नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
मोतिलाल
भक्तपुर नगरपालिकाबारे उठेका टिप्पणीहरूमध्ये सम्पत्ति करमाथि मजदुर दैनिकमा कार्तिक २८ गते प्रतिक्रिया दिनुभएकोमा ‘एक जनप्रतिनिधि’ लाई धन्यवाद दिन चाहन्छु । साथसाथै देशका स्थानीय तहहरूमध्ये भक्तपुर नगरपालिकामा करको दर सबैभन्दा महँगो होइन भनी ज्ञानको सीमा बढाइ दिनुभएकोमा ‘एक जनप्रतिनिधि’ मार्फत मेयरसाबलाई हार्दिक धन्यवाद ! तर ‘यथार्थभन्दा फरक पारी जनमानसमा भ्रम फैलाउने उद्देश्यले प्रचारप्रसार गरेको’ टिप्पणीको प्रतिरोधमा लेखिएको प्रतिक्रिया आफै तथ्यभन्दा बाहिर गएकोले यो प्रतिटिप्पणी लेख्नुपर्ने भयो । ‘सम्पत्ति करबारे केही कुरा’ प्रतिक्रियामा ‘एक जनप्रतिनिधि’ ले प्रस्तुत गरेको तालिकामा भक्तपुर नगरपालिकाकै करको न्यूनतम दर अङ्क लुकाइएको छ भने अन्य नगरपालिकाको दुई गुणासम्म बढाई करको दर अङ्क देखाइएको छ । यसकारण फेरि पनि मेयरसाबको ध्यानाकर्षणको लागि यो प्रतिटिप्पणी उठाउनु अपरिहार्य देखिएको छ ।
व्यक्ति आफैमा सम्पूर्ण हुँदैन । यसकारण समूह चाहिन्छ र छलफल चाहिन्छ । छलफलले नै विषयवस्तुलाई सही निष्कर्षमा पु¥याउँछ । आफूलाई थाहा नभएको विषयवस्तु कसैले बोल्यो भन्दैमा आफू अपमानित महसुस गर्नुपर्दैन । जीवनमा ज्ञानको सीमा बढाउने एउटा अवसरकै रूपमा लिनुपर्दछ । भक्तपुर नगरपालिकाको करको दर महँगो भएको सम्बन्धमा पनि टिप्पणी गर्नुअघि देशका सात सयभन्दा बढी स्थानीय तहहरूको करको दर नियालिसक्नुपर्ने ‘एक जनप्रतिनिधि’ को पवित्र भावना गलत होइन । उहाँले मेरो र भक्तपुर नपामा करको दर महँगो भएको टिप्पणी गर्ने सबैको ज्ञानको सीमा बढाइ दिनुभएको छ । उहाँको कडा मेहनतलाई प्रशंसा र कदर गर्नैपर्छ । वरपरका नगरपालिका र सालाखाला नगरपालिकाहरूको करको दरमा तुलना गर्नै अप्ठ्यारो हुने गरी भक्तपुर नगरपालिकाको करको दर बढेको यथार्थलाई थप प्रस्ट पार्न ‘एक जनप्रतिनिधि’ को प्रयासले पनि सहयोग गरेको छ । हुन त भक्तपुर नपाभन्दा महँगो भनी देखाउन खोजिएको विराटनगर र जनकपुर नपामा भन्दा अरु पनि एकाध महँगो करको दर भएका नपा होलान् तर त्यो सामान्य जनता वा करदाताको हिसाबले न्यायोचित छ वा छैन भन्ने अर्को मूल्याङ्कनको विषय हुनसक्छ ।
‘गलत सूचनाले जनतामा भ्रम सृजना गर्छ’ भन्ने तत्वबोध भएका ‘एक जनप्रतिनिधि’ ले प्रस्तुत गरेको तालिका अध्ययन गर्दा के भक्तपुर नपाकै करको दरबारे सही सूचना दिइएको छ त ? सम्पति करमा भक्तपुर नपाको न्यूनतम करको दर कति हो ? ९०० रुपैयाँ नै हो ? तालिकामा त ३० लाखसम्मको ९०० रुपैयाँ नै मात्र देखाइएको छ । ३० लाखभन्दा कम सम्पत्ति भएकाहरूले तिर्ने न्यूनतम करको दर छ कि छैन ? भक्तपुर नपामा न्यूनतम सम्पत्ति करको दर अङ्क ३०० रुपैयाँ हो जुन १० लाखसम्म सम्पत्ति भएकाहरूले तिर्छन् तर यहाँ त्यो न्यूनतम अङ्क नै लुकाइएको छ । किन ? तालिका ठूलो हुन्छ भनेर हो कि ? एक लाइन (चयध) थप्दैमा पत्रिकामा नअट्ने त पक्कै नहोला । भक्तपुर नपामा भन्दा अन्य नपामा महँगो छ भन्ने प्रमाणित गर्नमात्र ध्यान दिंदा ३० लाखभन्दा मुनिको रकममा नगएको हो कि ? त्यसो हो भने यो पूर्वाग्रही हो कि होइन ? यसले भ्रम सृजना गर्छ कि गर्दैन ?
यहाँनिर ‘एक जनप्रतिनिधि’ ले यो तालिका आफै बनाएको हो कि कुनै कर्मचारीले तयार गरिदिएको हो ? भन्ने गम्भीर प्रश्न उठेको छ । कर्मचारीले तयार गरिदिएको भए ‘एक जनप्रतिनिधि’ मार्फत मेयरसाबलाई मेरो विनम्र अनुरोध यति मात्र हो कि विराटनगर र जनकपुरको सम्पत्ति कर दर एकपटक आफै हेर्नुहोला । यदि ‘एक जनप्रतिनिधि’ ले नै यो तालिका तयार गर्नुभएको हो भने जानीजानी भक्तपुरवासी र सारा पाठकहरूलाई दिग्भ्रमित पार्ने काम किन गरियो ? मेयरसाब कृपया एकपटक बुझिदिनुहोला ।
विराटनगर महानगरपालिकाको सम्पत्ति कर १०० रुपैयाँदेखि सुरु हुन्छ । १० लाखसम्मको १०० रुपैयाँ, २० लाखसम्मको २०० रुपैयाँ र ३० लाखसम्मको ४०० रुपैयाँ छ । तर तालिकामा एकैपटक ३० लाखसम्मको ७०० रुपैयाँ देखाइएको छ । तीन वटा लाइनमा देखाइएको अङ्कलाई एकैपटक जोडेर ७०० रुपैयाँ पु¥याइएको छ । जुन जोडिने अङ्क होइन । ‘हचुवा टीकाटिप्पणी गर्नाले… वजन बढ्दैन’ भन्ने बुझ्ने ‘एक जनप्रतिनिधि’ ले जरुर गम्भीर अध्ययन गर्नुभएको होला । फेरि पनि गहिरो अध्ययनको लागि बिनापूर्वाग्रह आग्रह गर्दछु । जनकपुर उपमहानगरको सुरुको सम्पत्ति कर दर ३०० रुपैयाँ हो । उसले प्रस्ट भाषामा पहिलो १० लाखसम्म ३०० रुपैयाँ, दोस्रो १० लाखसम्म ५०० रुपैयाँ र तेस्रो १० लाखसम्मको ८०० रुपैयाँ लेखेको छ । यसले तेस्रो १० लाखको अर्थ ३० लाख हुन्छ र ३० लाखसम्मको सम्पत्ति कर ८०० रुपैयाँमात्र लाग्छ तर तालिकामा १६०० रुपैयाँ देखाइएको छ । यो गलत तथ्याङ्क किन प्रस्तुत गरियो होला !? ‘एक जनप्रतिनिधि’ ले प्रस्तुत गर्नुभएको नपाहरूको मात्र तुलना गर्दा पनि ३० लाखसम्मका सम्पत्तिमा भक्तपुर नपाको सम्पत्ति कर दर महँगो छ भन्ने प्रमाणित गर्दछ । २० लाखसम्ममा पनि जनकपुरबाहेक महँगो छ भने त्यसपछिको ५० लाखसम्ममा सबैभन्दा महँगो भक्तपुर भएको पुष्टि गरेको छ । यतिसम्म आउँदा सम्पत्तिको मुल्याङ्कन १ करोड पुग्छ । १ करोडभन्दा माथिकोमा सबभन्दा महँगो विराटनगरको देखिएको छ ।
कर तिर्नु नागरिकको कर्तव्य हो । कर उठाउँदा दुईटा पक्षलाई विशेष ध्यान दिनु आवश्यक छ ः १) करदाताको क्षमता र २) करको प्रणाली । न्यून सम्पत्तिवालाले भन्दा अधिक सम्पत्तिवालाले धेरै कर तिर्ने क्षमता हुन्छ अथवा धेरै सम्पत्तिवालासँग धेरै कर उठाउनुपर्छ । कम्युनिष्ट पार्टी मात्र होइन, आर्थिक समानता चाहनेहरूले प्रगतिशील कर प्रणाली लागू गरेको यही दृष्टिकोणबाट हो । बुटवल उपमहानगरपालिकाको जस्तो भक्तपुर नपाको कर प्रणाली प्रतिगामी त छैन ? जनकपुर उपमहानगरपालिकामा जस्तै बढी सम्पत्तिवालालाई पनि कम प्रतिशतमा कर वृद्धि गरिएको छ । ‘एक जनप्रतिनिधि’ ले दिनुभएको तालिकामात्र हेर्दा पनि विराटनगर महानगरपालिकाको सम्पत्ति कर प्रगतिशील कर प्रणालीअन्तर्गत देखिन्छ । हामी भक्तपुरलाई नमुना नगरपालिकामात्र होइन, आदर्श नगरपालिका बनाउन चाहन्छौँ भने भक्तपुर नपाको सम्पत्ति करको दरमा परिमार्जन गर्नु अनिवार्य छ । जुन नगरसभाले मात्र गर्नसक्छ । त्यसको लागि अहिलेदेखि नै सुझाव सङ्कलन गर्नु र अध्ययन गर्नु आवश्यक छ ।
भक्तपुर नगरलाई आदर्श नगर बनाउने अभियानमा मेयरसाबको नेतृत्वलाई चुस्त, सबल र सफल बनाउन विभिन्न पक्षबाट आएका प्रशंसामात्र होइन, सुझाव, आलोचनालाई समेत सकारात्मक रूपमा लिँदा सहज होला । केही आलोचना आउनासाथ ‘भ्रम सृजना गर्ने गलत सूचना, हचुवा वा पूर्वाग्रही’ भनी खेदो खन्ने हो भने पनि ‘स्तुतिगान’ गर्नेहरूको मात्र मेला नलाग्ला भन्न सकिन्न ।
भक्तपुर नगरपालिकाको फेसबुक पेजमा ‘भक्तपुर नगरपालिकाको विषयमा दरिलो आलोचनात्मक लेख प्रकाशित गरेर यसपालीको दसैं मनाउने विचार’ गरेका बेनामी अनलाइन सञ्चारकर्मीको ‘भक्तपुर नगरपालिकाको विषयमा थोरैमात्र पनि नकारात्मक कुरा लेख्न नसकेको’ बखान छाप्नु बदला करकै विषयमा प्रस्ट पार्ने प्रयास भएको भए ‘एक जनप्रतिनिधि’ ले यतिविघ्न मेहनत गर्नुपर्ने थिएन कि ? असार महिनामै भक्तपुर नपाको कर महँगो भएको विषय फेसबुकमा भाइरल भएको थियो । यतिबेला भए पनि करमाथिको टिप्पणीबारे प्रतिक्रिया दिनुभएकोमा ‘एक जनप्रतिनिधि’ मार्फत मेयरसाबलाई धन्यवाद ।
Leave a Reply