अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुरेश
“मलाई सबैभन्दा मै मन पर्छ, मै प्यारो लाग्छ, र मै सुन्दर लाग्छ ।”
हृदयचन्द्र सिंह प्रधानका गहकिला निबन्धहरूको सङ्गालो छ ‘जुँगा’ । सङ्ग्रहमा परेको ‘तस्वीर’ शीर्षकको निबन्धमा ‘म’ को महिमागान गरिएको छ । माथि उद्धृत शैलीमा । हृदयचन्द्र सिंहको जमाना बेग्लै थियो । त्यो बहाना बेग्लै थियो । आज फरक शैलीमा उही प्रवृत्तिको शिकार भएको छ समाज ।
मिथकहरूको खजाना युनानबाट मुहान खोलौं । इको देवराज जुपिटरकी अप्सरा हुन्छे । असाध्यै कमनीय सुन्दरी । जुपिटर हुन्छ मापाको । अनेक अप्सरासँग लहसिनु रोजनाम्चा हुन्छ उसको । रानी जुनो किन नरिस्सियोस् ? लोग्नेको चियो गर्दै ऊ पुग्छे एउटा उपत्यकामा । आफ्ना सङ्गीहरूलाई रानीको कोपभाजनबाट जोगाउन इकोले रानीलाई कुराकानीमा अल्झाउने विचार्छे । इको हुन्छे बोल्नमा सिपालु । आफ्नो आवाज असाध्यै रुचाउने खालकी । आफ्नै आवाजको मोहमा लठ्ठिएर झन् बोल्न उचाल्लिने उसको बानी हुन्छ । रानी पनि उसको कुरालाई उपेक्षा गर्न सक्दिन । इकोले समयलाई खोलाझैं बगाइदिन्छे । ऊ सास फेर्न के रोक्किएकी हुन्छे, रानी उम्किन्छे । जुपिटर र उसका अप्सराहरू भाग्छन् । रानी मुर्मुरिन्छे । उसले इकोलाई दोषी देख्छे । अनौठो श्राप दिन्छे । इको लाटी हुन्छे । अरु कसैले बोलेका अन्तिम शब्दहरू दोहो¥याउन मात्र सक्छे । त्यो पनि मसिनो आवाजमा एक दुई फेर, भक्भकाएजस्तो । परिबन्धको पीरमा इको रन्थनिंदै भौतारिन्छे वनपाखामा । यस्तैमा उसको जम्काभेट हुन्छ आफूजस्तै मोहिनी रूपसित । तर ऊ केटी नभै केटो हुन्छ ।
नार्सिसस् बिछट्टै बान्की परेको हुन्छ । तर हुन्छ अन्टार्टिका महादेशजस्तै चिसो र एकान्तिक । उसलाई हेर्नेहरू हेरेको हेरै हुन्छन् । ऊ भने आफ्नै मोहमा एकातिर लागिदिन्छ । इको नार्सिसस्को प्रेममा हाम्फाल्न धेरै बेर कुर्दिन । ऊ उसैको पछिपछि लागिरहन्छे । मायाले मुसार्छे । नार्सिसस् भिंmज्जिन्छ, तर्किन्छ । रिसको झोकमा नानाथरी गाली गर्छ । लामो समयसम्म पनि नार्सिसस्को स्नेह पाउन नसकेपछि इको पाखा लाग्छे । भीरपाखा र पहराहरूमा हराउँछे । अरुको आवाज दोहो¥याउँदै । यता नार्सिसस् घुम्दाघुम्दै उजाड र बिरानो थलोमा पुग्छ । खासमा उसलाई दण्डदेवी निमेसिस्ले इकोको चोखो हृदयलाई लत्याएको अपराधमा दण्ड दिन त्यहाँ पु¥याएकी हुन्छे । नार्सिसस् थकानले तिर्खाउँछ । उसको आँखा नजिकैको पोखरीमा पुग्छ । पोखरीको कञ्चन एवं फटिक समान पानीमा उसले आफ्नो मोहक रूपाकृति देख्छ र मोहित हुन्छ आफ्नै सौन्दर्यले । धेरै समयसम्म ऊ घोरिएर आफैंलाई हेरिरहन्छ । बेलाबेला हावाको झोंक्काले पानीमा तरङ्ग बनाउँदा वास्तविकताले झस्काइरहन्छ । तर नार्सिसस् आफ्नै प्रतिबिम्बमा भुलेर आनन्दित हुन चाहन्छ । उसलाई आफ्नो धप्धपाउँदोे अनुहार सुम्सुमाउने अभिलाषा जाग्छ । पोखरीमा छापिएको तस्वीर फगत भ्रान्ति हो भन्ने जान्दाजान्दै पनि उसलाई सो अभिलाषाले च्याप्दै लग्छ । यत्तिकैमा ऊ आफ्नो छायाँलाई छोप्न के तन्किएको हुन्छ, पोखरीमा डुब्छ । पोखरी निलोमात्र हुन्न, गहिरो पनि हुन्छ । नार्सिसस्को इहलिलाको आफ्नै मोहपाशमा इतिश्री हुन्छ । आत्मश्लाघामा अस्ताउँछ अस्तित्व ।
त्यो जमानामा यो कहानी थियो । आज झाङ्गिंदै छ रोग बनेर । आफैंमा मग्न हुने यो मानसिक समस्यालाई नार्सिया भनिन्छ । हालैका वर्षहरूमा बढिरहेका छन् नार्सियाका रोगीहरू ।
आजको संसारलाई जेलेको छ इन्टरनेट सञ्जालले । खासगरी नयाँ पुस्ता सामाजिक सञ्जालहरूमा चौबीसै घण्टा भेटिन थालेको छ । सामाजिक सञ्जालका आयाम धेरै छन् । तिनैमध्ये एक हो सेल्फी संस्कृति । सामाजिक सञ्जालले मलजल गरिरहेको छ सेल्फी संस्कृतिलाई । कतिपय युवायुवतीहरूले आफ्ना दिनदिनका, कतिले छिनछिनका फोटोहरू फेसबुक, इन्स्टाग्राम आदिमा पोष्ट गरेको देखिन्छ । कति जनामा यो लतको रूपमा त कतिमा सनकको रूपमा देखापरेको छ । जस्तै, मान्छे दुर्घटनामा छट्पट्टिरहेको हुन्छ । तर देख्नेमध्ये केही अनेक भावभङ्गीमा देखाउँदै सेल्फी खिचिरहेका भेटिन्छन् । सेल्फी संस्कृति सामाजिक रोगको रूपमा फैलिंदो छ ।
बेलाबेला सेल्फी खिच्न खोज्दा मानिसहरू मरेका खबर आइरहन्छन् । सेल्फीबाट संसारमा हरेक महिना कोही न कोही मरिरहेको हुन्छ । एक तथ्याङ्कअनुसार सन् २०१४ मार्चदेखि २०१६ सेप्टेम्बरसम्म विश्वमा १२७ जना मानिसहरू सेल्फी खिच्न खोज्दा मरे । यसमध्ये भारतमा मात्र ७६ मानिसहरू मरेको रिपोर्टमा उल्लेख छ । यो सङ्ख्या बढ्दो क्रममा रहेको विश्लेषकहरूको अनुमान छ ।
सेल्फी संस्कृति पँुजीवादको बनोटसँग जोडिएको छ । कार्लमाक्र्सले पुँजीवादको यो पाटोलाई ‘अलगाव’ (बष्भिलबतष्यल) भन्नुभएको छ । औद्योगिक क्रान्तिले धेरै नाफाको खोजीमा उत्पादनलाई फराकिलो बनाउँदै लगेको छ । साथै एउटै कामलाई पनि धेरै मसिना टुक्रे काममा बाँडिदिएको छ । कामदार यस्तो मसिनो काममा एकोहोरो लागिरहन्छ । उसलाई उत्पादनको समग्रता बुझ्न हम्मेहम्मे पर्छ । उत्पादित वस्तुमा उसको कुनै हक हुन्न । ऊ अन्य सहकर्मी कामदारबाट पनि टाढिन्छ । अन्तमा आफ्नै मानवीय गुणबाट अलग्गिन्छ । आफ्नो कामप्रति उसमा लगाव हुन्न । आफ्नो काममा उसले रस देख्दैन । उसले खाली जीविकोपार्जनका लागि काम गर्छ । कामलाई बोझको रूपमा लिन्छ । आफ्नो श्रमबाट सिर्जनात्मक सन्तुष्टि वा खुसी पाउँदैन । ऊ आनन्दको खोजीमा भौतारिन्छ । यसरी ऊ अलगावको अवस्थामा पुग्छ ।
पँुजीवादी उत्पादन प्रणालीले एकातिर मानिसहरूमा अलगाव जन्माउँछ । अर्कोतिर सामाजिक सञ्जालमार्फत त्यहीं अलगावको बेलुन फुलाएर अकूत सम्पत्ति कुम्लाउँछ । मानिस आनन्दको खोजीमा सामाजिक सञ्जालमा पस्छ । उसले त्यहाँ भर्चुअल
(नक्कली) समाज भेट्छ । नक्कली सामूहिकता भेट्छ । आफ्ना अनेक भावभङ्गीमाबारे साथीभाइका लाइक र कमेन्ट हेरेर ऊ सन्तुष्टिको अनुभूति गर्छ । परिणाम, मानिस झन्झन् आत्मकेन्द्रित र स्वार्थी बन्दै जान्छ । ऊ म नै मको भुमरीमा जेलिंंदै जान्छ ।
मानवीय संवेदनाभन्दा परभर्चुअल संवेदनाहरूमा मस्त रहने मानिस पँुजीवादी व्यवस्थाका लागि फाइदाजनक हुन्छ । किनभने सामाजिक सञ्जालका मालिकहरूका लागि यस्तो मानिस नाफाको राम्रो स्रोत हो । मानिसहरूजति बढी सामाजिक सञ्जालको प्रयोग गर्छन् उति विज्ञापन र मार्केटिङबाट ती मालिकको खातामा पैसा चढ्दै जान्छ । साथै सामाजिक सञ्जालमा जम्मा भएका मानिसका निजी विवरणहरू सिआईएजस्ता खुफिया एजेन्सीहरूलाई बेचेर पनि उनीहरू मालामाल हुन्छन् । सांस्कृतिक पक्षबाट हेर्ने हो भने यस्तो मानिसबाट समग्र व्यवस्थालाई त्यति खतरा पनि रहन्न । कसैले रिसले सामाजिक सञ्जालमा तथा नाम विरोध गरिहालेछ भने पनि त्यो भर्चुअल रिस पोखाई हुनेछ । यी सबै फाइदा देखेर सामाजिक सञ्जाल चलाउने कम्पनीहरूले विभिन्न एप्स बनाएर सेल्फी संस्कृतिको प्रचार पनि गरिरहेका हुन्छन् । ‘तपाईंको अनुहार कुन हिरो वा हिरोइनसँग मिल्छ ?’ जस्ता एप्सहरू यसका उदाहरण हुन् ।
इलेक्ट्रोनिक उपकरणमा लाग्ने हरेक धातुहरू खन्नेदेखि लिएर पार्टपुर्जा जोड्नेसम्मका सबै काम विभिन्न शारीरिक र बौद्धिक श्रमिकहरूले गर्छन् । तर उनीहरू आफैले बनाएको उत्पादन उनीहरूको हातमा छैन । सामाजिक सञ्जाललगायत समग्र इन्टरनेट संसार गुगल, फेसबुक, टुइटर, माइक्रोसफ्ट, एप्पल, अमेजनजस्ता मुठ्ठीभर बहुराष्ट्रिय कम्पनीहरूको हातमा छ । पँुजीपति वर्ग आमजनताको विचार, आनीबानी र संस्कृतिलाई आफू अनुकूल ढाल्न खोज्दैछ । मानिसको भाग्य लेख्न खोज्दैछ । श्रमजीवी वर्गको देवता बन्न खोज्दैछ । यस देवताले कामदार जनतालाई आफ्नो दास बनाइ राख्न चाहन्छ ।
देवताको दासत्वबारे माक्र्सले लेख्नुभएको छ,“आजसम्म मानिसहरूले आफू को हुँ र को हुनुपर्छ भन्ने विषयमा गलत धारणा बनाउँदै आएका छन् । उनीहरूले ईश्वर र आम मानिससम्बन्धी आफ्ना धारणाअनुसार सम्बन्ध बनाई आएका छन् । उनीहरूका आफ्नै दिमागका उपजहरू आफ्ना हातबाट फुत्किएका छन् । सर्जकहरू आफ्नै सिर्जनासामु झुकेका छन् । हामी स्वैर कल्पना, विचार, जडता, काल्पनिक जीवहरूको जुवामुनि पिल्सिएका सबैलाई मुक्त गरौं । विचारहरूको यस्तो शासनविरुद्ध विद्रोह गरौं ।”
हृदयचन्द्रसिंह प्रधानको विचारमा मानिसले आफ्नो हेरविचार गर्ने हदसम्म आफूलाई रुचाउनुपर्छ । आफूलाई केही नसम्झेर हात बाँधेर बस्नुभन्दा समाजको लागि हितकारी केही गर्नसक्छु भन्ने अर्थमा आफूलाई माया गर्नुपर्छ । सेल्फी संस्कृतिले मानिसमा हुने स्वाभाविक आत्म गौरवको भावनाको व्यापार गर्छ । यो संस्कृति मानिसलाई नै चलाउने हदसम्म हावी हुन खोज्छ । त्यसैले सेल्फी संस्कृतिको चङ्गुलमा नफस्नु नै बुद्धिमानी हुन्छ । अथवा कम्तीमा सेल्फी (selfie) किल्फी
(killfei) बनिन दिनुहुन्न ।
– युनिभर्सिटी पूर्णाङ्क ३१ बाट
Leave a Reply