भर्खरै :

आँखा अस्पताललाई रु ५० लाख

तुलसीपुर, २५ मङ्सिर  ः नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ ।
उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यविधि– २०७५ अन्तर्गत रही सो रकम खर्च गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पताल लमहीको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएको र सो रकमबाट अस्पतालको कर्मचारी आवास भवन निर्माण गर्ने योजना रहेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।
“सङ्घको भौतिक पूर्वाधार विकासका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्यले देखाउनुभएको सदासयता र सहयोगप्रति हामी आभारी छौँ”, नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले भन्नुभयो, ‘‘यसले हामीलाई थप हौसला र अस्पतालको विकास तथा विस्तारमा लाग्न प्रेरित गरेको छ ।”
नेपाल नेत्रज्योति सङ्घ दाङले हाल तीन वटा आँखा अस्पताल र विभिन्न जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सम्वन्धी सेवा दिँदै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *