भर्खरै :

भक्तपुर नगरव्यापी ब्याडमिन्टन सुरु

भक्तपुर, २३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा ४ नं वडा एकाइ समितिको आयोजनामा भएको नगरब्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले योगको माध्यमबाट भारतले नेपाललाई उपनिवेश कायम राख्ने सोच राख्नु साँस्कृतिक अतिक्रमण भएको बताउनुभयो ।
सिमानामा भइरहेको भारतीय पक्षको ज्यादती र साँस्कृतिक अतिक्रमण नरोकुञ्जेल भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको विरोधमा निरन्तर सङ्घर्ष गर्दै अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘‘वैचारिक र राजनीतिक रूपमा सक्षम, अनुशासित र लडाकू युवा दस्ता तयार गर्नु आवश्यक भएकोले खेलकुद गतिविधि लाई निरन्तरता दिनुपर्छ ।’’
‘‘सङ्घीयता लागू भए पनि राजधानी र रङ्गशाला भक्तपुरमै राख्ने शासक दलको सोच यहाँका रैथाने जनतालाई उठिवास गर्ने षडयन्त्र हो, राजनीतिक बेइमानी हो, त्यसविरूद्ध युवाहरू सचेतभई सङ्गठित हुनु आवश्यक छ’’, सभासद् गोसाईले भन्नुभयो ।
भनपा वडा नं ४ का वडाध्यक्ष कुमार चवालले नेमकिपाको चुनावी घोषणापत्रअनुसार भनपाले शिक्षा, स्वास्थ्य, सरसफाई, खेलकूद तथा कला र संस्कृति जोगाउने कार्यलाई निरन्तरता दिंदै आएको उल्लेख गर्दै युवाहरूलाई कुलतबाट टाढा राख्न खेलकुद गतिविधि गर्नु आवश्यक छ भन्नुभयो ।
नेमकिपा ४ नं वडा समन्वय समितिका एचएस सुवालले देशको सार्वभौमिकता र भूअखण्डता रक्षाको लागि युवाहरू जिम्मेवार भई लाग्नुपर्ने र स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्न समाजवादी गणतन्त्र स्थापनाको लागि लड्न तयार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेक्रायुसंघ ४ नं वडा एकाइ समितिका अध्यक्ष तुल्सीराम सुवालको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, नेक्रायुसङ्घ भनसका उपाध्यक्ष गोपालसुन्दर गोसाई, रविन सुवाललगायतले खेलकूदको महत्वबारे बोल्नुभएको थियो ।
कार्यक्रममा सांसद गोसाईले रेफ्रीलाई खेलकुद सामग्री हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *