भर्खरै :

भक्तपुरको दसैं ः एक चर्चा

रेणु त्वानाबासु
त्यसै पनि भक्तपुर नाचगानको राजधानी । त्यसमा पनि सबैभन्दा ठूलो चाड दसैं । त्यसकारण भक्तपुरको दसैं विशेष धूमधाम नहुने कुरै छैन । देशैभरि मनाइने दसैंमध्ये फरक हुन्छ, भक्तपुरको दसैं । यहाँ दसैंको क्रममा नवरात मेला, खम्ये जात्रा
(राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्ह्याकेगू (तलेजु भवानीको जात्रा) लगायतका विशेष आकर्षणहरू रहने गर्दछन् । यीबाहेक पनि दसैंको दस दिन भक्तपुर नगरका ठाउँ–ठाउँमा विभिन्न मेला जात्रा हुने गर्दछन् । भक्तपुरमा घटस्थापना अर्थात प्रतिपदाको दिनदेखि नवरात जाने चलन चलिआएको छ । दसैंको पहिलो घटस्थापनाको दिन भक्तपुरको पूर्व पर्ने ब्रह्मायणी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । यस दिन कुनै एक नजिकको तीर्थस्थलबाट माटो लिएर आएर घरमा जमरा राख्ने गरिन्छ ।
दसैंको दस नै दिन भक्तपुरका १० ठाउँमा विशेष मेला लाग्ने गर्दछ, जसलाई स्थानीयहरू नवरात भन्दछन् । दसैंको पहिलो दिन घटस्थापनामा ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चतुर्र्थी अर्थात चौथो दिन भद्रकाली, पाचौं दिन बाराही, छैटांै दिन इन्द्रायणी, सातांै दिन महाकाली, महाअष्टमी आठौं दिन महालक्ष्मी, महानवमी नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरि ब्रह्मायणीमा मेला लाग्ने गर्छ । पहिलो र अन्तिम दिन ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ ।
यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौं, ललितपुर र भक्तपुरबाट दसौं हजार जात्रालु ब्रह्मायणी जाने गर्दछन् । दस दिन नै बिहान र बेलुका भक्तपुर दरवार स्क्वायरस्थित तलेजु मन्दिर विशेष मेला लाग्ने परम्परा छ । यी मेलाहरूमा नगरभरिका दसौं हजार भक्तजनहरू बजागाजाका साथ उल्लासमय रुपमा सहभागी हुने गर्दछन् ।
नवरातको समयमा भक्तजनहरू एकाबिहानै मेला भर्न जाने गर्दछन् । टोलटोलबाट सयौं बाजागाजाका साथ दसांै हजार मानिस नवरातको मेलामा पुग्दछन् । दैनिक बिहान र बेलुकी प्रत्येक दिन फरक–फरक ठाउँमा मेला भर्न जाने गर्दछन् । नवरात दिनको दुईपल्ट बिहान र बेलुकी जाने गरिन्छ ।
नवरातको क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने गर्दछन् । तर पनि युवा उमेरका युवायुवती बढी रमाउने गर्दछन् । यो अहिलेको नभई उहिलेदेखिकै चलन हो । महाअष्टमीको दिन कुछी भ्वय (दुई माना चिउरा राखेर खाने विशेष भोज) को चलन छ । परिवारका प्रत्येक सदस्यलाई दुईदुई माना चिउरा नापेरै राखेर खानुपर्ने चलन छ । त्यसको भोलिपल्ट महानवमीको दिन ढुकुटीमा पूजाआजा गर्ने परम्परा छ । यो दिन आफूले वर्षभरि चलाएका ज्यावल र यन्त्रहरूलाई राखेर पूजा गर्ने परम्परा छ ।
भक्तपुरको दसैंको अर्काे एउटा विशेष आकर्षण हो खम्य जात्रा अर्थात् राँगो दौडाउने जात्रा । दसंैको महानवमीका साँझ भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको खँम्ये
(राँगो) लाई दौडाएर ब्रम्हायणी पीठ पु¥याइन्छ । नवदुर्गाबाट राँगोलाई ब्रह्मायणीमा त्यही साँझ पु¥याइन्छ । यो जात्रा हेर्न नगरभरिका बाटाहरूमा हजारौं नगरवासीहरू उत्सुकतापूर्वक जात्रा हेर्ने गर्दछन् । त्यही राति त्यो राँगोलाई तान्त्रिक विधिअनुसार बली दिने चलन छ । साथै घण्टाकर्णदेखि बनाउन सुरु गरेको १३ वटा मुकुण्डोहरू यो दिन ब्रह्मायणीमा प्राण प्रतिस्थापन गर्ने गरिन्छ र नवदुर्गा नाचको नवदुर्गा गण सिर्जना गरिन्छ ।
संस्कृतविद्हरूका अनुसार दसंै देशभरि मनाउने गरे पनि भक्तपुरको दसंै विशेष आकर्षण रहने गरेको छ । उनीहरूका अनुसार दसैंको दस दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्दछ । प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुन्छ । नवदुर्गा भवानीको उत्पति हुने दशमीको अर्को पक्ष हो । भलभल अष्टमीको दिन मरेको देउता यस दसंैमा उत्पति हुने गर्छ । साथै तलेजु पनि अर्को महत्वपूर्ण पक्ष हो । भक्तपुरमा दशमीको दिन तलेजु मन्दिरको पूजा हुने गर्छ ।
विजयादशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ । यसलाई नेवारीमा पायोन्ह«याकेगू भन्ने चलन छ ।
यस दिन भागी विवाहबाहेक मागी विवाह, व्रतबन्ध आदि शुभ कार्यहरू गर्ने चलन छ । यो दिनलाई शुभ साइतको रुपमा लिने गरिन्छ । यस दिन अरु बेला साइत नजुरेका जोडीहरूको विवाह गरिदिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *