ नै, तिनीहरूलाई जन्माउने, हुर्काउने र संरक्षण दिने को हुन् भन्ने गम्भीर प्रश्न पनि उठिरहेको छ । के एक्लैबाट त्यस्ता घोटाला, ठगी सम्भव छ ? के माथिल्ला कर्मचारी या प्रशासकहरूको साथ, मिलेमतोविना त्यस्ता अपराध सम्भव छ ? यी र यस्ता प्रश्न जनताबीच उठिरहेका छन् ।
एकजना मन्त्रीले भक्तपुर पुगेर शिक्षा र स्वास्थ्य केन्द्र सरकारकै जिम्मेवारीमा राखिनुपर्ने तर्क राखे । सरकारका ती जिम्मेवार मन्त्रीको भनाइप्रति सचेत भक्तपुरवासीले आपत्ति जनाए । प्रश्न उठ्नु स्वाभाविक हो, ती मन्त्रीलाई संविधानको भावनाविपरीत, कानुनी बन्दोबस्तविरुद्ध बोल्ने अधिकार कसले दियो ? निश्चय पनि पदमा पुग्दैमा सबै मानिस योग्य एवं सक्षम हुन्छन् भन्ने होइन । यथार्थमा स्थानीय तहको माध्यमबाट जनताका अति आवश्यकीय बन्दोबस्तहरू उचित ढङ्गमा प्रबन्ध गर्नु, शिक्षा तथा स्वास्थ्यजस्ता संवेदनशील विषयमा स्थानीय तहको पहलकदमी तथा अगुवाइ हुनु नै विकेन्द्रीकरण तथा स्वायत्तताको सुन्दर पक्ष हो र एउटा महत्वपूर्ण उपलब्धि पनि हो । बुझ्नेलाई श्रीखण्ड भनेको यही हो ।
यो वर्षको दशैं प्रदेश सरकार र प्रदेशसभाको लागि पहिलो दशैं हो । तीतो अनुभवबीच हामी दशैं मनाउन गइरहेका छौं । कमसेकम दशैंको फुर्सदमा हामी सबैले आत्मसमीक्षा गरौं । जनतालाई हिजो दिएका आश्वासनहरू पुनः स्मरण गरौं । लाचारी, हिनताबोध र सुस्ततालाई तोड्दै जनताको पक्षमा, कामदार वर्गको सेवामा, समग्र प्रदेशको हितमा पाइला चाल्न आत्मबल र सद्बुद्धि प्राप्त गर्न सकौं । सङ्घीयताको औचित्य पुष्टि गर्दै जनताप्रति बफादार बन्न र देशको सम्प्रभुत्ता अक्षुण्ण राख्न हरदम होसियारी अपनाउन सफलता मिलोस् । अर्को दशैं मनाउने बेलासम्ममा आज छलफल भइरहेका बेथितिबारे फेरि दोहो¥याउन नपरोस् ।
बडा दशैं, नयाँ संवत् नेपाल संवत् ११३९, दीपावली र छठ पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना ।
(नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले असोज २२ गते प्रदेशसभाको विशेष समयमा राख्नुभएको विचार –सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *