भर्खरै :

औषधि पसलमा अनुगमन

भक्तपुर नगर क्षेत्रमा स्थानीय नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा औषधि पसलहरूसमेत दर्ता नभएको देखियो । कतिपय औषधि पसलमा नसा तथा अन्य संवेदनशील रोगका औषधिको बेचविखनमा समेत लापर्वाही भएको वास्तविकता सतहमा आएको छ । केही औषधि पसलमा सम्बन्धित विषयमा प्रमाणपत्र नभएका फर्मासिस्टले औषधि बेच्ने गरेको अनुगमन टोलीले फेला पारेको छ । औषधि जनताको जीवन र मृत्युसँग जोडिएको संवेदशील विषय हो । सानोभन्दा सानो गल्तीले समेत मानिसको ज्यान जान सक्ने वा दीर्घरोग हुने सम्भावना रहने गर्दछ । त्यसकारण औषधि र क्लिनिकमा अझ बढी गम्भीरताका साथ अनुगमनमा जोड दिन जरुरी छ ।
पुँजीवादी समाजमा नाफाको लागि लोभीपापीहरू जस्तै अपराध गर्न पनि पछि हट्दैनन् । नाफाको लागि जनताको जीवनसँग खेलबाड गर्ने औषधि व्यवसायी र स्वास्थ्यकर्मी पनि हुन्छन् । निःसन्देह औषधि पसल वा निजी क्लिनिकहरू पुँजीवादी बन्दोबस्तमा व्यवसाय नै हुन् । यो एकप्रकारको व्यापार नै हो । तर औषधि र स्वास्थ्यक्षेत्र व्यवसाय र व्यापारभन्दा बढी सेवामूलक र जिम्मेवार क्षेत्र हो । यसमा लाग्ने व्यवसायी अझ समाज र आफ्ना उपभोक्ताप्रति जिम्मेवार बन्न जरुरी छ । अर्को शब्दमा, यो मात्र व्यापार होइन । यसलाई समाजको सर्वाङ्गिण हितसँग पनि जोडेर हेर्न आवश्यक छ ।
औषधि पसल जनस्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएको क्षेत्र हो । औषधि पसल नै अस्वस्थ र सङ्क्रामक भए बिरामीको रोग अझै जटिल बन्नु स्वाभाविक हो । त्यसकारण औषधि पसल सबैभन्दा बढी स्वस्थ र सफा हुनु आधारभूत विषय हो । साथै गलत औषधि र गलत मात्राको सेवन गर्दा वा नगर्दा नागरिकको स्वस्थ्यमा अझ खराब असर पर्ने हुन्छ । त्यसकारण औषधि पसलमा बस्ने विक्रेता आफै सम्बन्धित विषयका ज्ञाता र प्राविधिक ज्ञान भएको व्यक्ति हुन अनिवार्य हो । प्राविधिक जानकार व्यक्ति नै हुनुपर्ने कानुनी बन्दोबस्त भए तापनि धेरै पसलले प्रमाणपत्र कसैको झुण्डियाएर अर्धदिक्षित व्यक्तिबाटै औषधि बेच्ने गरिएको हुन्छ । यसमा स्थानीय तह र सम्बन्धित निकायले अझै तदारुकताका साथ अग्रसरता देखाउन जरुरी छ ।
औषधिबारे अर्को महत्वपूर्ण पाटो भनेको उपभोक्ताको चेतना पनि हो । उपभोक्ता आफै औषधि किन्दा सजग हुन जरुरी छ । कतिपय उपभोक्ता कुनै चिकित्सकको सिफारिसबिना नै मनोमानी तरिकाले औषधि सेवन गर्दछन् । कतिपय मानिस औषधि पसलका विक्रेतालाई नै चिकित्सक मानी उनीहरूकै सल्लाहमा औषधि सेवनसमेत गर्ने गर्छन् । कतिपय औषधि पसलका विक्रेता आफै चिकित्सक बनेर ग्राहकलाई औषधि बेच्ने गर्छन् । यो गलत अभ्यास हो । यसको निम्ति स्थानीय तह र सम्बन्धित निकायले जनतामा चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्न जरुरी छ । वडा वडा र विद्यालय विद्यालयमा औषधिको प्रयोगबारे पनि चेतनामूलक गतिविधि सञ्चालन गर्न सके औषधिको गलत प्रयोगका कारण रोगी बन्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *