भर्खरै :

क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

भक्तपुर, १६ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ को प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले विद्यालयहरू क्रान्तिको बारूदखाना भएकोले विद्यार्थीहरूलाई सैद्धान्तिकरूपले तयारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
निजी मेडिकल माफियाहरूले डाक्टरको नाममा विद्यार्थीहरूसँग असुलेको खर्बौँ रकमको केही सहयोगबाट नै निर्वाचन जितेका ‘ठूला’ दलका नेताहरूले वास्तविकरूपमा जनताको सेवा नगर्ने प्रस्ट पार्नुहुँदै उहाँले शिक्षकहरूले बिरामी जनताको सेवा गर्ने डा. नर्मन बेथुन र डा. कोटनिसजस्ता निःस्वार्थी डाक्टरहरूबारे विद्यार्थीहरूलाई पढाउनुपर्छ भन्नुभयो ।
उहाँले शिक्षकहरूले जिम्मेवार भएर हरेक दिन विद्यार्थीहरूलाई पाठ्यपुस्तकबाहेक देशभक्तिपूर्ण भावना जगाउने तथा विस्तारवाद र साम्राज्यवादको विरोधमा जानकारी दिनुपर्छ भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘निर्मला बलात्कारपछिको हत्याका दोषी पत्ता नलाग्नुमा सरकार नै जिम्मेवार छ । प्रधानमन्त्री अहिले ठूलो प्रेसरमा हुनुहुन्छ । त्यसैले सो घटनाबारे प्रधानमन्त्री मौन हुनुहुन्छ ।’’
‘‘पाठ्यपुस्तकमा भएका हरेक विषयवस्तुलाई माक्र्सवादी आँखाबाट केलाई सही ज्ञान विद्यार्थीहरूलाई दिन शिक्षकहरू अग्रसर हुनुपर्छ’’, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले संविधानतः विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गरिए तापनि निजी विद्यालयलाई यथावत् राखेर जनतालाई धोखा दिएको प्रस्ट पार्नुभयो ।
जन्मको आधारमा नागरिकता दिने नागरिकता विधेयकले गर्दा लाखौँ भारतीयहरूले नागरिकता पाएको प्रस्ट पार्नुहुँदै नेपाल–भारत खुला सिमानाका कारण नेपालको सीमा अतिक्रमण भइरहेको उहाँले बताउनुभयो ।
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले पुँजीवाद आक्रामक हुँदै गइरहेको वर्तमान समयमा समाजवादी विचारलाई थप उचाइमा पु¥याउन शिक्षकहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, कुसंस्कार अन्त्य गर्न समाजवादी विचार बोक्ने हरेक कार्यकर्ताहरू प्रतिबद्ध हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
प्रदेश नं. ३ का सांसद सृजना सैंजूले नेपालका ९९ प्रतिशत समस्या भारतीय एकाधिकार पुँजीको कारण सिर्जित भएको उल्लेख गर्नुहुँदै भारतबाट कोरिएको नेपालको नक्सामा पहिलाको भन्दा १० हजार वर्ग किलोमिटर कम उल्लेख भएको बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय संयोजक ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्य, कृष्णबहादुर तामाङ, नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवाल, शिक्षक सङ्घका केन्द्रीय सदस्य पवित्राकुमारी शाहीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *