भर्खरै :

के हामी सयपत्री पनि फुलाउन सक्दैनौं ?

प्रगति खड्का
रमाइलो चाड तिहार सङ्घारमै आइपुगेको छ । एकाध दुःखद घटनालाई छोडेर देशैभर रमाइलो छाइरहेको छ । तर, फूलको चाड तिहारमा प्रयोग हुने सयपत्री फूलमा पनि हामी परनिर्भर रहेको र झण्डै ११ करोड रुपैयाँको सयपत्री फूल भारतबाट आयात भइरहेको खबर सुन्दा नरमाइलो लाग्यो । गुलाबलगायत अन्य फूलहरू त व्यावसायिक खेती नगरी राम्रो फुलाउन नसकिने सत्य हो । तर सयपत्री र मखमली फूल हाम्रो रैथाने फूल हो । यी फूल फूलाउनका लागि धेरै मेहनत आवश्यक छैन । जेठ–असारमा बीउ राखेर उमारेको बेर्ना असार–साउनभित्र पाखोबारी, आली र ड्याङहरूमा थोरै कम्पोष्ट मल हाली सरिदिन सकेमा असोज कार्तिकसम्ममा आफै पर्याप्त फूल्ने गर्छन् ।
खेत नभएका सहरी क्षेत्रका नेपालीले पनि दुई चार थान गमला किनेर त्यसमा रोप्यौं भने तिहारमा विदेशबाट आयातित फूल खोज्न निस्कन पर्दैनथ्यो । हामी आफैं दुई तीनसयको त कुरा हो नि’ भन्छौं तर दुई तीनसय गर्दागर्दै करोडौं रुपैयाँ विदेशिएको छ । बढ्दो व्यापार घाटामा बल पुगको छ । हामी स्वदेशमा काम नभएको, रोजगार नपाएको कुरा धेरै गर्छांै तर हाम्रो अगाडि नै अवसर हुँदा पनि त्यसलाई नदेखेझैं गर्छाैं । केही दिन र हप्ताको तालिम लिएर व्यावसायिक पुष्पखेती गर्ने हो भने थोरै लगानीमै अन्य रोजगारकै हाराहारीमा वा त्योभन्दा बढी आम्दानी गर्न सक्छौं । तर यसतर्फ नेपाली युवा–युवतीहरूको ध्यान जान सकेको देख्दैनौं । के हामी हाम्रो बारीमा सयपत्री फूलसम्म पनि फुलाउन र दसैं तिहारमा बजारमा पु¥याउन सक्दैनौं ? यति पनि गर्न सक्दैनौं भने हामीले देशको विकासको मूल फुटाउने गीत गाउन र कुरा गर्न सुहाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *