भर्खरै :

सबै भाषा र संस्कृतिको संरक्षण आवश्यक

मध्यपुर, २२ कार्तिक । गएका बीस वर्षदेखि लगातार मध्यपुर ठिमी नगरपालिका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षको पहिलो दिन हुँदै आएको विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम बिहीबार बोडेको विष्णुघाट टोलमा भयो ।
कार्यक्रमको उद्घाटन बोडेका बाजा गुरू बुद्धिकुमार सिपाईले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालका सबै जाति र भाषा संरक्षण गर्ने साहित्य आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘काठमाडौं उपत्यकामा जनसङ्ख्या केन्द्रित गरेर देशको सन्तुलित विकास हुँदैन । दू्रतमार्गको नाममा खोना र बोङ्गाजस्ता सम्पदा विनाश गर्नुहुँदैन ।’’
संरा अमेरिकी साम्राज्यवादले आफूलाई आर्थिक र राजनीतिक चुनौति बन्ने देशविरुद्ध धम्की, नाकाबन्दी र आक्रमण गरिरहेको हुँदा यसविरुद्ध विश्वका न्यायप्रेमी जनता र नेमकिपाले पनि विरोध गरिररहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सार्वजनिक कमलपोखरी, पर्ती जग्गा, जङ्गल व्यक्तिको नाममा दर्ता भएको खारेज गरी त्यसका अपराधीहरूलाई कारवाही गर्नुपर्दछ ।’’
नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति राजनीतिज्ञहरूको हातमा हुनुपर्नेमा जोड दिंदै भन्नुभयो, ‘‘ठेकेदार, तस्कर, गुण्डाहरूको हातमा राजनीति परेको हुँदा देशले आजको दुर्दशा भोग्नुपरेको हो ।’’
मन्त्रीहरूले ध्यान देशको विकासभन्दा आफ्नौ निर्वाचन क्षेत्रमा सीमित रहेको र प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने कार्यमा भूमाफियाहरू सक्रिय रहेको चर्चा गर्दै प्रमुख प्रजापतिले रङ्गशाला बनाउने नाममा खेतीयोग्य जग्गा सिध्याएर यहाँका रैठाने जनताहरूलाई विस्थापित गर्ने षड्यन्त्र हो भन्नुभयो ।
संविधानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको छुटाछुटै अधिकार उल्लेख गरिए पनि हालसम्म ऐन नबन्नुमा शासक दलहरू दोषी रहेको र अझै पनि शासक दलहरूमा केन्द्रीकृत शासन सत्ताको मानसिकता रहेको उहाँले बताउनुभयो ।
विकास निर्माणको बजेट स्थानीय निकायमा पठाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रमुख प्रजापतिले कर्मचारी र बजेट केन्द्रमै थुपार्ने नीति सङ्घीयताको भावनाविपरीत हो भन्नुभयो ।
संविधानमा समाजवाद उन्मुख राज्य उल्लेख गरिएकोले शिक्षा–स्वास्थ्य निःशुल्क र सर्वसुलभ हुनुपर्नेमा जोड दिंदै उहाँले देशको कला–संस्कृति–भाषा र सार्वजनिक सम्पत्तिको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विकास एवं निर्माण कार्य ठेक्कापट्टाबाट होइन स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फ गराउँदा गुणस्तरीय निर्माण हुनुको साथै संरचना बलियो हुने भनपाको अनुभव रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद अनुराधा थापामगरले राज्यले देशका सबै भाषाको संरक्षण गर्न ध्यान दिनुपर्ने र कुनै पनि खाले पक्षपात ठीक नभएको बताउनुभयो । उहाँले सम्पूर्ण जनतालाई निःशुल्क र अनिवार्य शिक्षा, निःशुल्क स्वास्थ्य, व्यक्तित्व विकासमा समान अवसरको बन्दोबस्त भएमात्र समाजमा आमूल परिवर्तन सम्भव भएको बताउनुभयो ।
उहाँले शासक वर्गले वर्गीय मुद्दालाई ओझेलमा पार्न पनि भाषिक, क्षेत्रीय र जातीय मुद्दालाई उछालिरहेको चर्चा गर्दै देशमा वर्ग सङ्घर्ष कमजोर बनाउन उर्जाशील र विद्रोही युवाहरूलाई शासक दलले विदेशिन बाध्य बनाएको प्रष्ट पार्नुभयो ।
थापामगरले नेपालमा आज नक्कली कम्युनिष्टहरूले शासन चलाइरहेको हुनाले अन्धविश्वास, महिला हिंसा, बलात्कार, महिला बेचविखनजस्ता समस्या अझै हल हुन नसकेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश संसदका सदस्य सुरेन्द्रराज गोसाईले जनताको सङ्घर्षमा उत्साह थप्ने साहित्य नै प्रगतिशील साहित्य हुने र जनतालाई निराश र हतोत्साहित बनाउने साहित्य प्रतिक्रियावादी साहित्य हुने विचार राख्नुभयो ।
जनताले बनाएका साहित्यिक–सांस्कृतिक दबुमा प्रगतिशील साहित्यलाई ठाउँ दिनुपर्ने र प्रतिक्रियावादी साहित्यले पु¥याउन हानीबारे जनतालाई सचेत बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
प्रदेश सभामा नेमकिपाले प्रखर प्रतिपक्षको भूमिकामा रहेर शासक दलका गल्ती कमजोरी उदाङ्ग्याउने र विरोधमा सङघर्ष गर्ने दायित्व निभाइरहेको उहाँले बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सिर्जना सैंजूले प्रदेशमा बहुमत भएका शासक दल आपसी मतभेदका कारण जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको विचार राख्नुभयो । शासक दलका सांसदहरूसँग व्यापक जनता र देशको हितमा कुनै प्रस्ताव नभएको बरू आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र सांसद बनिरहेको उहाँले बताउनुभयो ।
लेखक लक्ष्मण राजवंशीले नेपालका शासक दलका नेताहरू मामाघर र ससुरालीभन्दा बढी भारतका दरबारहरू चहार्ने गरेको बताउनुभयो । फिजीमा आदिवासी जनता अल्पसङ्ख्यामा परी राजनीति भारतीय आप्रवासीको हातमा गएको ऐतिहासिक प्रसङ्गबारे चर्चा गर्दै उहाँले नेपाली शासक दल सहज नबन्दा नेपालले पनि फिजीको नियति भोग्ने दिन आउन सक्ने बताउनुभयो ।
कुष्ठरोग विशेषज्ञ डा.इन्द्रबहादुर नापितले छाला रोग र कुष्ठरोगबारे जानकारी दिंदै नेपालका कुनै पनि अस्पतालमा कुष्ठरोगसम्बन्धी उपचार र औषधि निःशुल्क हुने बताउनुभयो ।
सम्मेलनमा लेखक कृष्णकुमार वैद्य, सुधिर ख्वबि, बसन्त नकर्मी, तेजकृष्ण प्रजापतिलगायतका कवि र लेखकहरूले आ–आफ्ना साहित्य वाचन र कलाकार सुरवीर पण्डितले आफ्ना धारणा राख्नुभयो ।
निलबाराही गं प्याखँका गुरू बाबुकाजी भिन्दुवालाई नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विविध भाषा साहित्य सम्मेलनमा लगातार योगदान गर्नुभएका चन्द्रकृष्ण साहुखल र प्रेमकृष्ण थापालाई मरणोप्रान्त सम्मान गरिएको थियो ।
सम्मेलनमा विविधभाषा साहित्यिक समाजका अध्यक्ष सुर्यराम श्रेष्ठ, आयोजक समितिका संयोजक पे्रम के निडर, कोषाध्यक्ष मिना चक्रधर, सचिव सुरेन्द्र थाले पनि बोल्नुभएको थियो । सम्मेलन समाजसेवी तथा शिक्षासेवी रुद्रकुमार साहुखलको सभापतित्वमा भएको थियो ।
सम्मेलनमा कविता विधाअन्तर्गत मदन श्रेष्ठ प्रथम, आकाश मानन्धर द्वितीय र शिवप्रसाद श्रेष्ठ तृतीय हुनुभयो भने कथा विधातर्फ एचएस सुवालले सान्त्वना पुरस्कार जित्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *