भर्खरै :

छाउपडी प्रथा र महिला अधिकार

 सुनिता गाईसी
नेपाल बहुजाति, बहुभाषी, बहुसंस्कृति भएको प्राकृतिक रुपमा पनि सुन्दर मुलुक हो । यस्तो सुन्दर नेपालमा विभिन्न किसिमका कुरीति र कुसंस्कारले समाजलाई भित्र भित्रै खोक्रो बनाइरहेको छ । यस्तैमा छाउपडी प्रथा पनि एक हो । महिलाहरू महिनावारी (Menstrual period) अवधिभर घरमा नबसी घरभन्दा अलिपर जङ्गलनजिकै सानो छाप्रो (छाउगोठ) बनाई बस्ने गर्दछ । यस्तो प्रथा नेपालको सुदुरपश्चिम र मध्य पश्चिमका विभिन्न जिल्लाहरूमा व्याप्त रहेको छ अझ बढी अछाम जिल्लाका महिला छाउपडीमा बस्दछन् ।
यहाँका स्थानीयका अनुसार महिनावारी भएका बेला महिलाहरू असुद्ध हुन्छन् त्यसैले घरमा हुने दैनिक कार्यहरू, पुजापाठ, भान्छा, भण्डारको काममा ती महिला सहभागी भएमा देवता रिसाउँछन् र अनिष्ट हुन्छ भन्ने मान्यतामा आज पनि बाँच्दैछन् । पहिलोचोटि महिनावारी हुँदा १०÷११ दिन छाउगोठमा बस्दछन् तर पछि उनीहरू ४÷७ दिन मात्र बस्ने गर्दछन् । यसरी छाउगोठमा बसुञ्जेल ती महिलाहरूले पोषिलो खाना जस्तैः दुध, दही, नौनी, मासु र अन्य पोषिला खानेकुरा खानुहँुदैन भन्ने मान्यता छ ।
छाउगोठमा बसेको अवधिभर ती महिलाहरूले सुख्खा खानेकुरा जस्तैः रोटी र नुन मात्रै खानुपर्दछ भन्ने अन्धविस्वासमा त्यहाँका मानिसछन् । अरु पनि विभिन्न कुराहरू मा छाउगोठमा बस्ने महिलालाई बन्देज लगाइएको छ जस्तैः छाउगोठमा बस्ने महिलाले तातो न्यानो व्ल्याङकेट पनि प्रयोग गर्नुहुँदैन बरु जुटबाट बनेको सानो रग मात्र प्रयोग गर्नुपर्दछ । साथै महिनावारी अवधिभर स्कुल जान पनि पाउँदैनन् यदि कसैले स्कुल गई किताब कापी छोएमा सरस्वती माता रिसाउँछिन् भन्दछन् । दैनिक रुपमा नुहाउन पनि रोक लगाइन्छ । छाउगोठहरू सामान्य हिसाबले बनाइएको हुन्छ । त्यसैले यसमा राम्रोसँग हावा र प्रकाश आवात जावत हँुदैनन् । त्यसैले छाउगोठमा बस्ने महिलाहरू निमोनिया, झाडापखाला इत्यादि रोगका शिकार हुन्छन । साथै धेरै महिलाहरू त छाउगोठमा सर्पले टोकेर मरेका घटनाहरू पनि सुन्निन्छ ।
आजको आधुनिक युगमा विकसित राष्ट्रका महिलाहरू पुरुषसरह काँधमा काँध मिलाएर उच्च पदमा रही आफनो जिम्मेवारी कुशलतापुवर्क बहन गरी आफनो छुट्टै पहिचान बनाउन लागिपरेका छन् भने हामी अझै पनि अन्धविस्वासमा आफनो भाग्यलाई सरापिरहेका छौं ।
छाउपडी प्रथाले गर्दा धेरै महिलाहरूले आफनो ज्यान गुमाउनु परेको छ । कतिपय महिलाहरू महिनावारी सारापको कारणले गर्दा भएको ठान्छन् तर वैज्ञानिक रुपमा हेर्न हो यो महिलामा हुने नियमित शारीरिक प्रक्रिया हो । यदि महिलाहरू महिनावारी नहुने हो भने सन्तान नै जन्मिँदैनन् ।
छाउपडीलाई सर्वोच अदालतले २००५ देखि नै हटाईसकेको छ । तर जनमानसमा अहिले पनि देवता रिसाउँछन भनि छाउगोठमा बस्नेको सङ्ख्या धेरै छ । यदि कसैले कसैलाई छाउगोठमा बस्न बाध्य बनाएमा सो व्यक्तिलाई ३ महिनाको जेल सजाय र ३००० रुपैयाँ जरिवानाको सजाय तोकेको छ । तर यो कानुनी प्रावधान व्यवहारमा लागू हुन सकेको छैन । यसरी नेपाली समाजलाई छाउपडी जस्ता प्रथाले भित्र–भित्र खोक्रो पारेको छ । यस्ता कुप्रथाले महिलाहरू झन झन पछाडि परेका छन् । जबसम्म महिलाको विकास हुन सक्दैन तबसम्म सम्मुनत समाजको निर्माण गर्न सकिंदैन । त्यसैले महिला अधिकारको नारा मात्र लगाएर महिलाहरूले अधिकार पाउँदैनन् । समाजमा व्याप्त कुप्रथालाई हटाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *