भर्खरै :

तःमुंज्यामा का.रोहित

जनताको लागि कविता
एक जना कविले भन्नुभएको रहेछ, “यो साहित्य सम्मेलनमा किसान–मजदुरमात्र छन्, मेरो कविता उनीहरूले बुझ्ने हुन् कि होइनन् ।”
यो विषयमा हाम्रो प्रश्न छ, जनताको समस्या नबुझ्ने कविले जनताको विषयमा के लेख्ने होलान् ? त्यसकारण पहिले जनताका दुःख–सुख र जनताको समस्या बुझ्न जरुरी छ अनिमात्र कोही जनताको कवि बन्न सक्दछ । जनताको कुरा नबुझेका मानिसले जनताको विषयमा लेख्न सक्दैनन् । यसबारे साथीहरूले राम्ररी मनन गर्न आवश्यक छ ।
निर्मला हत्याकाण्डबारे
निर्मला पन्तको हत्या र बलात्कारको घटनापछि भएका २९ वटा बलात्कारका घटनाका दोषी पत्ता लागिसकेका छन् । तर पन्तको हत्याको दोषी को हो भन्ने विषयमा अझै पत्ता लाग्न सकिएन, किन ? गृहसचिव प्रेम राईको वक्तव्यमा भनिएको छ, “गम्भीर लापरबाही र हेलचक्र्याइँ’’ का कारण आजसम्म दोषी पत्ता लाग्न सकिएन । बेवास्ता गर्ने को को हुन् ? कञ्चनपुरका एसपी र एक जना इन्स्पेक्टर ! जिम्मेवार निकायले जाँचबुझ राम्ररी नगरेको, प्रहरी परिचालन नगरेको, प्रमाण नष्ट गरेकोले उनीहरूलाई जागिरबाट निलम्बन गरिने भएको छ । के उनीहरू दुई जनालाई कारबाही गरेर अब बलात्कार र हत्या गर्ने अपराधीलाई कारबाही नगरिने भयो ? ध्यान अन्यत्र मोड्न खोजेको हो ?
एसपीसँग सरकार किन यति डराएको हो ? हामीलाई शङ्का लागेको छ, उनी पहिले कुनै पार्टीसँग आबद्ध थिए कि ? भारतको सहयोगमा नेपालमा गृहयुद्धको बेला उनले कुन पक्षको सहयोग गरेका हुन् ? त्यसो होइन भने गृहसचिवको वक्तव्यमा एसपीले गरेका सबै गल्तीको सजाय जागिरबाट निलम्बनमात्र कसरी हुनसक्दछ ?
कोही पनि सरकारी कर्मचारी, प्रहरी, सेना आफ्नो कर्तव्यपालनाको क्रममा कहीं जाँदै गर्दा कसैले उनीहरूलाई कर्तव्यच्युत गर्ने प्रयास गर्दछ भने त्यस्तो व्यक्तिमाथि राजकाजको मुद्दा लाग्ने गर्दछ । राजकाज मुद्धाअन्तर्गत पहिले ज्यान सजाय र आजीवन कारागार सजाय हुनेगथ्र्यो । तर अहिले एसपीविरुद्ध केही पनि नहुने भयो । मात्र जागिरबाट निलम्बन हुने भयो । सरकारले एसपीलाई किन जोगाउन खोज्यो ?
कसले बलात्कार ग¥यो, कसले मा¥यो, कसरी सबै घटना घट्यो, प्रमाणहरू मिटाउन मृतकका लुगा कसले पानीमा डुबायो, लाससँगै मृतकका सबै लुगाफाटा किन जलाइयो ? यसबाट सबै प्रमाण नष्ट भए । प्रमाण नष्ट गर्नु ठूलो अपराध हो । त्यस्ता अपराधीलाई कानुनले जोगाउन मिल्दैनथ्यो ।
एसपीले गर्न नहुने काम गरेका छन् । पहिलो, कर्तव्यपालनाको क्रममा गएका प्रहरीलाई उनीहरूले कर्तव्यबाट च्युत गरे ।
दोस्रो, आफैं एक जिम्मेवार अधिकारी हुनुको नाताले आफ्नो कर्तव्य पालना गरेनन् ।
तेस्रो, उनले प्रमाण नष्ट गरे । उनीहरूमाथि नै अपराधको दोष लाग्नुपर्ने हो । तर त्यसो नगरी उनीहरूलाई कामबाट निलम्बनमात्र गरियो । करोडौं करोड पैसा कमाइसकेका उनीहरूको लागि जागिर त खासै महत्वको विषय हुनेछैन ।
सरकार किन डरायो ?
एसपीले कहिले जागिर खाए, जागिरको शिलशिलामा कुन–कुन जिल्लामा काम गरे, ती ठाउँमा काम गर्ने शिलशिलामा उनले के के राम्रा नराम्रा काम गरे ? यी सबै कुरा बुझ्न जरुरी छ । सम्भवतः एसपी माओवादीहरूले भारतबाट हतियार ल्याउँदा हतियार बोक्ने गाडीलाई छोड्ने काममा सहयोग गरेका व्यक्ति हुन् कि ? उनी माओवादीका नेता प्रचण्डसँग सम्बन्धित व्यक्ति हुन् कि ? भारतसँग पनि सम्बन्धित मानिस हुन् कि ? के यसैकारण एसपीलाई कारबाही गर्न डराएको हो ? प्रधानमन्त्री नै अप्ठ्यारोमा परेको बताइन्छ । अहिले प्रधानमन्त्रीलाई अत्याउने काम कसले गर्नसक्छ ! प्रचण्डले मात्र । सत्य यही हो भने प्रचण्डले एसपीलाई आफ्नो मानिस भनेर उनलाई जोगाउने काम भइरहेको हो भनी अनुमान गर्न गा¥हो छैन ।
यदि एसपीलाई गिरफ्तार गरे ओलीलाई प्रचण्डले समर्थन नगर्ने, अविश्वासको प्रस्ताव पेश हुने, काङ्ग्रेस र मधेसवादी दलहरूले पनि त्यो प्रस्तावमा समर्थन गर्दा यो सरकार ढल्ने सम्भावना छ । आफ्नो सरकार ढल्ने डरले ओली बाध्य भएर चुपचाप बसिरहेका छन् भन्ने अनुमान तर्कयुक्त छ ।
निर्मला हत्याकाण्डसँग जोडिएका दुई बम दिदीबहिनीले प्रधानमन्त्रीसँग फोटो खिचेको तस्वीर पनि सार्वजनिक भएको थियो । त्यो तस्वीर घटना हुनुअघि खिचिएको हो वा त्यस पछाडि ? यो अनुसन्धान गर्नुपर्ने विषय हो ।
काण्डअघि नै त्यो तस्वीर खिचिएको हो भने सरकारमा आफ्नो मान्छे भएकै कारण त्यो परिवारले कुनै प्रकारको डरबिना त्यस्तो घटना घटाएको हुनसक्दछ । त्यसो हो भने ओलीको सङ्गत ठीक होइन । उनीहरूको बलको आडमा अरूले अपराध गरिरहेको देखिन्छ । त्यसको निम्ति प्रधानमन्त्री दोषी हुनेछन् ।
यदि त्यो तस्वीर घटनापछिको भए, प्रचण्डले उनीहरूलाई यी दिदीबहिनी निर्दोष हुन् भनी प्रधानमन्त्रीलाई भेट्न जाने क्रममा त्यो तस्वीर खिचिएको भए त्यसको दोषी प्रचण्ड हुनेछ ।
यी कुराहरू पत्रपत्रिकामा आइसकेका छन्, संसदमा पनि कुराकानी भइसकेका छन् । तर सरकारले कुनै कारबाही गरेको छैन ।
नेपालभाषाको अखबार
कतिपय हाम्रा दाजुभाइ दिदीबहिनीहरू नेपाली बुझ्नु हुन्न । उहाँहरूलाई यी सबै कुरा बुझाउन हामीले नेपालभाषा (नेवारी) मा पनि अखबार प्रकाशित गर्नु उपयुक्त हुनेछ । तःमुंज्याका साथीहरूले पनि यो विषयमा विचार गर्नु आवश्यक छ ।
कार्ल माक्र्सको सम्झना
दबुअघि कार्ल माक्र्सको प्रतिमा राखिएको छ । कार्ल माक्र्सको विषयमा पूर्ववक्ता साथीहरूले पनि बोलिसक्नुभयो । संसारका श्रमजीवी कामदार जनताको पक्षमा उहाँले सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । कार्ल माक्र्स सिद्धान्तको विषयमा कहिल्यै नझुक्ने स्वभावको हुनुहुन्थ्यो । उहाँ नमिलेको कुरा मिल्दैन भनी भनिरहने गर्नुहुन्थ्यो । माक्र्सभन्दा अघि कम्युनिष्ट बनेका केही अग्रजहरू जस्तै वेलिङ्टन चोर, डाँका, अपराधीलाई पनि सङ्गठित बनाएर, ४०–४२ हजार मानिस जम्मा गरेर, तुरुन्त सरकार कब्जा गरेर समाजवाद स्थापना गर्ने विचार राख्थे ।
धार्मिक कुरा गरेर धार्मिक मानिसलाई पनि प्रभावमा पार्ने, सबै वर्गका मानिसलाई चित्त बुझाएर शान्तिपूर्ण ढङ्गबाट समाजवादी व्यवस्था स्थापना गर्ने वेलिङ्टनको विचार थियो । तर माक्र्सले त्यस विचारमा विमति राख्नुभयो । हामीले चोर र अपराधीलाई काममा लगाएर राम्रो काम हुने अनुमान गलत हुनेछ । असल मानिसलाई सङ्गठित बनाएरमात्र काममा लगाउनुपर्ने हुन्छ । त्यसैले पार्टी सदस्यता दिन, काम र व्यवहार हेर्न परीक्षणकालमा राखिन्छ । त्यो अवधिमा जनताको सेवा गर्छ–गर्दैन, इमानदार हो–होइन भनी परीक्षण गरिन्छ । परीक्षणकालमा ऊ पार्टी गतिविधिमा लागेको हुन्छ, सफाइ आन्दोलनमा भाग लिएको हुन्छ, छरछिमेकलाई सहयोगको भावना राखेको हुन्छ । पार्टी सदस्य भइसकेपछि ऊ पार्टी बैठकमा सहभागी हुनुपर्ने हुन्छ, पार्टी कक्षामा भाग लिनुपर्ने हुन्छ । हरेक महिनामा चन्दा दिनुपर्ने हुन्छ । पार्टी निर्देशनअनुसार काम गरेको हुनुपर्दछ । कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । पार्टीले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ ।
पहिले भक्तपुरमा अलौकिक सीताराम भन्ने एक जना मानिस थिए । उनी ‘रामराज्य’ स्थापना गर्ने कुरा गर्थे । देवताको तस्वीर आसनमा राखेर म शासन गर्छु भन्दै उनी हिंड्थे । वेट्लिङ पनि त्यस्तै विचार राख्थे । बाइबलमा लेखिएअनुसारको सरकार बनाउने, म तानाशाह बनेर शासन गर्छु भन्थे ।
माक्र्सले उनको त्यो सिद्धान्तमा विमति राखेर जनताले चुनेको सरकारको आवश्यकतामा जोड दिनुभएको थियो ।
चोर, डाँका, शोषक, ठेकेदार, राजा, नाफाखोर, कालाबजारीसँग मिल्ने कुरामा माक्र्स सहमत भएनन् । त्यसो गर्दा हामी समाजवादमा नपुग्ने माक्र्सको विचार थियो । सबै जनतालाई सङ्गठित नबनाई, सङ्घर्ष नगरी, नबुझाई समाजमा परिवर्तन हुनसक्दैन । एउटा नृत्यमात्र गर्दा पनि सबैको ताल मिल्नुपर्ने हुन्छ । माक्र्सले शान्तिपूर्वक फकाएर शासन गर्ने उपायले क्रान्ति असफल हुन्छ भन्नुभयो । उहाँको कुरा नमान्दा धेरै ठाउँमा क्रान्ति र आन्दोलन दबाइए । उहाँहरूले आफ्नो समयमा गर्नुभएको अनुभवबाट सिकेर हामीले आन्दोलन अघि बढाउनुपर्ने अवस्था छ ।
माओवादीको लडाइँमा १८ हजार जति मानिस मारिए । तर खोइ त के परिवर्तन भयो ? केही भएन किनभने क्रान्तिबारेको दृष्टिकोण गलत थियो ।
(कार्तिक ४ र ५ गते कमलविनायकमा सम्पन्न ३८ औं नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले दिनुभएको मन्तव्यको सार–सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *