भर्खरै :

संरा अमेरिकाको नयाँ राष्ट्रपति पेन्स !

क्लिफोर्ड ए किराकोफ
आफ्नो चुनावी अभियानको क्रममा र राष्ट्रपति पदमा निर्वाचित भएलगत्तैको समयमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुससँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका थिए । तर संरा अमेरिकी संस्थापनको मनसाय भने अर्कै रहेको हालै संरा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनविरुद्ध दिएको मन्तव्यबाट पुष्टि गरेको छ ।
सुरूमा ट्रम्पले संरा अमेरिकी विदेश नीतिमा नयाँ अवधारणा अघि सारेका थिए । उनी संरा अमेरिकी प्रभुत्ववाद र शीतयुद्धकालीन चिन्तनबाट टाढा बस्न चाहेकोजस्तो देखिएको थियो । संसारमा उदाउँदो बहुधु्रवीय विश्वबारे ट्रम्पलाई हेक्का भएको र संरा अमेरिकाले यो नयाँ परिस्थितिसँग एकाकार हुने आशा गरिएको थियो ।
राजनीति र सरकार सञ्चालनको अनुभव नभएका एकजना व्यापारी भएर पनि ट्रम्पमा वाशिङ्टनले इराक र अफगास्तिानलगायतका देशमा अनावश्यक रुपमा हात राखेको भन्ने विवेक थियो । त्यसैकारण उनी रिपब्लिकन पार्टीभित्र पनि अहस्तक्षेपकारी खेमाका पक्षधर मानिएका थिए । नवअनुदारवादी गिद्दहरू र उनीहरूका नीतिमाथि उनले हमला गरेका थिए ।
आज ट्रम्पका समर्थकहरू उनको अवस्था देखेर ‘उनलाई खासमा के भएको छ’ भनी चकित परेका छन् । तर संरा अमेरिकी राजनीतिलाई नजिकबाट अवलोकन गरिरहेका जो कोहीको लागि द हडसन इन्स्टिच्युटमा उपराष्ट्रपति पेन्सले दिएको मन्तव्य आश्चर्यको विषय भने होइन ।
ट्रम्प सरकार र उनका नीति मूलतः दुई वटा कुराबाट प्रभावित छन् । पहिलो, आफ्नो सरकारमा उनले संरा अमेरिकी संस्थापन पक्ष (संस्थापक पक्ष भन्नाले संरा अमेरिकी कर्मचारीतन्त्र र व्यापारिक वर्गलाई सङ्केत गर्न खोजिएको छ, जो मूलतः अनुदारवादी चरित्रको छ–अनु.) लाई सरकारी निकायमा मान्छे भर्ती गर्ने अनुमति दियो । ‘व्यक्ति नै नीति’ भएको अवस्थामा एक जना नवआगन्तुक राजनीतिज्ञका रुपमा ट्रम्पले सि·ो राष्ट्रपति कार्यालय सम्पूर्ण रुपमा त्यहाँको संस्थापन पक्षलाई सुम्पिए । उनको कार्यालयका प्रथम उच्च अधिकारी अहिलेको जापानका लागि संरा अमेरिकी राजदूत हुन् ।
दोस्रो पक्ष भने पहिलो पक्षकै परिणति हो । ट्रम्पले आफ्नो सरकार र कार्यकारी शाखामा कहिल्यै व्यवस्थापकीय नियन्त्रण जमाउन सकेनन् । संस्थापनको ‘गहिरो वा स्थायी सरकार’ सामान्य तरिकाबाटै अघि बढिरहेको छ भने ट्रम्प एकपछि अर्को विभिन्न मुद्दामा फसेका छन् । संरा अमेरिकी काङ्ग्रेसमा रहेका रिपब्लिकन सांसदहरूले उनलाई मनैदेखि कहिल्यै पनि समर्थन गरेको देखिएन ।
तसर्थ उदयीमान बहुकेन्द्रीय विश्वको लागि उपयुक्त रचनात्मक नयाँ विदेश नीतिको सट्टा वाशिङ्टनका मठाधिशहरू शीतयुद्धकालीन शून्य सहनशीलताको चिन्तनमै अडिरहेका छन् । पेन्सको पछिल्लो भाषण इतिहासबाट संरा अमेरिकी शासक वर्गले अझै सिक्न नसकेको र नयाँ परिस्थितिअनुसार नीति निर्माण गर्न नसकेको उदाहरणमात्र हो ।
यो कट्टरपन्थी अवधारणा नै संरा अमेरिकी औपचारिक लाइन हो । संरा अमेरिकाका विभिन्न राष्ट्रिय सुरक्षा रणनीतिसम्बन्धी प्रतिवेदनमा यही लाइनलाई आधिकारिक लाइन बनाइएको छ । निकै गोप्य यो प्रतिवेदनका केही अंशलाई सार्वजनिक गर्नुको पछाडि केही साङ्केतिक अर्थ छन् । सो प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय राजनीतिलाई पुनरावलोकन गर्न चाहेका रुस र चीनलाई संरा अमेरिकाले आफ्ना रणनीतिक प्रतिस्पर्धी मानेको छ । भारतलाई भने चीनविरुद्ध प्रयोग गर्न सकिने सोचिएको छ ।
संरा अमेरिकी सरकारका राष्ट्रिय सुरक्षा परिषद् र पेन्टागनले तयार गरेको यो प्रतिवेदन ट्रम्प स्वयंले पढेका छन् वा छैनन्, त्यो आफ्नै ठाउँमा छ । तर उनले संरा अमेरिकी नीतिको रुपमा यसलाई अनुमोदन गरिसकेका छन् ।
सैनिक तथा आर्थिक शक्ति, कूटनीति र मनोवैज्ञानिक युद्धद्वारा संरा अमेरिकी संस्थापनले निरन्तरता दिन खोजिरहेको अन्तर्राष्ट्रिय व्यवस्था वास्तवमा दोस्रो विश्वयुद्धपश्चातको पश्चिमा शक्तिनियन्त्रित व्यवस्था हो । उनीहरू पश्चिमा प्रभुत्ववादलाई निरन्तरता दिन चाहन्छन् र बहुध्रुवीयता, बहुलता र विविधताबारे उनीहरू केही सोच्ने पक्षमा छैनन् ।
पेन्सको भाषणले संरा अमेरिकी नीति प्रतिविम्बित गरेको छ । संरा अमेरिकी सरकारको चीनविरोधी अभियानको उग्रता नै पेन्सको भाषणको मनसाय हो । चीनविरोधी सो अभियान रुसविरोधी अभियानको समानान्तर रुपमा अघि बढेको देखिन्छ ।
पेन्टागनले संरा अमेरिकी सरकारको सैनिक रणनीतिलाई अघि बढाइरहेको छ । विदेश विभागले कूटनीतिक मोर्चा सम्हालेको छ । नाकाबन्दी र व्यापार युद्धमार्फत् अर्थ विभागले आर्थिक युद्धमोर्चाको नेतृत्व गरेको छ । अनि राष्ट्रिय सुरक्षा परिषद्ले यी सबै खेलाडीबीच समन्वयनकारी भूमिका खेलिरहेको छ ।
तर पेन्सको भाषणले आज उपराष्ट्रपति तहमा गिद्दे र द्वन्द्वकारी लाइन उजागर गरेको छ । उनको भाषणको तौल यति धेरै हुनु अचम्मको विषय हो । उनको भाषणलाई संरा अमेरिकाको विदेशनीतिसम्बन्धी प्रमुख भाषणको रुपमा लिइएको छ ।
पेन्स महत्वाकाङ्क्षी भएको कुरा कसैसामु लुकेको कुरा होइन । उनी आफैं राष्ट्रपति बन्न मन गर्छन् । ट्रम्प सरकारको सुरुवातदेखि यता उनले संसारको भ्रमण गरिसकेका छन् । उनले आफ्नो जानकारी र सम्पर्कको दायरा बढाएका छन् । आफ्नो छवि बिस्तार गरेका छन् ।
पेन्सको पद आज उनको लागि आफ्नो मनोच्छा पूरा गर्ने दिशातिर अघि बढ्ने अवसर पनि बन्दैगएको छ । ट्रम्प एकपछि अर्को गर्दै विभिन्न विवादमा फस्दै गएका छन् । त्यसकारण सम्भवतः सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्पको सट्टा रिपब्लिकन पार्टीले पेन्सलाई सो पदका लागि छनोट गर्नसक्दछ ।
पेन्सको भाषण आगामी चुनावको तयारी भाषण हो । राजनीतिक चक्रव्युहमा ट्रम्प फस्दै गएको आजको परिस्थितिमा संरा अमेरिकाका अध्येताहरूले पेन्समाथि आँखा लगाउनुपर्ने अवस्था छ ।
(लेखक संरा अमेरिकाको परराष्ट्र सम्बन्धसम्बन्धी सिनेट समितिका पूर्व वरिष्ठ कर्मचारी हुन् ।)
मूल स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *