भर्खरै :

ब्राजिल निर्वाचन, अनुदारवादी उम्मेदवार विजयी हुने सम्भावना

रियो डे जेनेरियो, ११ कात्तिक : ब्राजिलमा आइतबार राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान हुँदैछ । यो निर्वाचनमा अनुदारवादी भनेर चिनिएका र सैनिक पृष्ठभूमि भएका जेयर बोल्सोनारो राष्ट्रपतिमा विजयी हुने अनुमान गरिएको छ ।
महिला, समलिङ्गी र काला जातिमाथि नकारात्मक टिप्पणी गर्न रुचाउने बोल्सोनारोले बामपन्थी विचारधाराका फर्नान्डो हडाडलाई पराजित गर्न सक्ने मत सर्वेक्षणले देखाएका छन् । शनिबार सार्वजनिक दुईवटा मत सर्वेक्षणमा बोल्सेनारोले करिब ५५ प्रतिशत मत प्राप्त गर्ने सक्ने उल्लेख छ ।
साओ पाउलोका पूर्व प्रमुख (मेयर) समेत रहेका हडाडले अन्तिम चुनावी सभामा सम्बोधन गर्दै चुनाव नजिकिँदै गर्दा आफ्नो पक्षमा जनताको समर्थन बढ्दै गएको बताउनुभयो । उक्त सभामा हजारौं सहभागी भएका थिए ।
बोल्सोनारोले भने सामाजिक सञ्जाल मार्फत आमजनतालाई सम्बोधन गर्नुभएको छ । गत महिना पेटमा घातक चक्कु आक्रमण भएपछि उहाँले सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसार गरिरहनुभएको छ । उहाँ तीन सातासम्म उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।
भ्रष्टाचार, कुशासन र हत्याहिंसाका कारण दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलका आमजनतामा चरम नैराश्यता छ । उनीहरु परिवर्तनको पक्षमा उभिएको देखिएको छ ।
राष्ट्रपतिका उम्मेदवार हडाड मात्र होइन उहाँको वर्कर्स पार्टीको छवि समेत पछिल्ला वर्षहरुमा कमजोर भएको छ । हडाडलाई भ्रष्टाचारको आरोपमा हाल जेलमा रहेका पूर्व राष्ट्रपति लुइस इनारियो लुला डी सिल्भाको समेत समर्थन छ । लुला सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति हुनुहुन्थ्यो ।
लुला ब्राजिलको सर्वाधिक लोकप्रिय राजनीतिज्ञ हुनुहुन्छ । ब्राजिलको सबैभन्दा ठूलो तेल कम्पनी पेट्रोब्रासबाट भ्रष्टाचार गरेको आरोपमा लुला हाल १२ वर्षका लागि जेलमा हुनुहुन्छ । वर्कर्स पार्टीका संस्थापक समेत रहेका लुलालाई अदालतकै आदेशमा यस पटक चुनाव लड्न दिइएको थिएन ।
लुलाको झैं सशक्त नदेखिएका हडाडले पार्टीलाई एकताबद्ध गराउन सक्नुभएको छैन । उहाँकै कमजोरीका कारण विपक्षी बोल्सोनारोले मतदातालाई आकर्षित गरेको बताइन्छ । पूर्व सैनिक अधिकृत बोल्सोनारोले सत्ताको बागडोर पाए के गर्लान् भन्ने सर्वत्र चासो र चिन्ता बढेको छ ।
बोल्सोनारोको नारा भने फरक छ । उहाँ सन् १९६४ देखि १९८५ को अवधिका सैनिक सरकारले गरेको औद्योगिकीकरणलाई मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । विगतका सैनिक सरकारले गरेका सबै कार्यहरुको बोल्सेनारोले स्वागत पनि गर्नुभएको छ ।
बोल्सेनारोले विगतका सैनिक सत्ताले बामपन्थी विद्रोही र उनीहरुका समर्थकहरुलाई हत्या गर्नुको साटो यातना मात्र दिएको बताउने गर्नुभएको छ । उहाँका धारणा र विचारहरुलाई मानिसले बढी रुचाएका छन् ।
ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा १४ करोड ७० लाख मतदाता रहेका छन् । ब्राजिलमा मतदानलाई बाध्यकारी बनाइएको छ । मतदान सकिएलगत्तै मतगणना शुरु हुने निर्वाचन आयोगले जनाएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *