भर्खरै :

के पदमुक्त स्थापितको आक्रोश सेलाउँछ ?

–मेरिना शाक्य
मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार एवं विकासमन्त्री केशव स्थापितलाई मन्त्री पदबाट निलम्बन गरेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चाको विषय बन्योे । विकासमन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई मनपरी गाली गरेको, स्थापित यौन काण्डमा भुलेको र प्रदेश ३ को राजधानी हेटांैडा अन्य जिल्लामा सार्ने विषयमा विवाद चर्केर तँछाडमछाड हुँदाको परिणाम स्थापित मन्त्रीको जागिर गुमेको खबर एक कान दुई कान मैदान भइरहेको छ । पदमुक्तको खबरसँगै नेकपामा पनि ढ्याङ्ग्रो ठोकेको छ ।
एक थरीले केशव स्थापितमाथि गरिएको कारबाही समयमै भयो, ठिक्कै भयो भने । अर्को थरीको मत सानातिना मतभेद हुँदैमा मन्त्री पद खानैपर्ने हो र भन्ने रह्यो । पौडेल पक्ष र स्थापित पक्षबारे पार्टीभित्र देखिएको विवाद चरमोत्कर्षमा पुग्ने हो वा कहीं गएर थन्किने हो वा सेलाउने हो ? त्यो समयले देखाउनेछ । विकासमन्त्री स्थापितमाथि समयमै कारबाही नभएको भए अझ बढी नकारात्मक टिप्पणी आउने अभिमत र मुख्यमन्त्रीको मनोमानीविरुद्ध प्रदेशसभा र पार्टीभित्र सशक्त आवाज उठाउने स्थापितको चेतावनीले एउटै दलका प्रदेशका मन्त्रीहरूको आरोप प्रत्यारोप सतहमा आएको छ ।
स्थापितलाई पदमुक्त गर्न मुख्यमन्त्री पौडेलले नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग पनि परामर्श लिएको सञ्चारमाध्यममा आएको छ । मन्त्री स्थापितलाई किन निलम्बन गरिएको हो ? प्रदेश सरकारले जनतामा सु–सूचित पार्नुपर्छ । सरकारले ल्याएको प्रस्तावमा कुनै मन्त्री या सांसदले आफ्नो राय दिन पाउँछन् तर आफ्नो राय नै मान्य हुन्छ भन्ने होइन । त्यस्तो बेला बहुमतको निर्णय हुन्छ । अल्पमतको प्रस्ताव असफल भयो भनेर आवेशमा बोल्ने र मनपरी गाली गर्ने होइन । मन्त्री स्थापित कस्ता स्वभाव या चरित्रका हुन् भन्ने कुरा के नेकपालाई पहिल्यै थाहा थिएन ? उनको स्वभाव र चरित्र थाहा पाउँदा पाउँदै उनलाई किन प्रदेश मन्त्री बनाइयो ? के कुनै व्यक्तिको स्वभाव र चरित्र नै थाहा नपाइकन मन्त्री बनाउन मिल्छ ? के यो सत्तारुढ दल नेकपा र सरकारको कमजोरी होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *