भर्खरै :

मुटु र फोक्सो उपचारमा सफलता

 डा. सम्पूर्णमान तुलाधार
मेरो आफ्नै मामा पे्रमबहादुर कसाः हुनुहुन्छ । उहाँ स्वयं एकजना लेखक हुनुहुन्थ्यो । तर म आज यहाँ भाषाको कुराभन्दा पनि विज्ञानको कुरा राख्न चाहन्छु ।
मुटु र मुटुरोग सम्बन्धमा भक्तपुरमा हामीले के कति काम गरेका छौं र कस्ता उपचार हामीले उपलब्ध गराइरहेका छौं भन्नेबारेमा थोरै कुरा राख्नेछु ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई अहिले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भनी पुनःनामकरण गरिएको छ । प्रत्यारोपण केन्द्रमा ४–५ जना मानिसमा मृगौला प्रत्यारोपण भइरहेको छ । त्यो भनेको धेरै हो । अरू अस्पतालहरूमा पनि प्रत्यारोपणको काम भइरहेका छन्, तर प्रत्यारोपण केन्द्रमा अलि बढी सङ्ख्यामा भइरहेको छ । मृगौलाबाहेक सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा कलेजोको प्रत्यारोपण पनि भइसकेको छ । तीन जना व्यक्तिमा सफल कलेजो प्रत्यारोपण भइसकेको छ । अरू कुनै अस्पतालले यो सफलता हासिल गरेको छैन । भारतमा गएर कलेजो प्रत्यारोपण गराउँदा एक जना बिरामीले २० देखि ५० लाखसम्म पैसा खर्च गर्ने गरेका छन् । अब त्यस्तो प्रत्यारोपण हाम्रै ठाउँमा भइरहेको छ ।
मेरो विशेषज्ञता मुटु र फोक्सोमा हो । प्रत्यारोपण केन्द्रका निर्देशकज्यूले मुटु र फोक्सोको उपचारमा सहयोग गर्नुप¥यो भनी आग्रह गर्नुभयो । म सुरूमा आउँदा अक्सिजनको लाइन पनि कहीं बन्दोबस्त भइसकेको थिएन । यसो हेरें, नजिकै भक्तपुर अस्पताल, क्यान्सर अस्पताल अनि सँगै ब्लड बैड्ढ देखें । अनि लाग्यो, यहाँ पक्कै केही गर्न सम्भव छ । एक वर्षसम्म अक्सिजनको लाइनदेखि तालिम अनि आइसीयूसम्मको व्यवस्थाको लागि निकै मिहिनेत गर्नुप¥यो । पाइला पाइला गर्दै काम अघि बढ्यो ।
डेढ वर्षअघि गंगालाल हृदयरोग केन्द्रमा जसरी मुटुको भल्भ खोलेर शल्यक्रिया दिंदै आएको छ, त्यस्तै शल्यक्रिया हामीले सुरू ग¥यौं । मुटुसम्बन्धी विशिष्ट उपचारको लागि सरकारले रु. ६ करोडको सामान बन्दोबस्त गरेपछि यहाँ क्याथल्याव पनि बन्यो । मुटुको शल्यक्रिया गर्दा मुटु बन्द गरेर काम गर्नको लागि एक करोड बराबरको उपकरणको आवश्यकता पर्दछ । तर उपकरणमात्र भएर पुग्दैन । त्यसको लागि विशेषज्ञहरू पनि आवश्यक हुन्छ । विशेषज्ञहरू पनि जम्मा गर्दै गयौं । अहिलेसम्ममा हामीले चौध वटा ओपन हार्ट सर्जरी (मुटु खोलेर गरिने शल्यक्रिया) सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । गंगालाल अस्पतालमा भइरहेका शल्यक्रिया अहिले यहाँ भइरहेका छन् । एन्जिओग्राम सुवा पनि यही उपलब्ध छ ।
तर समस्या के भइदियो भने, काठमाडौंमा बस्ने विशेषज्ञहरू दैनिक भक्तपुर आवतजावत गरेर काम गर्न उनीहरूको आयस्रोत नै पुग्ने गरेको छैन । त्यही भएर यहाँ काम गरिरहेका धेरै चिकित्सकहरूले छोडेर गएको अवस्था छ । यहाँ छ करोडको सामान हामीसँग छ तर विशेषज्ञलाई भने हामीले राख्न सकिरहेका छैनौँ । तर हामी केही गरेरै छाड्ने प्रतिबद्धताका साथ काम गरिरहेका छौँ ।
अमेरिकाका विभिन्न संस्थालाई पनि पत्राचार गरेर हामीले सहयोग जुटाएका छौँ । अमेरिकी विशेषज्ञहरू नेपाल आएर पनि सहयोग गरिरहेका छन् । यसमा कतिपय काम हाम्रो व्यक्तिगत पहलमा पनि भएका छन् । यो काममा हामीलाई तपाईंको सहयोगको खाँचो छ । भोलि तपाईंलाई अचानक हृदयघात भएर काठमाडांैसम्म पुग्न नसक्नु होला । कोटेश्वरको जाममा परेर बीचमै मर्नुपर्ने हुनसक्छ । हामी यो सेवा यही उपलब्ध गराउन प्रयास गरिरहेका छौँ । नेपालमै पहिलो पटक एकोग्राफीको नर्सहरूलाई हामीले तालिम दिएका छौं । तिनै तालिम प्राप्त नर्सहरूलाई परिचालन गरी भक्तपुरका टोल–टोलमा सर्वसाधारणको स्वास्थ्य जाँच गराउन सक्छौँ । हामीसँग अझ विशेषज्ञ पुगेका छैनन्, तर हामी मिहिनेत भने गरिरहेका छौँ ।
मुटुमात्र होइन, हामीले फोक्सोको उपचार पनि थालेका छौँ । फोक्सो उपचारको लागि आवश्यक धेरै उपकरण पनि हामीले जम्मा गरिसकेका छौँ । हामीले दस–बा¥ह जना फोक्सो क्यान्सरका विद्यार्थीको उपचार गरिसकेका छौँ । दस–बा¥ह भनेको त्यत्ति ठूलो सङ्ख्या होइन । तर नेपालमा राम्ररी मानव छात्ती खोलेर उपचार गर्नसक्ने चिकित्सक नौ जनाभन्दा बढी छैनन् । नेपालका ठूला भनिएका सहर पोखरा, विराटनगर, भैरहवा, वीरगञ्ज कहीं पनि त्यस्ता चिकित्सक छैनन् । कहीं लडेर छात्तीमा रगतमात्र जमे पनि हेलिकप्टरमा राखेर काठमाडांैमै ल्याउनुपर्ने बाध्यता छ । यसरी छात्ती खोल्न सक्ने विशेषज्ञ चिकित्सकमध्ये दुई जना यहीं भक्तपुरमा सेवारत हुनुहुन्छ । अनि सँगै आवश्यक सामान पनि छ ।
फोक्सोको क्यान्सरको विश्वमै तीस प्रतिशतमात्र समयमै पत्ता लाग्ने गरेको छ । नेपालमा त तीन प्रतिशत फोक्सोको क्यान्सर समयमै पत्ता लाग्ने गरेको छ । हप्तामा दुई तीन जना बिरामीको परिवार मकहाँ आएर सीटी स्क्यान देखाएर केही गर्न सकिन्छ कि भनी सोध्छन् । तर बिरामीको अवस्था केही गर्नसक्ने अवस्थामा रहँदैन । क्यान्सर तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ । समयमै पत्ता नलाग्ने भएकाले फोक्सोको सर्जनको नेपालमा खासै काम नै छैन । त्यसकारण पनि जम्मा नौ जनामात्र चिकित्सक नेपालमा भएको हुनुपर्दछ ।
विशेषज्ञ थप्न हामीले सबैतिर भनिरहेका छौं । कसरी ल्याउने हो, सबै त मलाई थाहा भएन । तर नल्याई भएन ।
गंगालाल हृदयरोग केन्द्रपछि मुटुुसम्बन्धी उपचार गर्ने स्वास्थ्य केन्द्र मनमोहन हृदयरोग केन्द्र खोल्न दस वर्ष कुर्नुप¥यो । त्यसपछि यो सेवा सुरू गरेको अङ्ग प्रत्यारोपण केन्द्रले नै हो । मुटुको उपचारको सेवा दिन चितवनका दुई वटा अस्पतालले पनि कोसिस गरे । पाँच वर्षसम्म लागेर करोडौं खर्च पनि गरे । तर भएन । असफल भए । धरान र धुलिखेल अस्पतालमा पनि यो सेवा प्रदान गर्न प्रयास गरे । तर चुस्त तरिकाले काम गर्न सकेनन् । भक्तपुरको यो कार्यक्रम पनि कदाचित असफल भए अर्को धेरै समय लाग्नेछ, यो सेवा फेरि सुरू गर्न । धेरै धेरै विशेषज्ञहरूको सामूहिक विशेषज्ञताबाट मात्र यो काम सम्भव हुने हो ।
(कार्तिक ४ र ५ गते सम्पन्न ३८ औं नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन मुटुरोग विशेषज्ञ डा. सम्पूर्णमान तुलाधरले दिनुभएको मन्तव्यको सार– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *