भर्खरै :

दसैं र अपराध

महानगरीय प्रहरी प्रभाग जगाती, भक्तपुरको चौकीसँगै रहेको एउटा घरमा सोमबार राति मूलढोकै फोडेर चोरी भयो । प्रहरी चौकीसँगैको घरमा चोरी हुनु प्रहरीलाई ठाडो चुनौती हो । बत्तीमुनि अँध्यारो भनेझैं देशभरि शान्ति सुरक्षा दिने जिम्मेवारी पाएको प्रहरीको छिमेकमै भएको चोरी दसैंको लागि प्रहरीले बनाएको विशेष शान्ति सुरक्षा रणनीतिप्रति नै व्यङ्ग्य बनेको छ । केही दिनअघि मात्र भक्तपुरकै कमलविनायकमा पनि राति सटर फोडेर केही पसलमा चोरी भएको थियो ।
दसैंको सुरूवातसँगै चोरी र डकैतीका घटना बढेका छन् । त्यसकारण प्रहरी प्रशासनले अरू समयमा भन्दा दसैं र चाडवाडको बेला बढी तदारुकताका साथ शान्ति सुरक्षामा ध्यान दिन आवश्यक छ । ‘कसैलाई के धन्धा, घर ज्वाइँलाई खानाकै धन्धा’ भनेजस्तै दसैंमा अरू मानिस चाडवाडमा रमाइरहेको अवस्थामा चोरी गर्ने मानिस कतिबेला के चोरूँ भनी ध्याउन्नामा लागेका हुन्छन् ।
दसैं भन्नेबित्तिकै खसी काट्नैपर्ने, जुवा खेल्नैपर्ने, जाँडरक्सी खानैपर्ने सामाजिक मनोविज्ञानका कारण पनि समाजमा त्यस्ता विकृतिले जरा फैलाइरहेको हो । दसैंलाई सामाजिक मेलमिलापको अवसरको रुपमा भन्दा सामाजिक प्रतिस्पर्धा र प्रतिष्ठाको विषय बनाइँदा यो समयमा यस्ता घटना बढ्ने गरेका छन् । दसैंमा आँगनमा खसी काट्न नसक्नेलाई ‘इज्जत नभएको’ मान्ने खोटो सामाजिक चिन्तनका कारण पनि आपराधिक सोच बोकेकामा कतिपय मानिसले रोज्ने विकल्प भनेको चोरी र डकैती हुने गरेको छ ।
दसैं मनाउन परदेश, विशेषतः भारतबाट नेपाल फर्किने धेरै नेपाली मजदुर यतिबेला भारतीय भूमि र सीमावर्ती क्षेत्रमा लुटिने गर्दछन् । वर्षौं वर्ष परदेशी भूमिमा निकै मिहिनेतका साथ कमाएको पैसा निमेषभर नै लुटिंदा धेरै नेपाली मर्नु न बाँच्नुको दोसाँधमा परेका छन् । सिमानामा नेपाली मजदुर लुट्नमा भारतीय लुटाहाहरू संलग्न भएको देखिन्छ । कतिपय घटनामा नेपाली लुटाहा र बद्मासहरूसमेत यस्ता काममा लागेका छन् ।
दसैंमा जुवातास त खेल्नैपर्ने जस्तो विकृत मानसिकता व्यापक छ । दसैंमा जुवा खेलेर बिलिबाँठ भएका मानिस पनि धेरै छन् । मादकपदार्थको अत्यधिक सेवनका कारण पनि दसैंमा अनेक थरी आपराधिक घटना हुने गरेका छन् । यस्ता घटना नियन्त्रण गर्ने प्रमुख दायित्व प्रहरीकै हो । तर प्रहरी एक्लैको दायित्व भने यो पक्कै होइन । सामाजिक रोगको नियन्त्रणमा प्रहरीको भूमिकामात्र मनग्य हुने गर्दैन । समाजको मनोविज्ञानले जन्माएका समस्याको रोकथामका लागि समाजका विभिन्न पक्षको अग्रसरता आवश्यक पर्दछ । राज्यका अन्य निकायले पनि दसैं मनाउने नाममा भएका विकृति नियन्त्रणका लागि पहल गर्न आवश्यक हुन्छ । यो सन्दर्भमा विशेषतः मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ ।
चोरी डकैती नियन्त्रणका लागि प्रहरीको रणनीति सफल बनाउन नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ । दसैंलाई सामाजिक उत्सवभन्दा पनि आर्थिक प्रतिपस्र्धाको मेसो बनाउनु कसैको लागि पनि हितकारी हुनसक्दैन । राज्यले यो दसैंलाई हेर्ने सामाजिक मनोविज्ञानमा नै परिवर्तन गर्न मिहिनेत गर्न जरुरी छ । दसैंमा अपराध अरू समत्न्दा बढ्नु दसैंप्रतिको सामाजिक–आर्थिक चिन्तनकै कारण हो । यसमा परिवर्तन गर्न सरकारले प्रहरीलाई मात्र परिचालन गरेर सम्भव छैन । यसमा मिडियामा लेख्ने कलमजीवीदेखि विश्वविद्यालयमा अनुसन्धान गर्ने अनुसन्धातासम्मको उचित परिचालन आवश्यक हुने गर्दछ । चलचित्रका कलाकारदेखि सामाजिक अभियन्ता र साहित्यकारहरूसमेतले यसमा ठूलो भूमिका खेल्न सक्दछन् ।
दसैंलाई धार्मिक र शक्तिको उपासनाको रुपमा मात्र हेर्ने र त्यहीअनुुसारको व्याख्या गर्ने व्याख्याताको जगजगी भएसम्म दसैं आफैं अपराधको स्रोत बनिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *