भर्खरै :

दसैंमा अध्ययन र रचनात्मक काममा जोड देऔं

–गोपाल नगरकोटी
दसैं देशको महत्वपूर्ण चाड हो । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यो चाडमा मेला उत्सव र जात्रा हुन्छ । जात्रा, पर्व र मेलामा भक्तजनहरू सामेल हुनु स्वाभाविक हो । दसैंको अर्काे महत्वपूर्ण पाटो दाजुभाइ तथा दिदीबहिनीहरू या परिवारका सदस्यहरू भेटघाट हुने समय हो । एक आपसमा आशीर्वाद दिने, शुभकामना आदानप्रदान गर्ने यो दसैंमा विद्यालय, कलेज तथा टोल–टोलमा विभिन्न सामाजिक संस्थाहरूमार्फत सफाइ अभियान, सांस्कृतिक कार्यक्रम, रचनात्मक अन्य कार्यक्रमहरू गरिएको हुन्छ, यो सकारात्मक पाटो हो । यसरी नै अनेक खेलहरू पनि भएको हुन्छ । यस्ता कार्यक्रमले खुला या गोप्य रुपमा खेल्ने जुवा, तासमा नियन्त्रण गर्छ । यही बेला टोलका समाजसेवी, शिक्षासेवी र बुद्धिजीवीहरूले अनेक अन्तरक्रिया कार्यक्रम राखेर जाँड रक्सी खाएर होहल्ला नगर्न, परिवारका सदस्यहरूलाई कुटपिट नगर्न र जुवा तास खेलेर सम्पति स्वाहा पार्ने कार्य नगर्न सचेत पार्नुपर्छ ।
दसैंमा केही दिन बिदा हुने भएकोले यो फूर्सदको समयमा घरआँगन सफा गर्नुका साथै माक्र्सवादी दर्शन र समाजवादी चिन्तनका साहित्यहरू अध्ययन गर्ने, अध्ययन गरेका ग्रन्थहरूको अन्तरक्रिया गरेर सुसूचित पार्ने काम भएमा आ–आफ्नो व्यक्तित्व विकासमा सहयोग पुग्छ । दसैंमा जाँड रक्सी खाएर हल्ला गर्ने, जुवा तास खेलेर सम्पति स्वाहा पार्ने, झगडा र कुटपिट गर्ने काम कहीं कतै नहोस् । रचनात्मक काममा सबैको ध्यान जाओस् । दसैंको नाममा अधिक खर्च गरेर गर्व गर्ने काम नहोस् । बरु परिवारका सदस्य र साथीहरूबीच भेटघाट गरेर जनताको समस्याबारे छलफल गरेर, सरकारको कमी कमजोरी औंल्याएर जनतालाई सचेत र सङ्गठित गर्नेतर्फ हाम्रो पाइला अघि बढोस् । यसैमा हामी सबैको कल्याण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *