अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पाकिस्तानको कसुरमा गएको जनवरीमा सात वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अपराधीलाई यो साता फाँसी सजाय दिइयो । सो सजायमाथि पुनर्विचारको लागि गरिएको निवेदनमाथि अदालतले कुनै थप सुनुवाइ गर्न मानेन । सात वर्षकी अबोध बालिकाको निर्मम बलात्कारपछि गरिएको हत्याका दोषीलाई कडा कारबाही गर्न माग गर्दै व्यापक जनप्रदर्शन भएको थियो । ढिलै भए पनि आफ्नो भावनाको सुनुवाइ भएकोमा पाकिस्तानका जनताले सन्तोषको श्वास फेरे ।
पाकिस्तानमा बलात्कारी र हत्यारालाई फाँसी दिइएको समाचार नेपाली सञ्चारमाध्यममा आउँदा तरङ्ग सञ्चार भयो । धेरै नेपालीले निर्मला पन्तको आलो घाउ अझै दुखेको अनुभव गरे । सबैको मनमा प्रश्न उठ्यो, अझै किन पत्ता लागेको छैन निर्मलाका हत्यारा ? कदाचित हत्यारा पत्ता लागिहालेको अवस्थामा पनि दोषीले पाउने सबैभन्दा चर्को सजाय भनेको आजीवन काराबासमात्र हो । के त्यो सजाय जघन्य अपराधका अपराधीको निर्ममताको लागि पुग्दो हो ?
यी दुवै प्रश्न दसैंको समयमा उठेका छन् । एकातिर अधिकांश नेपाली जनता ‘देवीहरूको शक्तिको आराधनामा मनाइने’ दसैं मनाइरहेका छन् भने अर्कोतिर एकजना अबोध बालिकामाथि भएको अत्याचारको नेपाल सरकारले अझै न्याय दिन सकेको छैन । के देवीको शक्ति अराधना नक्कली नागको सौखिन पुजारीको पाखण्डमात्र हो ? देवीको परिकल्पना वा अलौकिक शक्ति प्रतीकात्मक हो । त्यसलाई नै साँचो शक्तिको रुपमा मान्नु अज्ञानता वा अन्धता हो । देवीको शक्ति सामन्ती पुरुषसत्ताविरुद्धको महिला विद्रोहको अभिव्यञ्जनात्मक अभिव्यक्ति हो । तर विडम्बना ! हाम्रा शासकहरू देवी र दैवी शक्तिको आराधना गरिरहेका छन्, तर निर्मला पन्तमाथिको अत्याचारको सुनुवाइ गरिरहेका छैनन् । बरू दोषीलाई लुकाउने प्रयास गरिरहेका छन् । यो कसरी देवीको आराधना हुनसक्छ ?
निर्मला हत्याकाण्ड ओली सरकारको सबभन्दा ठूलो अकर्मण्यता हो । यो घटनामा प्रहरीका उच्च अधिकारीहरूको संलग्नता अकाट्य कुरा हो । ती प्रहरी अधिकारीहरूलाई राजनीतिक संरक्षण भएको कुरा आजसम्मको घटनाक्रमबाट आशङ्का गर्ने ठाउँ धेरै छन् । तर प्रधानमन्त्री र गृहमन्त्रीले पटक–पटक प्रतिबद्धता जनाएर पनि ठोस कुनै निष्कर्षमा पुग्न सकिएको छैन । बरू घटना झन् झन् रहस्यमयी बन्दै गइरहेको छ ।
बलात्कार आफैंमा अपराध हो, अपराधपछि हत्या जघन्य मानवीय भावनारहित अपराध हो । त्यस्तो जघन्य अपराधलाई मृत्युदण्ड दिइनुपर्ने माग नेपालमा पनि लगातार उठिरहेकै विषय हो । तर शासक वर्ग ‘हाम्रै भाइ छोरा पर्ने त हुन्’ भन्दै फाँसी सजायको मुद्दामा उदासीन रहँदै आएको छ । शासक वर्ग न त बलात्कारीलाई उचित सजाय दिन सकिरहेको छ न त कडा सजायको जनभावना पूरा गर्न सकिरहेको छ ।
पाकिस्तान, भारत, चीनलगायतका हाम्रा छिमेकी देशहरूले जघन्य अपराधका दोषीलाई मृत्युदण्डको सजाय दिन सक्दछन् अनि नेपाल कुन थरी मानवअधिकारको लागि यो प्रावधानमा जान तयार नभएको हो ?
देवीको शक्तिको आराधना गरिने देशमा महिलामाथिको जघन्य अपराध पानी खाए जतिको सरल हुनु विडम्बनापूर्ण कुरा हो । भारतमा अहिले उचाइमा रहेको #metoo अभियानबाट हाम्रा मन्त्री र शासकहरू डराएका हुन् ? कतै बलात्कारीलाई मृत्युदण्डको सजायले आफैं फन्दामा पर्ने उनीहरूको त्रास हो ?
Leave a Reply