भर्खरै :

टर्कीको इस्तानबुल सहर ः यात्रा संस्मरण

सरोज वैद्य, वास्तुविद्
भौगोलिक रुपमा एसिया र युरोप महाद्वीपको सङ्गमस्थल र पुलको रुपमा रहेको टर्की (Turkey) एक आकर्षक र पर्यटकीय गन्तव्यका लागि प्रख्यात मुलुक हो । टर्की भूमध्यसागरीय क्षेत्रमा पर्दछ र यसको क्षेत्रफल करिब ७,८३,५६२ वर्ग कि.मि. छ । टर्कीको राजधानी अन्कारा हो । टर्की गणतान्त्रिक मुलुक हो र यहाँ प्रजातान्त्रिक संसदीय प्रणाली छ । यहाँ १८ वर्षभन्दा माथिकाले भोट दिन पाउने व्यवस्था छ । टर्कीको जनसङ्ख्या करिब ८ करोड २० लाख रहेको सन् २०१८ को तथ्याङ्कले देखाएको छ । यहाँको कुल जनसङ्ख्याको अन्दाजी ९९.८ प्रतिशत मुसलमान समुदाय रहेको छ । यहाँ बोलिने भाषा टर्कीस हो ।
टर्की ठूला आर्थिक शक्ति राष्ट्रहरूको सुचीमा २० औं स्थानमा पर्दछ । सन् २०१७ मा टर्कीको कूल ग्रार्हस्थ उत्पादन (GDP) को वार्षिक वृद्धि दर ७.४ प्रतिशत रहेको छ । टर्कीको आर्थिक विकासमा कृषिले २० प्रतिशत र अरु बाँकी औद्योगिक तथा सेवा क्षेत्रले परिपूर्ति गर्दछ । सन् २०१७ को तथ्याङ्कअनुसार टर्कीको प्रतिव्यक्ति आय १०,५१२ अमेरिकी डलर रहेको छ । टर्कीको मुद्रा टर्कीस लिरा हो । यसको अहिले सतही दर १ अमेरिकी डलर बराबर टर्किस लिरा ६.४० रहेको छ । यहाँ करिब १० प्रतिशत बेरोजगारी रहेको र करिब ११.२ प्रतिशत गरिबीको रेखामुनि रहेको छ ।
टर्कीमा शिक्षा र स्वास्थ्य निःशुल्क व्यवस्था गरिएको छ । यहाँको सरकारले सैनिक तालिम (२० वर्षदेखि ४१ वर्ष भित्र) पुरुषलाई अनिवार्य गरेको छ । विश्वविद्यालय स्नातकका लागि ६ महिने र स्नातक नभएकालाई १२ महिने सैनिक तालिम अनिवार्य गरिएकोे छ । टर्कीको राष्ट्रिय बजेटको १० प्रतिशत स्वास्थ्य सेवा र १८ प्रतिशत शिक्षाको लागि छुट्याइएको छ । शिक्षा र स्वास्थ्यको निःशुल्क व्यवस्थाले गर्दा टर्कीसहरू विकसित मुलुकमा काम गर्न जान लालयित अर्थात् आर्कषित भएको पाईदैन ।
इस्तानबुल (Istanbul) टर्कीको प्रमुख सहर हो । यो सहर पर्यटकीय, शैक्षिक, व्यापारिक र सांस्कृतिक केन्द्र पनि हो । यसको पुरानो नाम “Constantinople” हो । इस्तानबुल सहर तीन वटा ठूला रोमन, युनानी र ओट्टोमन साम्राज्यको राजधानी १६०० वर्ष भन्दा बढीको रुपमा स्थापित भइसकेको छ र १२० जना सम्राट र सुल्तानहरूले शासन गरिसकेको इतिहास छ । यस सहरको विकासको क्रममा इस्तानबुलको पश्चिमी भेगलाई प्रत्येक पटक ४ गुणाले विस्तार गरिएको थियो ।
रोचक कुरो के छ भने इस्तानबुल एसिया र युरोप महाद्वीपको दुवै भागमा फैलिएर बसेको सहर हो । इस्तानबुल सहरको एसियाली भाग र यूरोपेली भागलाई मार्मारा (Marmara) सागरले छुट्याएको छ । यी दुवै भागको सहरलाई ३ वटा पुलले जोेडिएको छ । त्यसमध्ये सन् १९७३ मा बनेको सुन्दर र विशाल “Bosphorus” पुल हो । जसको लम्बाई १.५७ कि.मि रहेको छ । यस पुलको मुनीबाट ठुल्ठुला पानीजहाज सजिलै सँग वारपार गर्न सक्दछन् । हवाईजहाजबाट सन् १९८५ मा युनेस्कोले इस्तानबुलका धेरै ऐतिहासिक क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा राखेको थियो । यूरोपियन यूनियनले सन् २०१० मा इस्तानबुललाई युरोपको सांस्कृतिक राजधानीको उपाधि प्रदान गरेको थियो । यहाँको ग्रान्ड बजार ३००० भन्दा बढी पसल भएको संसारको सबभन्दा पुरानो पक्की छाना भएको रमाइलो बजार मानिन्छ । यहाँ जो कोही जाँदा सजिलै हराउन सक्छन् । मसला बजार पनि त्यत्तिकै हेर्न लायकको चाखलाग्दो बजार हो । यस्तै यहाँका दरबार, मस्जिदहरूको वास्तुकला र फोहरा सहितका फुलबारी तथा पार्कहरू पनि मनमोहक छन् । समुद्री किनारामा बेलुकीको समयमा रमाइलो देखिने भएकोले पर्यटकहरू घुँइचो लाग्ने गर्दछ । यहाँ वर्षमा ९ करोड ८० लाख पर्यटकहरू आउने तथ्याङ्कले देखाएको छ । यो सहर घुम्न मात्र नभई किनमेलको लागि पनि पर्यटकहरू आउने गर्दछन् । इस्तानबुलको मुख्य बजारका सडकहरूमा फलामको लिकमा चल्ने विद्युत्तीय त्राम (Tram) र बसलाई प्रमुख सवारी साधनको रुपमा लिइएको छ । यात्रुहरूको सुविधाको लागि भूमिगत रेलको व्यवस्था पनि छ ।
इस्तानबुल सहरको क्षेत्रफल करिब १५३९ वर्ग कि.मि. छ र जनसङ्ख्या करिब १ करोड ४० लाख रहेको बताइन्छ । यहाँको आतातुर्क विमानस्थल विश्वका व्यस्त विमानस्थल मध्ये ११ औंमा पर्दछ । यो सहरमा जम्मा ३८ वटा विश्वविद्यालय छन् र तीमध्ये ८ वटा सार्वजनिक र ३० वटा निजी (तर नाफामुलक होइन ) रहेको बताइन्छ ।
इस्तानबुल सहरका केही रोचक र रमाइला कुराहरूः
१.इस्तानबुल संसारको एउटा मात्र त्यस्तो सहर हो जुन एसियाली र यूरोपेली महाद्वीपमा पर्दछ ।
२.इस्तानबुल रोमनदेखि ओट्टोमन साम्राज्यहरूको शासनकालमा प्रचीन राजधानी भए पनि यो आधुनिक राजधानी होइन । टर्कीको आजको राजधानी अंकारका हो ।
३.इस्तानबुल, “Constantinople” को नामले परिचित छ, यसको प्रश्रय रोमन सम्राट Constantine the Great लाई जान्छ जसले इस्तानबुललाई रोम सहरसँग मिल्ने गरि Seven Hills (सात पहाड) को अवधारणामा निर्माण गरिएको हो ।
४.ओट्टोमन साम्राज्यको शासनकालमा इस्तानबुल १४०० भन्दा बढी सार्वजनिक शौचालय भएको सहरको रुपमा प्रख्यात थियो ।
५.इस्तानबुल अहिलेको राजधानी नभईकन पनि टर्कीको सबभन्दा ठूलो सहर हो जहाँ १ करोड ४० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । त्यसमा पनि ९९ प्रतिशतभन्दा बढी मुसलमान नै छन् ।
६. नेदरल्याण्ड (Holland) को प्रतिक मानिने घण्टाफुल (Tulip) इस्तानबुलमा उत्पत्ति भएको मानिन्छ । त्यो फुल इस्तानबुलबाटै नेदरल्याण्ड पठाइएको थियो ।
७. ग्रान्ड बजार (Grand Bazaar) ३००० भन्दा बढी पसल भएको पक्की छानाको संसारको सबभन्दा ठूलो पुरानो बजार हो ।
८. बेलायेती लेखक Agatha Christie ले उनको प्रसिद्ध उपन्यास “Murder on the Orient Express”इस्तानबुलको Pera Palas Hotel मा लेखेका थिए ।
९. इस्तानबुल समुन्द्रले घेरिएको छ, जसलाई Bosphorus भन्ने महत्वपूर्ण जलमार्गले छुट्याएको छ । यस्तो भए पनि यहाँ हिउँ पर्नु सामान्य नै हो र वर्षमा औसत १८ फिट सम्म हिउँ परेको पाइएको छ ।
१०. सन् १५०२ मा इस्तानबुललाई अत्याधिक भिडभाड भएको शहरको रुपमा चिनिन्थ्यो  ।
११. इस्तानबुलमा संसारको तेस्रो पुरानो भूमिगत मार्ग छ, जुन १८७५ मा निर्माण भएको थियो । यसको लम्बाई ५७३ मिटर रहेको छ ।
१२.इस्तानबुल सन् २०१० मा युरोपको सांस्कृतिक राजधानी नगर बन्यो, तर त्यहाँ ओलम्पिक कहिले आयोजना भएको छैन ।

सरोज वैद्य


इस्तानबुलको यिल्देज प्राविधिक विश्वविद्यालय (Yildez Technical University-YTU) मा एउटा तालिममा काठमाडौं विश्वविद्यालय, धुलिखेलबाट भाग लिन अगस्टको ११ सन् २०१८ मा गएको थिएँ । १९ अगस्टसम्म इस्तानबुलमा बस्ने अवसर प्राप्त भएको थियो । त्यस विश्वविद्यालयको स्थापना सन् १९११ मा भएको थियो । YTU मा ३ वटा क्याम्पस छन् ः यिल्देज केन्द्रीय क्याम्पस, मस्लक क्याम्पस र दवुत्पासा क्याम्पस । यो विश्वविद्यालय टर्कीको एउटा ज्ञान र प्रविधिको केन्द्रको रुपमा स्थापित छ । YTU टर्कीको उत्कृष्ट विश्वविद्यालयमा पर्दछ । विज्ञान र प्रविधि, अनुसन्धानमा पनि यो विश्वविद्यालय अगाडि रहेको छ ।
यस विश्वविद्यालयको लक्ष्यमा भनिएको छ “हाम्रो विश्वविद्यालयको उद्देश्य भनेको शिक्षालाई सिर्जनात्मक मार्गदर्शन दिनु, वैज्ञानिक अनुसन्धान गर्नु, प्रविधिको विकास र समाजको विकासको लागि सिर्जनात्मक उद्देश्यको लागि काम गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय एकताको समझदारीलाई आधारशीला मानी समाजको जीवनस्तर उकास्ने र विद्यार्थीहरूलाई सिर्जनात्मक, श्रममूलक, सूचनामुलक बनाउने तथा विद्यार्थीहरूलाई विश्वव्यापी मूल्य मान्यतामा रहेर सामाजिक एवम् पेशागत रुपमा जिम्मेवार बनाई सुसंस्कृत गर्ने, आफूलाई निरन्तर समयअनुकुल नवीकरण गर्दै लाने, सिक्ने कामलाई निरन्तरता दिनु तथा विश्लेषण र संश्लेषणको परिपाटी विकास गर्दै लानु हो ।”
विश्वविद्यालयमा वास्तुकला, इन्जिनियरिङ (मेकानिकल, रसायन र धातु, इलेक्ट्रिकल र इलेक्ट्रोनिक, पानी जहाज वास्तुकला र समृन्द्र सम्बन्धी, सिभिल र नापी, विज्ञान र संस्कृति, अर्थशास्त्र र प्रशासन विज्ञान, शिक्षाशास्त्र, विश्वभाषा, आर्ट तथा डिजाइन र विभिन्न व्यवसायिक विधाहरू आदि विषयहरूमा करिब ३० हजार विद्यार्थीहरूले अध्ययन गर्दछन् ।
विश्वविद्यालयले आफूलाई आवश्यक सम्पूर्ण पूर्वाधारहरू आफ्नै डिजाइन र सुपरिवेक्षणमा निर्माणको काम निर्माण व्यावसायीमार्फत गर्दछ । निर्माणाधीन केही नयाँ र पुराना ऐतिहासिक भवनहरूको स्थलगत अवलोकन गर्ने क्रममा पुराना तथा ऐतिहासिक भवनहरूलाई आफरनै मौलिक शैलीमा पुनःनिर्माण एवम् पुनःस्थापन भइरहेको पाइयो । यस्ता पुराना तथा ऐतिहासिक भवनहरूमा विश्वविद्यालयका विभिन्न शाखाहरू, कक्षाकोठाहरू तथा विश्वविद्यालय शिक्षाध्यक्षका कार्यालय राखिएको छ । शिक्षाध्यक्षको कार्यालय राखिएको भवन सन् १४९३ मा निर्माण भएको थियो । भवनको अन्तरिक स्वरुपलाई परिमार्जित गरेर आवश्यकताअनुसार कार्यकक्षको रुपमा प्रयोग गरिएको छ । यस विश्वविद्यालयको आफरनो मौलिक शैलीलाई निरन्तरता र संरक्षण गर्दै आधुनिक शैलीलाई पनि सँगै अङ्गालेर गएको पाइयो ।
विश्वविद्यालयले इस्तानबुल र टर्की दुवैको विकासमा प्रमुख भूमिका खेल्दै आएको छ । सुरुदेखि नै प्राविधिक शिक्षालाई प्रमुखता दिएर उच्चस्तरको जनशक्ति तथा धेरै अनुभवहरूको सिक्ने–सिकाउने प्रमुख ज्ञान–विज्ञानको केन्द्रको रुपमा स्थापित गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *