अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नारायणमान बिजुक्छें
वार्षिक साधारणसभाको अर्थ ‘साधारण’ भन्दा पनि ‘महासभा’ अर्थात् सबभन्दा ठूलो सभाको रुपमा लिनु आवश्यक छ । अङ्ग्रेजीको ‘जेनरल मिटिङ’ को अर्थ साधारण, सानो र सामान्य नभई ‘ठूलो’, ‘महत्वपूर्ण’ र ‘अधिकार सम्पन्न’ भन्ने हो । ‘मेजर जेनेरल’, ‘जेनेरल असम्बली’, ‘आमसभा’ आदि यसका उदाहरण हुन् । अङ्ग्रेजीको ‘जेनरल’ शब्दलाई साधारण बैठकको रुपमा लिँदा व्यवहारमा संस्थाका सबै महत्वपूर्ण काम हुँदा पनि साधारण शब्दले महत्व हटेको छनक दिएको हुँदा पहिलेको वर्षको छलफल र सुझावहरू कार्यान्वयन नभएको र ‘साधारणसभा’ खालि औपचारिकता पु¥याउने कामको रुपमा व्यवहारमा देखिएको छ । स्रुति दोष, अर्थ दोष र असमझदारीले पनि धेरै समस्याहरू देखापर्नेबारे हामी सबै अवगत छौं र भुक्तभोगी पनि छौं ।
संस्थाका कामहरूमा हामीले सङ्ख्या र तथ्याड्ढसँग मात्र खेल्यौं कि भन्ने आभास हुन्छ । हरेक वर्षको ठूलो भेला, बैठक वा सभाको राम्रो समीक्षा पो भएन कि भन्ने आत्म–आलोचना गर्नुपर्ने ठाउँहरूलाई बेवास्ता गर्नुहुँदैन ।
दुई सय वर्षभन्दा पहिले नै जर्मनी, फ्रान्स वा युरोपेली मुलुकका काल्पनिक समाजवादीहरूले अमेरिकामा गएर अनेक नामका सहकारी संस्थाहरू, समाजवादी र साम्यवादी नामका समाज र बस्तीहरू बसाले । तर केही वर्षपछि त्यस्ता सहकारी र साम्यवादी बस्ती र समाजहरूलाई निजी फाइदालाई प्राथमिकता दिने व्यक्ति, व्यापारी र खराब लत भएका व्यक्तिहरूले ध्वस्त पारेका थिए । ती विचारहरू र कार्यहरू असफल भए ।
यसकारण सहकारी संस्थाका जिम्मेवार साथीहरूले तलका विषयहरूमा ध्यान दिनुभएमा काममा थप सहयोग हुने देख्छु –
१. कम आय भएका, बेरोजगार महिला दिदी–बहिनी र युवाहरूलाई उत्पादनमूलक काम दिन एक कोष खडा गर्न सकिन्छ,
२. हस्तकलाका स–साना उद्योग र कुटीर व्यवसाय विकासमा संस्थाले लगानी गर्न पाए सहकारीको सिद्धान्तअनुसार आफ्ना सदस्यहरूको हित हुनेछ,
३. भक्तपुरमा पर्यटन उद्योगको सम्भावना भएको र कृषि क्षेत्र साँगुरिदै गएको हुँदा रेष्टुराँ र होटल व्यवसायमा ध्यान दिन सकिन्छ,
४. पर्यटन उद्योगको निम्ति परिस्थितिअनुसार हाल चिनियाँ, अङ्ग्रेजी र अन्य विदेशी भाषाका गाइड तालिम गर्नु सान्दर्भिक हुनेछ,
५. आर्थिक समानता र सुसंस्कृत समाज फरक विषय हुन् । आर्थिक सम्पनता २०–३० वर्षमा सम्भव भएका देशका उदाहरण कम छैनन् तर समाजलाई सुसंस्कृत बनाउन झण्डै एक पुस्ता लाग्छ । लवाइ–खवाइ, पहिरन, सदाचार, बानी–व्यहोरा, भाषा र साहित्यको प्रभाव, शिष्टता, सामान्य ज्ञान आदिको जानकारी र व्यवहारले समाजको सांस्कृतिक स्तरको निर्धारणमा सहयोग पु¥याउँछ । यसकारण आर्थिकरुपले पछि परेका व्यक्ति, परिवार र समाजलाई अघि बढाउन शिक्षा र सांस्कृतिक स्तर उठाउनु पनि सहकारी संस्थाकै दायित्वमा पर्न आउँछ । सत्य के हो भने ठेकेदार वा निर्माण व्यवसायी, घर–जग्गाका व्यापारी वा दलाल, तस्कर, कालाबजारी, कर चोर, शोषक, भ्रष्टाचारी, गुण्डा आदि समाजका आलोच्य पक्ष जतिसुकै आर्थिक रुपले सम्पन्न भए पनि सुसंस्कृत समाजले अँगाल्ने छैन चाहे जुनसुकै पदमा पुगेको होस् ।
परिवार, विद्यालय र विश्वविद्यालयबाट शिक्षित र सुसंस्कृत हुने अवसर नपाएका सहकारीका सदस्यहरूलाई संस्थाले सभ्य र सुसंस्कृत बनाउनु आफ्नो दायित्व सम्झनु सकारात्मक कार्य हुनेछ ।
६. मोबाइल, ल्यापटप, कम्प्युटर, टीभी, रेडियो, माइकको प्रबन्ध आदि आजका प्राविधिक वस्तु र यन्त्रहरूले नेपाली समाजको ठूलो धनराशी खर्चिदै छन् । सानो त्रुटी वा जानकारीको अभावमा तुरुन्तै हजारौं रकमका सामान खेर जाने गरेको र लाखौं करोडौं रकम विदेशमा जाने गरेको छ । त्यस खर्चलाई जोगाउन र नयाँ पुस्तालाई ती प्रविधि सिकाइ ज्यासलहरू खोली मर्मत सम्भारका सीप र प्रविधि सिकाउन सहकारी संस्थाले तालिम बन्दोबस्त गर्नु देश र जनताकै सेवाभित्र पर्ने कर्तव्य हुनेछ ।
७. जन्म, जवानी र बुढ्यौली प्रकृतिकै नियम हो । समयले सहकारी संस्थाका सबै सदस्यहरू एकदिन ज्येष्ठ नागरिकको अवस्थामा पदार्पण हुनेमा शङ्का छैन । अचेल छोरा–छोरी र नाता–गोताले नै ललाइ–फकाइ ज्येष्ठ नागरिकलाई नागरिकता लिने नाममा घर–खेत अरुलाई बेचबिखन गरी अन्तमा ज्येष्ठ नागरिकहरूलाई पाटीबास बनाएका घटनाहरू थुप्रै देख्न र सुन्नमा आएका छन् । समाज र संस्थाका ती ज्येष्ठ नागरिकहरूलाई संरक्षण र सुखी जीवनयापनमा सहयोग गर्नु सहकारी संस्थाका जिम्मेवार व्यक्तिहरूले आ–आफ्नो भविष्यबारे पनि सोच–विचार गरी ‘आदर निकेतन’ को बन्दोबस्त गर्न छलफल गर्न ढिलो गर्नुहुन्न । सम्भावित अनेक कानुनी बन्दोबस्त र ‘आदर निकेतन’ को निम्ति स्थायी आर्थिक स्रोतको बारेमा पनि विचार विमर्श गर्न सबैको ध्यान जानु आवश्यक छ । आज सोचे भोलि कार्यान्वयन होला, यसपालि सोचे अर्को साल कार्यान्वयन होला । यसकारण जति छिटो छलफल र विचार विमर्श होला, त्यति छिटो ‘आदर निकेतन’ को बन्दोबस्त होला ।
८. सहकारीको काम खाली बचत र ऋणसँग खेल्ने होइन, त्यस्तो काम त फाइनान्स कम्पनी र बैङ्कहरूले पनि गर्दछन् । तर सहकारीले आफ्ना सदस्यहरूको निम्ति सस्तो र असल खाद्यान्न र अन्य दैनिक जीवनको उपभोग्य वस्तुहरूको ‘सहकारी पसल’ को बन्दोबस्त गर्नु पनि त्यतिकै महत्वपूर्ण विषय हो । सहकारीले खोलेका सहकारी पसललाई अझ विकास र विस्तार गरी दैनिक जीवनको निम्ति आवश्यक सम्पूर्ण सामान उपलब्ध हुने बन्दोबस्त गर्न ध्यान दिन सकेमा उत्तम कार्य हुनेछ ।
विभिन्न सहकारी संस्थाहरूले ज्येष्ठ नागरिकहरूको सम्मान, नाच–गान, कला र सस्कृतिको संवर्धन र संरक्षणको कार्य र परीक्षामा राम्रो नतिजा ल्याउन सफल अब्बल दर्जाका छात्र–छात्राहरूलाई गरिने पुरस्कार दिने कार्यक्रम एवं असल ऋणीहरूलाई दिइने पुरस्कार निश्चय पनि शुभकार्यभित्रै पर्दछ । त्यसको निम्ति सहकारी संस्थाहरू धन्यवादका पात्र छन् र ती कार्यहरूले समाजमा सकारात्मक फलको निम्ति बीउ छर्ने काम हुँदै गरेको अनुभव जनताले गरेका छन् ।
आशा छ, माथि उल्लेखित विषयमा सहकारी संस्थाको बृहत् बैठकले ध्यान दिई छलफल गर्नेछ र अनेक अध्ययन र छलफलपछि कार्यान्वयनमा समेत पाइला चाल्नेछ ।
(भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं वार्षिक साधारणसभाको अवसरमा प्रकाशित बुलेटिनमा व्यक्त शुभकामना सन्देशको अंश)
Leave a Reply