भर्खरै :

भारतीय सुरक्षाकर्मीद्वारा सडक निर्माणमा रोक

कञ्चनपुर, १८ मङ्सिर  ः भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।
गड्डाचौकी, जिमुवा हँुदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् ।
“चलनभोग गर्दै आएको जग्गामा सडक बनाउनका लागि ठाउँ दिएका थियौँ”, स्थानीयवासी पशुपति चन्दले भन्नुभयो, “दशगजाभन्दा ५० मिटर वरसम्म सडक बनाउन नपाइने भन्दै रोक्न लगाएको छ ।” सडकको अवस्था नराम्रो भएकाले नगरपालिकासँग सडक बनाउन अनुरोध गरी जेसिवी ल्याइएको उहाँले बताउनुभयो ।
नगरपालीकाका सूचना अधिकारी हरिसिंह धाँमीले सडक बनाउँदै गर्दा एसएसबीले दशगजामा पर्ने भनेर रोकेकाले कार्य सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । “सडक स्तरोन्नतिको काम अगाडि बढाउनका लागि भारतीय पक्षसँग समन्वयको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।
प्रजिअ तारानाथ अधिकारीले नेपाली भूमिमा सडक निर्माण भइरहेको भए भारतीय पक्षले रोक्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय समकक्षीसँग समन्वय गरेर समस्याको निकास निकालिने छ ।” सीमास्तम्भ अद्यावधिक नहुँदा सीमा विवाद आउने गरेकाले सम्बद्ध पक्ष बसेर निकास निकालिने उहाँले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *