भर्खरै :

द्रुतमार्गको नाममा पुराना बस्ती विनाश गर्न नहुने

काठमाण्डौ, १४ कार्तिक । ‘‘पुराना बस्ती मानव जातिको सभ्यता नै भएकोले सडक चौडा वा फास्ट ट्रयाक निर्माणको नाममा विनाश गर्नुहुँदैन । अर्बौँ रूपैयाँ खर्च गरी काठमाण्डौका घर भत्काई सडक चौडा गरियो तर जनसङ्ख्याकेन्द्रित गरिएको र यातायातको साधन आयात बढेकोले सडक जाम यथावत् रह्यो ।’’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूमाझ बुधबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा भएको ब्रिफिङपछिको छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उक्त विचार राख्नुभएको हो ।
उहाँले देशको सन्तुलित विकासको लागि काठमाण्डौ उपत्यकामा मात्र जनसङ्ख्याकेन्द्रित नगरी सबै सदरमुकाममा पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै काठमाण्डौ उपत्यकामा खानेपानी, फोहरमैला तथा उपचार पोखरीको समस्या, प्रदूषण र अपराधको सङ्ख्या वृद्धि भएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले नेपालको ७१ ठाउँमा भारतले ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरेको र भारतले बनाएका बाँध तथा तटबन्धको कारण बर्सेनि नेपालको तराई–मधेस डुबानमा परेको उल्लेख गर्नुहुँदै बेलुकी नेपालमा सुतेको मानिस बिहान भारतीय हुने स्थितितर्फ सरकारको ध्यान नगएको उल्लेख गर्नुभयो ।
प्रजग कोरियामा पर्यावरणीय संरक्षणको लागि सुनखानी भएको पहाडसमेत नबिगारेको उल्लेख गर्नुहुँदै सांसद सुवालले खोकना र बुङमतीजस्ता सम्पदालाई फास्ट ट्रयाकको नाममा बिगार्न नहुने बताउनुभयो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले तत्कालीन सरकार (देउवा) को निर्णयअनुसार द्रुतमार्ग सेनालाई दिइएको उल्लेख गर्नुहुँदै खोकना र बुङमती पुराना बस्ती भएकाले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
समितिका सभापति काशी श्रेष्ठले बिहीबार समितिले बुङमती र खोकनाका जनतासँग अन्तरक्रिया गर्ने बताउनुभयो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र आर्थिक अपचलन रोक्न सचेत गराउने काम भइरहेको उल्लेख गर्नुहुँदै नेपाली सेना खतराभन्दा एक पाइला अगाडि रहेको बताउनुभयो ।
ब्रिफिङमा रथी, युद्ध कार्य निर्देशक, सहायक रथीहरूले नेपाली सेनाको नीति, रणनीति र कार्यनीतिबारे चर्चा गर्नुभयो ।
यसअघिको समितिको बैठक सिंहदरबारमा बसेको थियो । बैठकमा नेपाली सेनाको मुख्यालयमा हुने ब्रिफिङ र बुङमती तथा खोकनाका जनतासँग गरिने अन्तरक्रियाबारे सबै सांसदहरूलाई सूचना नपुगेकोतर्फ सभापतिको ध्यानाकर्षण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *