भर्खरै :

माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने पुल

काठमाडौं, २५ कार्तिक । काठमाडौं महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशेपुल निर्माण गर्ने भएको छ ।
कामपाले यस वर्षको बजेटमा रु. १२ करोड नयाँ आकाशेपुल निर्माण गर्न छुट्याइएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताउनुभयो ।
यी दुईबाहेक अरु कुन स्थानमा आकाशेपुलको खाँचो छ भन्ने अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “माइतीघर र चाबहिलपछि अरु स्थानमा पनि त्यस्तो पुल निर्माण गरिनेछ ।” पहिलो चरणमा यी दुई स्थानमा आकाशेपुल निर्माण गरिनेछ । अन्य स्थानमा आवश्यकता हेरी निर्णयको तयारी भइरहेको छ । दुवै स्थानमा निर्माण गर्न लागिएको पुलको लागि नमुना तयार भइसकेको छ । छठलगत्तै निर्माणको लागि बोलपत्र आह्वान गरिने इञ्जिनीयर थापाले बताउनुभयो ।
चालू आ.व. मा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशेपुल निर्माण गर्ने कामपाले योजना बनाएको थियो । उपत्यकाकै सबैभन्दा बढी यात्रुले बाटो काट्ने सडकका रुपमा रहेको नयाँ बानेश्वर चोकमा भने तत्काल आकाशेपुल बनाउने योजना महानगरको छैन । प्रतिनिधिसभा भवन चोकमा नै भएकाले सुरक्षा खतरा हुनसक्ने भन्दै यस स्थानमा विकल्पको खोजी भइरहेको इञ्जिनीयर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सव–वे निर्माण गर्न सकिन्छ कि भन्ने हामीले छलफल गरिरहेका छौँ ।”
दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि कामपाले एक ठाउँबाट अर्काे ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो । ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने कामपाले जनाएको छ ।
आकाशेपुल बनाउने अन्य सम्भावित स्थानका रुपमा टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोक रहेको छ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ ।
पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी चापको अवस्था देखिंदै आएको छ । इञ्जिनीयर थापाले भन्नुभयो, “एकातिर पैदलयात्रुलाई बाटो काट्न सजिलो हुन्छ भने अर्काेतिर ट्राफिक व्यवस्थापन सहज हुनेमा शङ्का छैन ।”
अब बन्ने सबै पुलमा विज्ञापन राख्न पाइने छैन । विज्ञापन राख्न नमिल्ने गरी नै आकाशेपुलको ढाँचा तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशेपुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो । सहरको सुन्दरतालाई ध्यान दिंदै कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ । यसअघि स्थानान्तरण गर्न सकिने पुल पहिलो पटक परीक्षणका रुपमा पुरानो बसपार्क अगाडि बनेको थियो ।
अहिले कामपाभित्र सुनधारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशेपुल सञ्चालनमा छन् । रत्नपार्कमा एउटा सव–वे छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ ।
वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण
कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उहाँले बताउनुभयो । सबै पुराना पुल मर्मतको लागि पनि महानगरले समन्वय गरिरहेको छ ।
कामपाले चालू आ.व. २०७५÷७६ को लागि रु. १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु. चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *