भर्खरै :

चियापान कि कुम्भमेला ?

बिहीबार प्रकाशित भएको एउटा समाचारले धेरैको ध्यान तान्यो–नेकपाको चियापानमा ५० हजार पाहुना । ५० हजार पाहुना बोलाएको कार्यक्रम कसरी चियापान हुनसक्छ ? यसलाई कुनै जनसभा वा मेला भन्न उपयुक्त हुन्छ । पचास हजार मानिस बोलाएर गरिने कार्यक्रम कुम्भमेलाबाहेक कुनै उपलब्धिमूलक राजनीतिक कार्यक्रम हुनसक्दैन । विगतमा पनि सरकारमा सामेल हुने राजनीतिक पार्टीहरूले चियापान कार्यक्रम आयोजना गर्ने गरेका थिए । कुनै बेला त्यस्ता चियापान समारोहले देशका शासक दलबीच व्याप्त तिक्तता मेटाउन मद्दत गरेका पनि छ । विशेष राजनीतिक परिस्थितिमा राजनीतिक समाधानका लागि त्यस्ता कार्यक्रम उपलब्धिमूलक बनेका उदाहरण पनि छन् । तर नेकपाले पचास हजार मानिसको सहभागितामा कुन उद्देश्यका साथ चियापान गर्न खोजेको हो ? के भीड जम्मा गर्नु नै नेकपाको लक्ष्य हो ?
दुई पार्टी मिलेर पछिल्लो चुनावमा प्राप्त मतले नेकपालाई उन्मत्त बनाएको सर्वत्र महसुुस गरिएको हो । त्यो उन्मादले तिनका नेता र कार्यकर्ता जे पनि बोल्ने र जे पनि गर्न उद्यत्त भएको देखिएका छन् । एक प्रकारको दम्भ नेकपामा चढेको नयाँ कुरा होइन । त्यही उन्माद र दम्भको अभिव्यक्ति अहिले चियापानमा व्यक्त भइरहेको छ । ठूलो भीड देखाएर आफूलाई ठूलो देखाउने उन्माद चढेको छ, सत्तासीन दललाई ।
सत्तासीन दलको हैसियतले नेकपाले कुनै कुम्भमेला आयोजना गर्नुको सट्टा आफ्नो सरकारले ध्यान दिन नसकेका विषयमा सुन्ने कार्यक्रम गरेको भए नेकपाको राजनीतिक सुझबुझ जनताले अनुभव गर्ने थिए । तर त्यसो गर्न उनीहरूलाई भित्र जागेको सत्तान्धताले रोकिरहेको छ । उनीहरू भीडलाई आफ्नो शक्तिको मापन मान्ने पक्षमा छन् । पचास हजार भेला गरेर प्रतिपक्षलाई अत्याउने दाउमा उनीहरू लागिपरेका छन् ।
संसारमा सत्ताको उन्माद सधैं पराजीत बनेको छ । कुनै बेला लोकप्रियताको शिखरमा पुगेका शासकसमेत सत्ता उन्मादकै कारण कालान्तरमा जनताबाटै कुनै विद्रोह वा चुनावमार्फत बहिष्कृत बनेका धेरै उदाहरण छन् । संसारको इतिहासले सिकाएको यो पाठप्रति नेकपाले ध्यान नदिने हो भने उसको पनि त्यही हालत हुनेछ ।
चियापान कार्यक्रमलाई राजनीतिक नेतृत्वबीच देशको अवस्थामाथिको छलफल गर्ने अवसरको रुपमा उपयोग गर्न जरुरी थियो । निर्मला पन्तको हत्या र बलात्कार काण्डजस्ता लज्जास्पद घटनाले देश दुखेको छ । महँगी, भ्रष्टाचार, असुरक्षा, दुर्घटनाजस्ता समस्याले अझै देश मुक्त भएको छैन । विदेशप्रति नेपालको निर्भरता बढिरहेको छ । यस्तो अवस्थामा देशलाई कसरी सही दिशामा हिंडाउने भन्ने विषयमा बहस र कुराकानी गर्ने समयको रुपमा चियापान कार्यक्रमको उपयोग हुनसक्थ्यो । तर आज नेकपालाई अरू कुनै राजनीतिक शक्ति भुसतिङ्ग्रे लागेको छ । सबैलाई बगलीमै बोकेर हिंड्न सक्ने घमण्ड उसमा पलाएको छ । त्यसकारण उसले आज चियापान कार्यक्रमलाई उपलब्धिसँग भन्दा अरूमाथि आज तुजुक थोपर्ने मौकाको रुपमा प्रयोग गर्न खोजिरहेको छ ।
केही हजार टाउका त भृकुटीमण्डपतिर दैनिक हिंडिरहेका हुन्छन्, चिया खाइरहेका हुन्छन्, गफिरहेका हुन्छन् । केही सय मानिस रत्नपार्कमा केही न केही गरिरहेका हुन्छन् । नेकपाको चियापान यस्तै दैनिकीको विस्तारित रुप भए त्यसको कुनै औचित्य हुनेछैन । कुम्भमेलामा पनि पचासौं हजार मानिस आउँछन्–जान्छन् । तर राजनीतिक पार्टी अझ सत्तासीन दलको कार्यक्रम कुम्भमेलाकै तरिकाको भए लुटको धन फुपूको श्राद्धजस्तो मात्र हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *