हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
जो पीसी
आफ्नो दयनीय जीवनअवस्थाबाट मुक्त हुने अभिलाषा बोकी संयुक्त राष्ट्र अमेरिकातिर अघि बढिरहेका हजारौं हजार होण्डुरियाली आप्रवासी मानवलस्करका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति आगोको घुट्को समान भएको छ । गएको सोमबार (असोज २९ गते) ट्रम्पले ती आप्रवासीहरूको लस्कर रोक्न नसके संरा अमेरिका पुग्न छिचोल्दै आउने देशहरू होण्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र मेक्सिकोविरुद्ध नाकाबन्दी लगाउने धम्की दिए । उनले ती आप्रवासी जनतालाई ‘अपराधी’ को संज्ञासमेत दिन भ्याए । होण्डुरियाली जनताले लामो यात्रा थालेयता उनीहरूले सामना गरेको यो सबभन्दा निर्मम आरोप हो ।
गएको साताबाट सुरू (यो लेख २३ अक्टोबरमा प्रकाशित भएको हो) होण्डुरियाली आप्रवासीको लस्करमा झण्डै सात हजार मानिस सहभागी छन् । उनीहरू यो यात्रामा निस्कनुमा सबैका आ–आफ्ना कथा छन् । तर उनीहरूमध्ये अधिकांश होण्डुरसमा सम्मानित जीवन अवस्था नभएको भन्दै यो यात्रामा निस्केका हुन् । होण्डुरसमा शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा सबै मानिसको पहुँच छैन । हिंसा दैनिक जीवनको पाटो बन्ने गरेको छ । पछिल्लो दसकमा भएको सत्ता कब्जापश्चात् ज्वान ओर्लाण्डो हर्नाण्डेज
(जेओएच) को तानाशाही र अवैधानिक पुनः निर्वाचनले होण्डुरसको अवस्था थप जर्जर बनाएको छ । धेरैको भनाइ छ हजारौं होण्डुरियालीहरू संरा अमेरिकातिर कुनै ‘अमेरिकी सपना’ को खोजीमा निस्केका होइनन्, बरू होण्डुरियाली दुःस्वप्नबाट जोगिन यो यात्रामा हिंडेका हुन् ।
होण्डुरसले सामना गरिरहेको अत्यन्त खराब अवस्थाबारे ३क्ष्तकदभततभचन्य ह्यासट्याग निकै लोकप्रिय बनेको छ ।
होण्डुरियाली जनताको यो लस्करप्रति संसारभरिबाट ऐक्यबद्धताको वर्षा भइरहेको छ । ग्वाटेमाला र मेक्सिकोमा मानवलस्करको मार्गमा परेका स्थानीय समुदाय र बासिन्दाले हजारौं होण्डुरियालीहरूलाई खाना, पानीलगायतका आधारभूत आवश्यकताका वस्तु र सेवा दिएर सहयोग गरे ।
तर सरकारको प्रतिक्रिया भने धम्कीपूर्ण रह्यो । संरा अमेरिका, ग्वाटेमाला र होण्डुरसका सरकारी अधिकारीहरूले आप्रवासी जनतालाई दबाउने र कदाचित् संरा अमेरिका पुगिहाले पनि फिर्ता पठाउने चेतावनी दिएका छन् । होण्डुरस–ग्वाटेमाला र ग्वाटेमाला–मेक्सिको सिमानामा मानवलस्करले अश्रुग्यास र लाठीको सामान गर्नुप¥यो ।
डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटरमार्फत पटकपटक ती तीन देशमाथि सहायता रोक्ने धम्की दोहो¥याइरहे । उनले मानवलस्कर ‘अपराधी’ र ‘अज्ञात मध्यपूर्वीयहरू’ ले भरिएको समेत बोलिरहे । उनले यो परिस्थितिलाई संरा अमेरिकाको राष्ट्रिय सङ्कटकालीन अवस्थाको रूपमा प्रस्तुत गरे । ट्रम्पले सिमानामा तैनाथ सेनालाई सजग रहन आग्रह गर्नुका साथै दक्षिणको सिमाना बन्द गर्न संरा अमेरिकी सेनासमेत परिचालन गर्नसक्ने बताए । मेक्सिको–ग्वाटेमाला सिमानामा आप्रवासी जनता दबाउन दङ्गा प्रहरी तैनाथ गरेको भिडियो ‘रिट्वीट’ गरी उनले मेक्सिको सरकारप्रति आभार व्यक्त गरे । होण्डुरियाली मानवलस्करलाई ट्रम्पले डेमोक्रेटिक पार्टीको आप्रवासी नीतिको परिणामको रूपमा समेत व्याख्या गरे । आगामी नोभेम्बर महिनामा तय भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीप्रति नकारात्मक धारणा फैलाउने प्रयासस्वरूप उनले त्यस्तो बोलेका थिए । 
यी सबै प्रश्नको थुप्रोमा कतै थिचिएको प्रश्न हो – किन होण्डुरियाली जनता आफ्नो देश छोडेर यसरी लावालस्कर बनाएर हिंडिरहेका छन् ? सन् २००९ मा होण्डुरसमा भएको सत्ताविप्लवबाट सत्ताच्युत बन्न पुगेका मानुएल जेलायाको निर्देशनमा होण्डुरियाली स्वतन्त्रता र पुनःनिर्माण पार्टी (द फ्रिडम एण्ड रिफाउन्डिङ्ग पार्टी अफ् होण्डुरस) ले संरा अमेरिकी अधिकारीहरूका अभिव्यक्तिको प्रतिक्रियामा एउटा वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ, “डोनाल्ड ट्रम्पसहित तिमीहरू सबैले सन् २०१७ नोेभेम्बरमा भएको निर्वाचनमा ठूलो धाँधली ग¥यौ । त्यसको विरोधमा भएका प्रदर्शनमाथि चर्को दमन भयो । फरक मत राख्ने धेरैको हत्या गरियो । बाँकी विपक्षीलाई राजनीतिक बन्दीको रूपमा कारागारमा कोचियो । ज्वान ओर्लाण्डो हर्नाण्डेज आफै राज्यको लुटपाटका लागि जिम्मेवार भएको, होण्डुरियाली अर्थतन्त्रको दुरवस्था, हिंसा, असुरक्षा र दण्डहीनताको लागि उनी जिम्मेवार रहेको यथार्थबोधबीच यी सबै घटना भएका थिए । होण्डुरसका हाम्रा देशबासी र महिला सबै देश छोडेर जानुपर्नाको मूल सङ्कटको जरा यही भएकोमा कुनै सन्देह छैन ।”
होण्डुरसको अवस्था
होण्डुरस ल्याटिन अमेरिकाको सबभन्दा गरीब देश हो । त्यहाँका ६५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बाँच्छन् । तीमध्ये पनि ४० प्रतिशत जनसङ्ख्या चरम गरिबीको अवस्थामा आफ्नो जीवन सङ्घर्ष अघि बढाइरहेका छन् । होण्डुरस ल्याटिन अमेरिकी क्षेत्रकै दोस्रो सबभन्दा बढी असमानता भएको देश पनि हो ।
होण्डुरसको स्थापना भएयता अधिकांश समय त्यहाँ अनुदारवादी सरकारहरूले शासन गरेका छन् । ती सरकारहरू मूलतः संरा अमेरिका र उसका साम्राज्यवादी स्वार्थका मतियार हुने गरेका छन् । ल्याटिन अमेरिकी क्षेत्रमा संरा अमेरिकाको सबभन्दा ठूलो सैनिक आधार पाल्मेरोला होण्डुरसमै छ । ल्याटिन अमेरिकामा संरा अमेरिका विरोधीमाथि दमन गर्न यो सैनिक आधार रणनीतिक आधारबिन्दु हुने गरेको छ । उदाहरणको लागि, सन् १९८० को दशकमा ग्वाटेमाला, एल साल्भाडोर र निकारागुआमा वामपन्थी गुरिल्ला सङ्घर्ष उत्कर्षमा पुगेको समयमा ती विद्रोह दबाउन होण्डुरियाली भूमिबाटै प्रतिक्रान्तिकारी शक्ति वा कारबाहीको समन्वय गरिएको थियो । आज पनि होण्डुरस ठूलो मात्रामा सैनिकीकृत देश हो । होण्डुरसभित्रै कुनै आन्तरिक सशस्त्र द्वन्द्वको समस्या नभएका कारण त्यहाँका सेना र सशस्त्र प्रहरीलाई विभिन्न देशमा परिचालन गरिनुका साथै रणनीतिक महत्वका आर्थिक क्षेत्रमा केन्द्रित गरिंदै आएको छ ।
आर्थिकरूपमा पनि होण्डुरस संरा अमेरिकी साम्राज्यवादको लागि निकै महत्व राख्ने देश बन्दै आएको छ । ऐतिहासिकरूपमा होण्डुरसले बहुराष्ट्रिय कम्पनीहरूलाई भूमि र सस्तो ज्यामी आपूर्ति गर्दै आएको थियो । उदाहरणको लागि संरा अमेरिकाको युनाइटेड फ्रुट कम्पनी (आजभोलिको चिक्युइटा बनानाज) बीसौं शताब्दीको सुरूदेखि नै होण्डुरसमा काम गर्दै आएको छ । होण्डुरसका मजदुरलाई कम ज्यालामा निकै दयनीय अवस्थामा काम गराएर कम्पनीले नाफा कमाउने गरेको छ । त्यसैको प्रतिक्रियास्वरूप सन् १९५४ मा जीवनयापनको राम्रो बन्दोबस्त, ज्याला र श्रम ऐनको बन्दोबस्तलगायतका माग राखी हजारौं मजदुरहरूले हड्ताल गरेका थिए ।
सन् २००९ को सत्ताविप्लवयता खानी, ऊर्जा र नगदेबालीसम्बन्धी बहुराष्ट्रिय कम्पनीहरूलाई दिइँदै आएको छुट तथा अनुदानमा उल्लेख्य वृद्धि गरिएको छ । यी परियोजनाका कारण पानी र वातावरणमा भएको प्रदूषणका कारण स्थानीय जनताको बासस्थान उठाउनेदेखि लिएर अन्य प्रभाव पनि परेका छन् । राज्यको तर्फबाट जनतालाई निकै थोरै सहयोग हुँदै आएको र उच्च बेरोजगारी दर भएको देशमा खानेपानीमा जनताको पहुँच र आफ्नै खेतमा काम गर्नसक्ने जनताको क्षमतामा निकै नकारात्मक असर परेको छ । प्राकृतिक विनासकारी ती परियोजनाको चर्को विरोध भएको थियो । तर ती विरोधमाथि निर्मम दमन गरियो ।
बेर्टा कासेरेसको हत्या र उनले नेतृत्व गरेको होण्डुरियाली आदिवासी जननागरिक परिषद् (कोपिन्ह्) माथिको दमन यस्तै चरम दमनका उदाहरण हुन् । सन् २००९ को सत्ताविप्लवमा बेर्टा र कोपिन्ह्को महत्वपूर्ण भूमिका थियो । बेर्टा र उनको सोही अभियानले आदिबासी लेन्काक समुदायको भूमिमाथि ती बृहत् परियोजना थोपरिनुमा सन् २००९ को सत्ताविप्लवको प्रत्यक्षतः कस्तो हात रह्यो भन्ने कुरा सबभन्दा पहिलोपटक प्रस्ट बनाएको थियो । कोपिन्ह्ले रिओ ब्लाको समुदायको साथ लागेर विरोध गरिरहेको अग्वा जार्का बाँध परियोजनालाई सन् २००९ को सत्ता विप्लवपश्चात् छोटो समयभित्रै अनुमतिपत्र र अनुदान दिइएको थियो ।
सन् २०१७ को विश्वव्यापी पर्यवेक्षणले होण्डुरस संसारमा वातावरण संरक्षणवादीको निम्ति सबभन्दा डरलाग्दो देश भएको देखाएको थियो । सन् २०१० यता नदी, जङ्गल र भूमि संरक्षण गर्ने प्रयासका क्रममा कम्तीमा १२० जना होण्डुरियाली संरक्षणवादीहरूको हत्या भएको थियो ।
होण्डुरस संगठित अपराधको डफ्फा ‘मारास’ (गुण्डादल) को आक्रामकताका कारण उच्च अपराध दरको लागि कुख्यात देश पनि हो । ती सङ्गठित अपराधका डफ्फा उच्चपदस्थ प्रहरी र सरकारी अधिकारीहरूको नियन्त्रणमा हुने गर्दछन् । भूमि र लागूपदार्थमाथि आफ्नो नियन्त्रण कायम राख्न हुने लडाईंमा होण्डुरियाली युवालाई हतियारको रूपमा उनीहरूले प्रयोग गर्ने गरेका छन् । अवसरको अभावमा धेरै होण्डुरियाली युवाहरू मारासमा संलग्न हुन बाध्य छन् । धेरैजसो अवस्थामा युवाहरूलाई ती गुण्डादलमा लाग्न विवश बनाइन्छ । सामान्यतः मारासले आफ्नो आदेश नमान्ने वा आफ्नो दल छोड्न खोज्नेलाई मार्ने नीति अङ्गालेको हुन्छ । त्यसकारण पनि धेरै मानिस होण्डुरस छोडिरहेका छन् ।
प्रणालीगत भ्रष्टाचार, भयावह स्वास्थ्य प्रणाली र सरकारी लगानी अत्यन्त न्यून रहेको शिक्षा क्षेत्र नै होण्डुरसका बहुमत जनताको जीवनलाई अनिश्चित बनाउने प्रमुख कारण हुन् । होण्डुरसमा आजसम्म शासन चलाएका अनुदारवादी सरकारहरू र संरा अमेरिका नै यस्ता नीतिका लागि जिम्मेवार छन् । होण्डुरसको अर्थतन्त्र, राजनीति र सैनिक क्षेत्रमा संरा अमेरिकाको प्रभाव बलियो हुँदैआएको छ । सन् २००९ को सत्ताविप्लव र प्रजातन्त्रको हत्यापश्चात् विदेशी कम्पनीलाई होण्डुरससँग भएका स्रोत बिक्री गर्ने, विदेशी पुँजीका परियोजनाको रक्षा गर्न होण्डुरसमा अझ बलियो सैनिक सुरक्षा बनाउने एवम् शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी गर्दै आएको बजेट अन्यत्र मोडेर देशका शासकवर्गको खल्ती भर्ने काम हँुदै आएको छ ।
आगामी केही दिनमा संरा अमेरिकातिर लस्कर बनाएर हिंडिरहेका हजारौं होण्डुरियाली जनताले अझ थप कठिनाईको सामना गर्नुपर्नेछ । होण्डुरियाली आप्रवासी जनताको यो दुरावस्था संरा अमेरिकाको विरोधाभासी नीतिको सबभन्दा उपयुक्त उदाहरण हो । उसको यस्तै नीतिका कारण धेरै देशका जनताको जीवन यस्तै भयावह बन्दै गएको छ । तर विडम्बना ¤ जसले यो अवस्थाबाट मुक्ति खोजिरहेका छन्, उनीहरूलाई नै कारबाही गरिंदैछ, सजायको भागीदार मानिंदैछ ।
गएको अप्रिलमा पनि एक हजारजना मानिस सम्मिलित मध्यअमेरिकी आप्रवासीको अर्को मानवलस्करले पनि ट्रम्प र संरा अमेरिकी अधिकारीहरूका यस्तै दमनको सामना गर्नुपरेको थियो । उनीहरूलाई शरणको लागि आवेदन दिने हरेक मौकाबाट वञ्चित गरिएको थियो ।
(पिपुल्स डिसप्याचमा अक्टोबर २३ मा प्रकाशित प्रस्तुत लेख अनलाइन मन्थ्ली रिभ्युले साभार गरेको थियो । अनलाइन मन्थ्ली रिभ्युबाट नेपाली भाषामा अनुदित ।)
नेपाली अनुवादः नीरज
Leave a Reply