भर्खरै :

“जनताको सेवा गर्ने भावले लेखापढी गर्नुपर्छ”

भक्तपुर, २० मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरूले पैसाको निम्ति नभई आर्थिक अनुशासनमा बसी समाजमा इज्जतपूर्वक बाँच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कानुन अध्ययन समाज नेपाल, भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार सम्पन्न लेखापढी व्यवसायी तयारी कक्षाको समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कानुन व्यवसाय नैतिकतासँग जोडिएको पेशा भएको हुँदा जनताको स्तरअनुरूप जनताको वकिल भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रमाणपत्रको व्यावहारिक प्रयोग आवश्यक छ । प्रशिक्षार्थीहरूले स्वच्छ र सेवाभावले समाजको निम्ति अग्रसर भएर आफ्नो पेशालाई अगाडि बढाउनु आवश्यक छ ।’’
सबभन्दा भ्रष्टाचार हुने क्षेत्र मालपोत कार्यालय भएको उल्लेख गर्नुहुँदै उहाँले राजनीतिक परिपाटी बुझेर कानुनी विषयवस्तुमा जानकार भई अगाडि बढ्नुपर्ने र जनतालाई विश्वासघात हुने कामबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कानुन अध्ययन समाज भक्तपुरका अध्यक्ष राधेश्याम सुवालले आफ्नो ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गरी सामाजिक अभियन्ताको रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कानुन अध्ययन समाज नेपालका केन्द्रीय सदस्य शिवराज दाहालले लेखापढी व्यवसायीहरू देशमा व्याप्त भ्रष्टाचार, अनियमित कार्य र कानुनी विपरीतका काम विरूद्ध लड्न आह्वान गर्नुभयो ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका पूर्वअध्यक्ष विकल प्रजापति र राजाराम बासीले पनि बोल्नुभएको थियो । नगर प्रमुख प्रजापतिले एकहप्ते लेखापढी व्यवसायी तयारी कक्षाका प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *