भर्खरै :

ताथलीवासीको समस्या कहिले समाधान हुन्छ ?

– विकास पराजुली
ताथलीको जीवनमार्गको रुपमा रहेको च्याम्हसिंह – नाला सडकमा बस सेवा सुरु भएको वर्षौं भइसकेपनि ताथलीवासीको समस्या भने जस्ताको जस्तै छ । बस सेवाले आवतजावतमा थोरै सहजता ल्याएको भए पनि बस सञ्चालन गरिरहेका व्यवसायी र मध्य उपत्यका बस व्यवसायीहरूको लापरबाही, हेपाहा प्रवृत्तिको सिकारमा ताथलीवासी परिरहेका छन् । वर्षौंदेखिको यातायात सिण्डिकेट अझै पनि उस्तै छ । सिण्डिकेट भए पनि सेवा भन्दा बढी जनताले सास्ती पाएका छन् ।
सीमित मात्रामा बस सञ्चालन गर्दा यात्रुहरू कोचिएर यात्रा गर्नमात्र बाध्य छैनन्, उनीहरू ढोकामा, बसको पछिल्लो भागको भर्याङमा झुण्डिएर यात्रा गर्न बाध्य छन् । दिउँसोतिर थोरै समय सहज तरिकाले यात्रा गर्न पाए पनि पिक आवरको समय विशेष त बिहान साढे ५ बजेदेखि ६ बजे, ८ बजेदेखि १० बजे अनि साँझ ५ बजेदेखि ७ बजेसम्मको समयमा यात्रा गर्ने यात्रुहरूले निक्कै सास्ती खेपिरहेका छन् । अझ चिसो, जाडोको समयमा त बसमा बस्न त के पाइला टेक्ने ठाउँसम्म हुन्न ।
बसस्टपनिर बसिरहेका टाइमकिपरसँग सोध्दा कहिले जाममा परेको, कहिले के बिग्रिएर ग्यारेजमा गएको जवाफ आउँछ । धेरै यात्रु, थोरै बस हुँदा निक्कै समस्या भएको छ । कलेज, विद्यालय आउने, जाने विद्यार्थीहरू, छात्राहरू, स–साना बालबालिकाहरू, ज्येष्ठ नागरिकहरू बढी मारमा छन् । अहिले त झन् नाला रूटमा चल्ने गाडीको समय तालिका घटाइएको छ । जाडोको समयमा यात्रुहरू हुँदैनन् भनेर समितिले यात्रुको भावना, समस्या नै नबुझी लाष्ट ट्रिपको समय घटाउँदा सयौं यात्रुहरू मारमा परेका छन् । बस कुर्ने, चढ्न नसकेपछि धूलोमैलो सडकमा, त्यो पनि अँध्यारो सडकमा हिँड्न बाध्य छन् । यो सबै हुनुको कारण नाला रुटमा चल्ने बसको सङ्ख्यामा कमी हुनु हो । व्यवसायीहरू र समितिलाई पैसा कमाउने मात्र ध्यान छ, कसरी सहज र जोखिमरहित यात्रा गराउने भन्ने कुनै मलतब छैन, वास्ता छैन ।
केही वर्षअघि नाला रुटमा चल्ने बस सङ्ख्या बढाउनुपर्ने, तालिकालाई यात्रुको चाप हुने बेला (साँझ र बिहान) मिलाउनुपर्ने, गाडीभाडा व्यवस्थित गर्नुपर्ने विषयमा कुरा उठेको थियो । तर, अहिलेसम्म पनि त्यो विषयमाथि सम्बोधन भएको छैन । यसैले साँझ अबेरसम्म काम गर्न बाध्य, सार्वजनिक बस सेवा उपभोग गर्न विवस यात्रुहरू राती च्याम्हासिंहमा अलपत्र हुनुपरेको अवस्था छ । नाला रुटमा कायम भइरहेको सिण्डिकेट खारेज नभएसम्म यात्रुहरूले यस्तै सास्ती खेप्नुपर्ने हो वा यात्रुहरू नै एक भएर बस सेवालाई व्यवस्थित गर्नुपर्ने हो ? सम्बन्धित निकायको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *