भर्खरै :

६ महिनादेखि देशमा टीटी खोपको अभाव

काठमाडौं, २५ कार्तिक । दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पु¥याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ ।
करीब ६ महिना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन । भारतको आन्तरिक समस्याको कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । टिटानस रोगविरुद्धको भ्याक्सिन (टीटी खोप) को वैकल्पिक व्यवस्था नहुँदा सयौैँ बिरामी प्रभावित हुन पुगेका छन् । सरकारी तवरबाट अन्य धेरै खोपको निःशुल्क व्यवस्था भए पनि टीटीको भने भ्याक्सिन आपूर्तिको व्यवस्था छैन ।
अहिले नेपालमा मागको १० प्रतिशत पनि भ्याक्सिन आयात हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग खपतको यकिन तथ्याङ्क नरहेपछि निजी वितरकका अनुसार मासिक करीब दुई लाख ४० हजार एम्पुल भ्याक्सिन खपत हुने अनुमान छ ।
काठमाडांैका विभिन्न औषधि पसलमा पुग्दा केही पसलमा पुरानो मौज्दात भ्याक्सिन भए पनि अधिकांश औषधि पसल तथा फार्मेसीमा भ्याक्सिन थिएन । काठमाडौंको त्रिपुरेश्वर, थापाथली, मैतीदेवी, पुतलीसडकका सात औषधि पसलमा पुग्दा पाँच पसलमा खोप नआएको महिनौँ भएको पाइयो ।
तिहारअघि नर्भिक अस्पतालमा भ्याक्सिन नआएको महिना नाघेको थियो । देशका अन्य जिल्लामा समेत समस्या कायमै छ । काठमाडौं पोलिक्लिनिक थापाथलीका सञ्चालक पङ्कज मेहता टीटीजस्तो महत्वपूर्ण भ्याक्सिन नहुनु दुर्भाग्य हो भन्नुहुन्छ । लामो समयदेखि थोक बजारमै भ्याक्सिन नभएको मेहताले बताउनुभयो । निम्स फार्मेसी, थापाथलीका राजु श्रेष्ठ तीन महिनादेखि भ्याक्सिन सकिएको बताउनुहुन्छ ।
औषधि व्यवस्था विभागका अनुसार करीब ६ महिनादेखि नै टीटी खोपको अभाव छ । भारतबाट नेपालमा भ्याक्सिन निर्यात गर्ने
कम्पनी र भारत सरकारसँगको मूल्य निर्धारणमा भएको समस्याले नेपालमा भ्याक्सिन अभाव भएको हो ।
‘‘अभाव भएको ६ महिना भयो, हामीलाई खबर आएको भने एक महिना भयो, त्यसपछि हामीले अहिले छिटो आयात गर्न पहल गरिरहेका छौँ ।’’ विभागका सूचना अधिकारी सन्तोष केसी भन्नुहुन्छ, ‘‘विभागले बजारमा औषधि र औषधिजन्य पदार्थको नियमन गर्ने काम गर्दछ । उहाँका अनुसार केही अत्यावश्यक भनिएका ठाउँमा आएको भ्याक्सिन पठाउने गरिएको छ ।’’ बजारमा भ्याक्सिन अभाव भएको ६ महिना हुँदासमेत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी भने बजारमा भ्याक्सिन अभाव भएको भन्नेबारेमा जानकारी नभएको प्रतिक्रिया दिनुहुन्छ ।
भारतको सेरम इन्स्टिच्युट र बायोलोजिकल इन्भान्स कम्पनीले नेपालमा टीटी भ्याक्सिनको आपूर्ति गर्दै आएको छ । इन्भान्स कम्पनीबाट आयात गरेर मेडी सेल्सले र सेरमबाट आयात गरेर श्रीओम ब्रदर्शले नेपालमा भ्याक्सिन वितरण गर्दै आएको छ ।
मेडी सेल्सका प्रोप्राइटर श्रीबिन्दु राजभण्डारी भारतको कम्पनी पुनःनिर्माणमा रहेकोले भ्याक्सिन आपूर्ति गर्न नसकेको भन्दै मागको १० प्रतिशत पनि आपूर्ति हुन नसकेको बताउनुहुन्छ । केही आपूर्ति हुन थालेकाले अब भने वितरण सहज हुने आशा वितरकको छ ।
भारतको आन्तरिक समस्याले गर्दा अहिले शून्य दशमलव पाँच एमएलको भ्याक्सिन भने आएको छैन । अन्य ५०० एमएलको भने आइरहेको अधिकारी बताउनुहुन्छ । उहाँले यसको विकल्पका रुपमा टीडी (टिटानस डिप्थेरिया) भ्याक्सिन विकल्पको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।
नेपाल सरकार स्वास्थ्य सेवा विभागले अहिले गर्भवती आमा र बच्चाका लागि भनेर टीडी भ्याक्सिन दिन थालेको करीब चार वर्ष भयो । त्यसयता सरकारी तवरमा टीटी खोपको आपूर्ति भएको छैन । आमा र बच्चा दुवैका लागि भनेर टीडी वितरण भइरहेको विभागको आपूर्ति व्यवस्थापन शाखाअन्तर्गतको फार्मेसी अधिकृत बडेबाबु थापा बताउनुहुन्छ ।
यो धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको भ्याक्सिन हो । थापाका अनुसार सरकारी तवरबाट अहिले टीटी भ्याक्सिनको आपूर्ति बन्द छ । शाखाले अहिले बीसीजी, डीपीटी, ओपीभी, दादुरा, रुवेलाविरुद्धको भ्याक्सिन, टीडी, जेई, पीसीभी, आईपीभी खोप आपूर्ति गर्दै आएको छ । तर अत्यावश्यक मानिने टिटानसविरुद्धको भ्याक्सिन भने निजी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ ।
सो विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लोहनी आमा सुरक्षा कार्यक्रमअन्तर्गत टीटीको कुनै कार्यक्रम नभएकोले सरकारी तवरबाट वितरण नभएको बताउनुहुन्छ । यसको सट्टामा टीटी भ्याक्सिन सरकारले उपलब्ध गराएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *