भर्खरै :

अम्बेडकर विचारको अपव्याख्या

विनय कुमार
सन् १९८३ तिरबाट मैले चिकित्सकको रूपमा सेतो कोट लगाउन थालेँ । चिकित्सकहरूले लगाउने सेतो कोटले उनीहरूको परिचय दिनुका साथै त्यसले सरसफाईको महत्वलाई पनि इङ्गित गरिरहेको हुन्छ ।
सन् २००८ बाट प्रजा राज्यम पार्टीको सदस्यका रूपमा मैले राजनीतिमा पाइला टेकेँ । राजनीतिमा लाग्दा पनि सेतो रङ्गसँगको मेरो सम्बन्ध जारी रह्यो । भलै त्यसको अर्थ भने फरक–फरक थियो । सेतो रङ्गको कुर्ता र कमिज भारतीय राजनीतिको पर्यायवाचीजस्तै हो । यसबारेमा धेरै हँसीठट्यौलीहरू पनि छन् । भारतका मतदाताहरू सेतो रङ्गको कुर्तालाई ‘सात खुन माफ’ को अनुमतिपत्रको रूपमा हेर्छन् । उनीहरूको यो विश्वास प्रायः सही पनि हुने गरेको छ । राजनीतिमा लागेका नेताहरूले यो अवस्थाको लागि आफैलाई दोषारोपण गर्नुपर्ने हुन्छ ।
मसँग मेरो बाल्यकालको एउटा सम्झना छ । मेरो बुवाको कार्यालयमा उनी बस्ने कुर्सीको पछाडि भित्तामा महात्मा गान्धीको तस्बिर झुण्ड्याइएको थियो । एउटा माउसुलीले त्यो तस्बिरपछाडि घर बसाएको रहेछ । त्यो माउसुली बेलाबेला किराको शिकार गर्न तस्बिरबाहिर देखिन्थ्यो । आफ्नो शिकार निल्दै त्यो माउसुली हतारहतार ती महान् व्यक्तिको तस्बिरपछाडि लुक्न पुग्थ्यो ।
त्यही माउसुलीले गर्ने काम राजनीतिक नेताहरू नियमितरूपमा गर्ने गर्छन् । उनीहरू बढीभन्दा बढी भोट जम्मा गर्छन् वा पैसासँग भोट साट्छन् । अनि आफ्ना आसनमा बसेरआरामको जीन्दगी बिताउँछन् । मेरो घरको माउसुलीजस्तै उनीहरू पनि महात्मा गान्धी वा बीआर अम्बेडकरको छायामा लुक्छन् ।
मैले धेरैपटक अम्बेडकरको शालिकमा फुलमाला चढाएको छु । तथापि आज पनि मलाई अम्बेडकरको सिद्धान्त मूलतः चुनावी राजनीतिको लागि मात्र प्रयोग भइरहेको कुराले पिरोल्न छोडेको छैन । संसारभर उच्च सम्मान गरिने भारतको संविधान निर्माणमा भीमराव अम्बेडकरको योगदानका लागि उनको ठूलो आदर गरिन्छ । अम्बेडकरको लागि भारतीय संविधान उत्पीडित समुदायको उत्थानको लागि लेखिएको सपनाको दस्तावेज हो । राजनीतिक पार्टीहरूले अम्बेडकरका विचारलाई आफ्नोअनुकूल बनाउने क्रममा उनका ती सपनालाई छायाँमा पारेका छन् ।
भारतको इतिहासले विकास र चुनावको राजनीति एकआपसमा मिलेर जाने सम्भावना कम रहेको कुरा प्रमाणित गरिसकेको छ । यथार्थमा विकास र चुनावी राजनीति भनेको एक अर्काका विपरीतार्थक कुरा हुन् । पढेलेखेका मानिसले पार्टीका नीति, सिद्धान्त बुझेर र उम्मेदवारहरूका बारेमा गुनेरमात्र मत हाल्न सक्छन् तर नपढेका वा कम पढेका मानिसले त पार्टीको चुनाव चिह्न र पार्टीबारे उनीहरूले सुनेका कुराका आधारमा मत दिने गर्छन् । त्यही भएर भारतमा राजनीतिक दलको चुनाव चिह्नलाई यति धेरै प्राथमिकताको विषय बनाइन्छ ।
अम्बेडकरले आरक्षणको विचार अघि सारेका थिए तर त्यस्तो आरक्षणको निश्चित समयसीमा हुनुपर्ने उनको भनाइ थियो । यसरी तोकिएको समयसीमाभित्र आरक्षणको सहायताले समाजका उत्पीडित जनताको जीवनमा उल्लेखनीय सामाजिक र आर्थिक विकास हुनेछ तर जसै उनीहरूले सामाजिक र आर्थिक विकासको तह हासिल गर्छन्, उनीहरूलाई आरक्षणको आवश्यकता रहनेछैन ।
अम्बेडकरका यस्ता विचार उनको भावनाअनुसार व्यवहारमा लागु गर्नुको सट्टा आरक्षणलाई भोट बैङ्क बनाउने माध्यमको रूपमा प्रयोग गरिँदैछ । उदाहणको लागि सन् १९७० को दशकमा भारतमा झण्डै ७० वटा पिछडिएका समुदाय थिए । उनीहरूलाई सामाजिकरूपमा पिछडिएको समुदायको रूपमा लिइएको थियो । अम्बेडकरले दशकौंपछि ती पिछडिएका समुदायको आर्थिक र सामाजिक विकासको गहिरो अध्ययन सरकारबाट हुनुपर्ने विचार राखेका थिए तर त्यसो गरिएन । सन् २००६ मा वाई.एस.आर रेड्डी सरकारअन्तर्गत त्यतिबेलाको संयुक्त आन्द्र प्रदेशमा मात्र पिछडिएको समुदायको सङ्ख्या दुईगुणाले बढेर १ सय ४० पुग्यो ।
बितेका छ दशकमा त्यतिबेलाका ७० वटा समुदायले सरकारी वा राजनीतिक पार्टीको सहयोगमा के कति प्रगति गरे त ? कत्ति पनि प्रगति भएको देखिएन । यो निकै दुःखद उत्तर हो । त्यसो भए अब थपिएका ७० वटा समुदायको सन्दर्भमा आफ्नो नाममा ‘पिछडिएको’ विशेषण थप्नुभन्दा बढी के प्रगति हुने पक्कापक्की गर्न सकिन्छ ?
तथापि राजनीतिक नेताहरूको ध्यान भने अन्यत्रै छ । उनीहरू भन्दैछन्, “हेर ¤ मैले तिमीलाई पिछडिएको समुदायको दर्जा दिलाएको छु । अबदेखि सबै ७० समुदायका मानिसले मेरो लागि भोट बैङ्कको रूपमा काम गर्नेछौ । मैले तिमीहरूलाई गरेको अनुकम्पाको बदलामा तिमीहरूले यस्तो गर्नुपर्नेछ ।”
मैले विद्यालय शिक्षा हासिल गरेको हैदराबाद पब्लिक विद्यालयमा सूचीकृत जाति–जनजातिको लागि निश्चित स्थान सुनिश्चित गरिएको थियो । उनीहरूलाई विद्यालयको छात्रावासमा निश्चित स्थान छुट्याइएका हुन्थे तर ती समुदायका विद्यार्थीको कमजोर पढाइका कारण विद्यालयको स्तर नै खस्केको भन्दै प्रायशः गुनासो आइरहने गथ्र्यो ।
विद्यालयको स्तर खस्कनुमा ती विद्यार्थीहरूलाई दोषारोपण गर्नुभन्दा त्यसलाई गहिराइमा बुझ्नु आवश्यक हुन्छ । मेरो जन्म शिक्षित परिवारमा भयो । मेरो बुवा एक जना प्रतिष्ठित वकिल हुनुहुन्छ । उनी सधैं घाँटीसम्म कानुनका पुस्तकमा डुबेर बसेका हुन्थे । मेरो आमा पनि फुसर्दको समयमा पुस्तक समाइहाल्थिन् । त्यो वातावरणले मेरी बाल्यकालमा नजानिँदो तरिकाले प्रभाव पा¥यो । फलतः भविष्यमा मलाई शैक्षिक प्रगतिको लागि आधार बन्यो ।
अर्कोतिर आमाबुवा दुवै मजदुरी गर्ने एकजना विद्यार्थीलाई आरक्षणको स्थान दिइए उसको लागि पढाइ अस्थायी वासस्थानमात्र बन्नपुग्छ । धेरै चाँडै ऊ पनि आफ्ना आमाबुवाले समातेको बाटोमा अघि बढ्नेछ । त्यस्तो केटा वा केटीलाई उच्च शैक्षिक वातावरणमा थचक्क राखिदिए त्यहाँ उसले आफू कतै हराएको महसुस गर्न पुग्छ । कक्षाकोठा गतिविधिमा ऊ कनिकुथी सहभागी बने पनि घरमा गर्नुपर्ने शैक्षिक गतिविधि उसको निम्ति कहिल्यै प्राथमिकताको विषय बन्दैनन् ।
मेरो छोरालाई हामी बिहान सबेरै उठाएर पढ्न लेख्न लगाउँछौँ । पढेको विषयमा कुनै शङ्का भए ऊसँग आमा वा बुवामध्ये कोही साथमै हुन्छ । विद्यालयको समय र खेल्नको लागि तोकिएको निश्चित समयपछि उसलाई अझै केही घण्टा पढाउने लेखाउने अर्को शिक्षक हुन्छ । आरक्षणमा पढेका विद्यार्थीको लागि यस्तो सबै सुविधा कहाँबाट सम्भव हुन्छ, अनि मेरो छोरासँग उनीहरूले कसरी प्रतिस्पर्धा गर्न सक्लान् ?
त्यसकारण एउटा जिम्मेवार, सामाजिक हितमुखी विद्यालय वा सरकारले पिछडिएका विद्यार्थीलाई आरक्षणमा कुनै विद्यालयमा थचक्क राखेरमात्र केही हुँदैन भन्ने कुरा बुझ्नु जरुरी छ । शैक्षिक चासोको बिउ परामर्श र प्रशिक्षणबाट दिमागमा रोप्न सकिन्छ । विद्यार्थीहरू आफ्नै उत्प्रेरणाले पढ्नसक्ने सुनिश्चित गर्ने जिम्मेवारी शिक्षकको हुनुपर्दछ । त्यस्ता विद्यार्थीको निम्ति साँझको खाजा र खेल्ने समयपछि थप विशेष कक्षाको व्यवस्था गरिनुपर्दछ । धेरै त्यस्ता केटाकेटी खेलकुदमा रुची राख्ने हुन्छन् । उनीहरूलाई खेलकुदमा मात्र ध्यान नदिई पढाइमा पनि ध्यान दिन उत्प्रेरित गर्नुपर्दछ ।
राजनीतिक दलको काम भनेको विद्यार्थीको शैक्षिक स्तर कसरी उकास्ने भन्नेमा होइन, बरु त्यस्ता विद्यार्थीबाटै कसरी आफ्नो भोट बैङ्क बढाउने नै हुने गरेको छ । राजनीतिक दलका यस्तै मनसायले तेलाङ्गानामा त्यहाँको सरकारले सुचिकृत समुदायको प्रत्येक परिवारलाई तीन एकड जमिन दिने घोषणा ग¥यो । यदि यो घोषणा साँच्चै व्यवहारमा कार्यान्वयन भए पनि त्यसको उद्देश्य भनेको फेरि पनि चुनावको बेलामा उनीहरूको मत आफ्नो पक्षमा ल्याउनु नै हो । केही वर्षपछि त्यसरी वितरण गरिएको जमिन बेच्दा बढी फाइदा हुने अवस्था आए, ठूलो हल्ला सुनिनेछ, “यदि जमिन बेचिने नै हो भने किन उनीहरूलाई जमिन दिनु ?”
अम्बेडकरले आरक्षणको पक्ष लिनुको कारण उत्पीडितवर्गको उत्थानको लागि राम्रा विद्यालय र जमिन वितरण होस् भन्नाका लागि थियो । उत्पीडित समुदायलाई भोट बैङ्क बनाउन पक्कै थिएन । अम्बेडकरले अघि सारेको विकाससम्बन्धी विचार र आजको भोट बैङ्कको राजनीतिबीच ठूलो मात्राको अन्तर छ ।
त्यस्तै दलितलाई बाँडिएको जमिनको उपयोग गर्न उनीहरूसँग पुँजीको पर्याप्तता छ–छैन भन्नेबारे कसैले अध्ययन गरेको छ ? उनीहरूसँग न पुँजी छ, न ज्ञान नै छ । पुँजी र ज्ञान दुवैको अभावमा उनीहरूले आफूलाई दिइएको जमिन केही वर्ष राखेर बेच्नुको विकल्प के हुनसक्छ ? सरकारले उनीहरूलाई जमिनका साथै त्यसबाट जीविकोपार्जन गर्नसक्ने आधार पनि बनाइदिनुपर्छ । वितरित जमिनको माटोको गुणस्तरदेखि त्यसको लागि आवश्यक पर्ने बिउ, मलखाद, सिचाइँ, विद्युत्को सुविधा पनि प्रदान गर्नुपर्छ । यस्ता बन्दोबस्तको अभावमा जमिनमात्र वितरण गर्नाले खासै केही प्रगति हुनसक्दैन ।
सरकारले उत्पीडित समुदायको कम्तीमा एउटा पुस्तालाई खुला हृदयले यसप्रकारको सहयोग गर्नसके अर्को पुस्ताबाट उनीहरू आफै अघि बढ्नेछन् । पिछडिएको समुदाय हराउँदै जानेछन् । अम्बेडकरले चाहेको समाज त्यस्तै हो ।
मैले बुझेको अम्बेडकरको विचार भनेकोः
कमजोरलाई आफ्नो खुट्टामा उभिनसक्ने बनाऊ ।
कमजोरलाई कुनै टेकोको आवश्यकता नहुने गरी सहयोग गर ।
स्रोतः द वायर
अनुवादः सुशीला

Leave a Reply

Your email address will not be published. Required fields are marked *