भर्खरै :

पूर्व निर्धारित बाहेकका निर्वाचन नगर्न त्रिविलाई निर्देशन

काठमाडौँ, २२ फागुन । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयलाई अबदेखि पूर्व निर्धारित कार्यतालिका बाहेकका कुनै पनि निर्वाचन नगर्न निर्देशन दिएको छ ।
आज आयोगका कानुन अधिकृत सन्तोषप्रसाद भण्डारीले त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई पत्र लेख्दै स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ लागू भइसकेकाले अब पूर्व निर्धारितबाहेकका कुनै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र अन्य निर्वाचन नगराउन निर्देशन दिनुभएको हो ।
पत्रमा आयोगले विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेका पेसागत सङ्घ, सङ्गठनको पूर्व कार्यतालिका बाहेकका निर्वाचन गर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिने नीतिगत निर्णय अनुसार त्रिविलाई स्ववियु र अन्य निर्वाचन नगर्न निर्देशन दिएको हो ।
त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचन पहिले नै घोषणा गरिएकाहरु हुने बताउनुभयो । “रोकिएका निर्वाचन भोलि पर्सिसम्म हुन्छ” उहाँले भन्नुभयो– “तर आयोगको पत्र आएपछि भने कुनै क्याम्पसलाई स्ववियु निर्वाचन गर्न अनुमति दिइँदैन ।”
उहाँले सोमबार हुन गइरहेको प्रदर्शनीमार्गस्थित रत्नराज्य बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचन नरोकिने जानकारी गराउनुभयो ।
फागुन १८ गतेको स्ववियु निर्वाचन रत्नराज्य क्याम्पसमा विद्यार्थी सङ्गठनको विवादका कारण रोकिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *