भर्खरै :

किन हजारौँ होण्डुरन जनता संरा अमेरिकातिर जाँदैछन् ?

जो पीसी
आफ्नो दयनीय जीवनअवस्थाबाट मुक्त हुने अभिलाषा बोकी संयुक्त राष्ट्र अमेरिकातिर अघि बढिरहेका हजारौं हजार होण्डुरियाली आप्रवासी मानवलस्करका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति आगोको घुट्को समान भएको छ । गएको सोमबार (असोज २९ गते) ट्रम्पले ती आप्रवासीहरूको लस्कर रोक्न नसके संरा अमेरिका पुग्न छिचोल्दै आउने देशहरू होण्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र मेक्सिकोविरुद्ध नाकाबन्दी लगाउने धम्की दिए । उनले ती आप्रवासी जनतालाई ‘अपराधी’ को संज्ञासमेत दिन भ्याए । होण्डुरियाली जनताले लामो यात्रा थालेयता उनीहरूले सामना गरेको यो सबभन्दा निर्मम आरोप हो ।
गएको साताबाट सुरू (यो लेख २३ अक्टोबरमा प्रकाशित भएको हो) होण्डुरियाली आप्रवासीको लस्करमा झण्डै सात हजार मानिस सहभागी छन् । उनीहरू यो यात्रामा निस्कनुमा सबैका आ–आफ्ना कथा छन् । तर उनीहरूमध्ये अधिकांश होण्डुरसमा सम्मानित जीवन अवस्था नभएको भन्दै यो यात्रामा निस्केका हुन् । होण्डुरसमा शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा सबै मानिसको पहुँच छैन । हिंसा दैनिक जीवनको पाटो बन्ने गरेको छ । पछिल्लो दसकमा भएको सत्ता कब्जापश्चात् ज्वान ओर्लाण्डो हर्नाण्डेज
(जेओएच) को तानाशाही र अवैधानिक पुनः निर्वाचनले होण्डुरसको अवस्था थप जर्जर बनाएको छ । धेरैको भनाइ छ हजारौं होण्डुरियालीहरू संरा अमेरिकातिर कुनै ‘अमेरिकी सपना’ को खोजीमा निस्केका होइनन्, बरू होण्डुरियाली दुःस्वप्नबाट जोगिन यो यात्रामा हिंडेका हुन् ।
होण्डुरसले सामना गरिरहेको अत्यन्त खराब अवस्थाबारे ३क्ष्तकदभततभचन्य ह्यासट्याग निकै लोकप्रिय बनेको छ ।
होण्डुरियाली जनताको यो लस्करप्रति संसारभरिबाट ऐक्यबद्धताको वर्षा भइरहेको छ । ग्वाटेमाला र मेक्सिकोमा मानवलस्करको मार्गमा परेका स्थानीय समुदाय र बासिन्दाले हजारौं होण्डुरियालीहरूलाई खाना, पानीलगायतका आधारभूत आवश्यकताका वस्तु र सेवा दिएर सहयोग गरे ।
तर सरकारको प्रतिक्रिया भने धम्कीपूर्ण रह्यो । संरा अमेरिका, ग्वाटेमाला र होण्डुरसका सरकारी अधिकारीहरूले आप्रवासी जनतालाई दबाउने र कदाचित् संरा अमेरिका पुगिहाले पनि फिर्ता पठाउने चेतावनी दिएका छन् । होण्डुरस–ग्वाटेमाला र ग्वाटेमाला–मेक्सिको सिमानामा मानवलस्करले अश्रुग्यास र लाठीको सामान गर्नुप¥यो ।
डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटरमार्फत पटकपटक ती तीन देशमाथि सहायता रोक्ने धम्की दोहो¥याइरहे । उनले मानवलस्कर ‘अपराधी’ र ‘अज्ञात मध्यपूर्वीयहरू’ ले भरिएको समेत बोलिरहे । उनले यो परिस्थितिलाई संरा अमेरिकाको राष्ट्रिय सङ्कटकालीन अवस्थाको रूपमा प्रस्तुत गरे । ट्रम्पले सिमानामा तैनाथ सेनालाई सजग रहन आग्रह गर्नुका साथै दक्षिणको सिमाना बन्द गर्न संरा अमेरिकी सेनासमेत परिचालन गर्नसक्ने बताए । मेक्सिको–ग्वाटेमाला सिमानामा आप्रवासी जनता दबाउन दङ्गा प्रहरी तैनाथ गरेको भिडियो ‘रिट्वीट’ गरी उनले मेक्सिको सरकारप्रति आभार व्यक्त गरे । होण्डुरियाली मानवलस्करलाई ट्रम्पले डेमोक्रेटिक पार्टीको आप्रवासी नीतिको परिणामको रूपमा समेत व्याख्या गरे । आगामी नोभेम्बर महिनामा तय भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीप्रति नकारात्मक धारणा फैलाउने प्रयासस्वरूप उनले त्यस्तो बोलेका थिए ।
यी सबै प्रश्नको थुप्रोमा कतै थिचिएको प्रश्न हो – किन होण्डुरियाली जनता आफ्नो देश छोडेर यसरी लावालस्कर बनाएर हिंडिरहेका छन् ? सन् २००९ मा होण्डुरसमा भएको सत्ताविप्लवबाट सत्ताच्युत बन्न पुगेका मानुएल जेलायाको निर्देशनमा होण्डुरियाली स्वतन्त्रता र पुनःनिर्माण पार्टी (द फ्रिडम एण्ड रिफाउन्डिङ्ग पार्टी अफ् होण्डुरस) ले संरा अमेरिकी अधिकारीहरूका अभिव्यक्तिको प्रतिक्रियामा एउटा वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ, “डोनाल्ड ट्रम्पसहित तिमीहरू सबैले सन् २०१७ नोेभेम्बरमा भएको निर्वाचनमा ठूलो धाँधली ग¥यौ । त्यसको विरोधमा भएका प्रदर्शनमाथि चर्को दमन भयो । फरक मत राख्ने धेरैको हत्या गरियो । बाँकी विपक्षीलाई राजनीतिक बन्दीको रूपमा कारागारमा कोचियो । ज्वान ओर्लाण्डो हर्नाण्डेज आफै राज्यको लुटपाटका लागि जिम्मेवार भएको, होण्डुरियाली अर्थतन्त्रको दुरवस्था, हिंसा, असुरक्षा र दण्डहीनताको लागि उनी जिम्मेवार रहेको यथार्थबोधबीच यी सबै घटना भएका थिए । होण्डुरसका हाम्रा देशबासी र महिला सबै देश छोडेर जानुपर्नाको मूल सङ्कटको जरा यही भएकोमा कुनै सन्देह छैन ।”
होण्डुरसको अवस्था
होण्डुरस ल्याटिन अमेरिकाको सबभन्दा गरीब देश हो । त्यहाँका ६५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बाँच्छन् । तीमध्ये पनि ४० प्रतिशत जनसङ्ख्या चरम गरिबीको अवस्थामा आफ्नो जीवन सङ्घर्ष अघि बढाइरहेका छन् । होण्डुरस ल्याटिन अमेरिकी क्षेत्रकै दोस्रो सबभन्दा बढी असमानता भएको देश पनि हो ।
होण्डुरसको स्थापना भएयता अधिकांश समय त्यहाँ अनुदारवादी सरकारहरूले शासन गरेका छन् । ती सरकारहरू मूलतः संरा अमेरिका र उसका साम्राज्यवादी स्वार्थका मतियार हुने गरेका छन् । ल्याटिन अमेरिकी क्षेत्रमा संरा अमेरिकाको सबभन्दा ठूलो सैनिक आधार पाल्मेरोला होण्डुरसमै छ । ल्याटिन अमेरिकामा संरा अमेरिका विरोधीमाथि दमन गर्न यो सैनिक आधार रणनीतिक आधारबिन्दु हुने गरेको छ । उदाहरणको लागि, सन् १९८० को दशकमा ग्वाटेमाला, एल साल्भाडोर र निकारागुआमा वामपन्थी गुरिल्ला सङ्घर्ष उत्कर्षमा पुगेको समयमा ती विद्रोह दबाउन होण्डुरियाली भूमिबाटै प्रतिक्रान्तिकारी शक्ति वा कारबाहीको समन्वय गरिएको थियो । आज पनि होण्डुरस ठूलो मात्रामा सैनिकीकृत देश हो । होण्डुरसभित्रै कुनै आन्तरिक सशस्त्र द्वन्द्वको समस्या नभएका कारण त्यहाँका सेना र सशस्त्र प्रहरीलाई विभिन्न देशमा परिचालन गरिनुका साथै रणनीतिक महत्वका आर्थिक क्षेत्रमा केन्द्रित गरिंदै आएको छ ।
आर्थिकरूपमा पनि होण्डुरस संरा अमेरिकी साम्राज्यवादको लागि निकै महत्व राख्ने देश बन्दै आएको छ । ऐतिहासिकरूपमा होण्डुरसले बहुराष्ट्रिय कम्पनीहरूलाई भूमि र सस्तो ज्यामी आपूर्ति गर्दै आएको थियो । उदाहरणको लागि संरा अमेरिकाको युनाइटेड फ्रुट कम्पनी (आजभोलिको चिक्युइटा बनानाज) बीसौं शताब्दीको सुरूदेखि नै होण्डुरसमा काम गर्दै आएको छ । होण्डुरसका मजदुरलाई कम ज्यालामा निकै दयनीय अवस्थामा काम गराएर कम्पनीले नाफा कमाउने गरेको छ । त्यसैको प्रतिक्रियास्वरूप सन् १९५४ मा जीवनयापनको राम्रो बन्दोबस्त, ज्याला र श्रम ऐनको बन्दोबस्तलगायतका माग राखी हजारौं मजदुरहरूले हड्ताल गरेका थिए ।
सन् २००९ को सत्ताविप्लवयता खानी, ऊर्जा र नगदेबालीसम्बन्धी बहुराष्ट्रिय कम्पनीहरूलाई दिइँदै आएको छुट तथा अनुदानमा उल्लेख्य वृद्धि गरिएको छ । यी परियोजनाका कारण पानी र वातावरणमा भएको प्रदूषणका कारण स्थानीय जनताको बासस्थान उठाउनेदेखि लिएर अन्य प्रभाव पनि परेका छन् । राज्यको तर्फबाट जनतालाई निकै थोरै सहयोग हुँदै आएको र उच्च बेरोजगारी दर भएको देशमा खानेपानीमा जनताको पहुँच र आफ्नै खेतमा काम गर्नसक्ने जनताको क्षमतामा निकै नकारात्मक असर परेको छ । प्राकृतिक विनासकारी ती परियोजनाको चर्को विरोध भएको थियो । तर ती विरोधमाथि निर्मम दमन गरियो ।
बेर्टा कासेरेसको हत्या र उनले नेतृत्व गरेको होण्डुरियाली आदिवासी जननागरिक परिषद् (कोपिन्ह्) माथिको दमन यस्तै चरम दमनका उदाहरण हुन् । सन् २००९ को सत्ताविप्लवमा बेर्टा र कोपिन्ह्को महत्वपूर्ण भूमिका थियो । बेर्टा र उनको सोही अभियानले आदिबासी लेन्काक समुदायको भूमिमाथि ती बृहत् परियोजना थोपरिनुमा सन् २००९ को सत्ताविप्लवको प्रत्यक्षतः कस्तो हात रह्यो भन्ने कुरा सबभन्दा पहिलोपटक प्रस्ट बनाएको थियो । कोपिन्ह्ले रिओ ब्लाको समुदायको साथ लागेर विरोध गरिरहेको अग्वा जार्का बाँध परियोजनालाई सन् २००९ को सत्ता विप्लवपश्चात् छोटो समयभित्रै अनुमतिपत्र र अनुदान दिइएको थियो ।
सन् २०१७ को विश्वव्यापी पर्यवेक्षणले होण्डुरस संसारमा वातावरण संरक्षणवादीको निम्ति सबभन्दा डरलाग्दो देश भएको देखाएको थियो । सन् २०१० यता नदी, जङ्गल र भूमि संरक्षण गर्ने प्रयासका क्रममा कम्तीमा १२० जना होण्डुरियाली संरक्षणवादीहरूको हत्या भएको थियो ।
होण्डुरस संगठित अपराधको डफ्फा ‘मारास’ (गुण्डादल) को आक्रामकताका कारण उच्च अपराध दरको लागि कुख्यात देश पनि हो । ती सङ्गठित अपराधका डफ्फा उच्चपदस्थ प्रहरी र सरकारी अधिकारीहरूको नियन्त्रणमा हुने गर्दछन् । भूमि र लागूपदार्थमाथि आफ्नो नियन्त्रण कायम राख्न हुने लडाईंमा होण्डुरियाली युवालाई हतियारको रूपमा उनीहरूले प्रयोग गर्ने गरेका छन् । अवसरको अभावमा धेरै होण्डुरियाली युवाहरू मारासमा संलग्न हुन बाध्य छन् । धेरैजसो अवस्थामा युवाहरूलाई ती गुण्डादलमा लाग्न विवश बनाइन्छ । सामान्यतः मारासले आफ्नो आदेश नमान्ने वा आफ्नो दल छोड्न खोज्नेलाई मार्ने नीति अङ्गालेको हुन्छ । त्यसकारण पनि धेरै मानिस होण्डुरस छोडिरहेका छन् ।
प्रणालीगत भ्रष्टाचार, भयावह स्वास्थ्य प्रणाली र सरकारी लगानी अत्यन्त न्यून रहेको शिक्षा क्षेत्र नै होण्डुरसका बहुमत जनताको जीवनलाई अनिश्चित बनाउने प्रमुख कारण हुन् । होण्डुरसमा आजसम्म शासन चलाएका अनुदारवादी सरकारहरू र संरा अमेरिका नै यस्ता नीतिका लागि जिम्मेवार छन् । होण्डुरसको अर्थतन्त्र, राजनीति र सैनिक क्षेत्रमा संरा अमेरिकाको प्रभाव बलियो हुँदैआएको छ । सन् २००९ को सत्ताविप्लव र प्रजातन्त्रको हत्यापश्चात् विदेशी कम्पनीलाई होण्डुरससँग भएका स्रोत बिक्री गर्ने, विदेशी पुँजीका परियोजनाको रक्षा गर्न होण्डुरसमा अझ बलियो सैनिक सुरक्षा बनाउने एवम् शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी गर्दै आएको बजेट अन्यत्र मोडेर देशका शासकवर्गको खल्ती भर्ने काम हँुदै आएको छ ।
आगामी केही दिनमा संरा अमेरिकातिर लस्कर बनाएर हिंडिरहेका हजारौं होण्डुरियाली जनताले अझ थप कठिनाईको सामना गर्नुपर्नेछ । होण्डुरियाली आप्रवासी जनताको यो दुरावस्था संरा अमेरिकाको विरोधाभासी नीतिको सबभन्दा उपयुक्त उदाहरण हो । उसको यस्तै नीतिका कारण धेरै देशका जनताको जीवन यस्तै भयावह बन्दै गएको छ । तर विडम्बना ¤ जसले यो अवस्थाबाट मुक्ति खोजिरहेका छन्, उनीहरूलाई नै कारबाही गरिंदैछ, सजायको भागीदार मानिंदैछ ।
गएको अप्रिलमा पनि एक हजारजना मानिस सम्मिलित मध्यअमेरिकी आप्रवासीको अर्को मानवलस्करले पनि ट्रम्प र संरा अमेरिकी अधिकारीहरूका यस्तै दमनको सामना गर्नुपरेको थियो । उनीहरूलाई शरणको लागि आवेदन दिने हरेक मौकाबाट वञ्चित गरिएको थियो ।
(पिपुल्स डिसप्याचमा अक्टोबर २३ मा प्रकाशित प्रस्तुत लेख अनलाइन मन्थ्ली रिभ्युले साभार गरेको थियो । अनलाइन मन्थ्ली रिभ्युबाट नेपाली भाषामा अनुदित ।)
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *