नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
बर्लिन फाङ
हालसालै भएको एउटा साहित्यिक कार्यक्रममा ब्रिटिश लाइब्रेरीका पूर्व लाइबे्ररिअन फ्रान्स उडले सन् २०११ को बेलायत भ्रमणको क्रममा चिनियाँ प्रधानमन्त्री वेन जियापाओले दिएको अभिव्यक्तिको स्मरण गरे । भ्रमणको क्रममा चिनियाँ प्रधानमन्त्रीले आफूले सानै उमेरदेखि अङ्ग्रेजी साहित्यकार शेक्सपियरका साहित्य पढेर हुर्केको प्रसङ्ग चर्चा गर्दै बेलायतको स्टार्टफोर्ड–अपन–एभनस्थित शेक्सपियरको जन्मथलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । चीनका ‘जर्नी टु द वेस्ट’ (पश्चिमको यात्रा) वा ‘ड्रिम अफ् द रेड मासन’ (लाल दरबारको सपना) जस्ता चिनियाँ साहित्यिक कृतिबारे प्रचारप्रसार भए तापनि बेलायतका कोही पनि प्रधानमन्त्रीले चीन भ्रमण गर्दा ती कृतिका लेखकका जन्मथलो भ्रमण गर्ने इच्छा देखाएका छैनन् । उडको लागि यो चकित पार्ने विषय हो ।
यो प्रसङ्गले मलाई संरा अमेरिकी राष्ट्रपति जर्ज एच डब्ल्यु बुस र पर्ल एस. बकको सम्झना गरायो ।
सिनिअर बुश चिनियाँहरूले रुचाएका संरा अमेरिकी राष्ट्रपतिमध्ये एकजना हुन् । संरा अमेरिका–चीन सम्बन्धले सामान्य गति लिएपछि चीनमा स्थापना भएको संरा अमेरिकी सम्पर्क कार्यालयका बुवा बुश द्वितीय निर्देशक थिए । त्यतिबेला सिनिअर बुश आफ्नी श्रीमतीसँग बाइकमा बसी पेकिङ्गका गल्लीगल्लीमा घुम्ने गर्थे । पेकिङ्गकै कोही बासिन्दाजस्तै गरी उनीहरू त्यहाँको विशेष लाम्चो रोटी (डग स्टिक) र सिमीको सुप (बिन कर्ड सुप) को मज्जा लिने गर्थे । संरा अमेरिकाको राष्ट्रपति बनेपछि उनले चीन–संरा अमेरिका सम्बन्धमा व्यावहारिक र रचनात्मक अवधारणा अघि सारे । विश्व अर्थतन्त्र र राजनीतिमा चीनलाई सक्रियतापूर्वक सामेल गराउने भूमिका निभाए । सिनिअर बुशले संरा अमेरिकाको राष्ट्रपतिको हैसियतमा दुई देश र दुई देशका जनताबीच सद्भावनाको विकास गर्न दशकौँसम्म योगदान गरिरहे ।
सिनिअर बुशलाई प्रायशः दृष्टिकोणको अभाव भएको राष्ट्रपतिको रूपमा चर्चा गरिन्छ । वास्तवमा उनीसँग आफ्नै भव्य दृष्टिकोण थियो । आफ्नो चाइना डायरिजको भूमिकामा उनले लेखेका छन्, “म चिनियाँ जनतालाई प्रेम गर्छु । विश्वका लागि पूर्ण साझेदारी र मित्रताका साथ दुई शक्तिशाली देशहरू चीन र संरा अमेरिकाले सँगै काम गरेको हेर्ने सपना मेरा धेरै सपनामध्ये एउटा सपना हो । यस्तो सहकार्य र मित्रताले सबैतिरका जनतालाई शान्ति र समृद्धि प्रदान गर्नेछ ।”
उनको सपना आज साकार भएको छ । आज अन्तर्राष्ट्रिय राजनीतिका सबै द्विपक्षीय सम्बन्धमध्ये पनि चीन र संरा अमेरिकाबीचको सम्बन्धको ठूलो महत्व छ ।
शीतयुद्ध र दशकौँसम्मको अलगावको आरोहअवरोहबीच भिन्न राजनीतिक बन्दोबस्तमा बसेका मानिसहरूले अर्कोथरि राजनीतिक बन्दोबस्तमा बसेका मानिसहरूलाई पराई वा घृणाको नजरले हेर्न सक्छन् । सबै विषयलाई औसतमा हेर्ने बानीका कारण उनीहरूमा त्यस्तो खालको दृष्टिकोण बनेको हुन्छ । सिनिअर बुशमा चीनप्रति त्यस्तो सद्भावना कहाँबाट पलायो ?
उनीभित्र चीनप्रति यस्तो सद्भावनाको जग खोतल्दै पस्दा हामी सन् १९९८ को अक्टोबर १७ तिर फर्किनुपर्छ । त्यो दिन उनी आफूले पढेको चाङ्सु प्रान्तको नानकिङ विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको पदक ग्रहण गर्न त्यहाँ पुगेका थिए । नानकिङ विश्वविद्यालयमा चिनियाँ र अमेरिकी अध्ययनको लागि स्थापित जोन्स हप्किन्स विश्वविद्यालय–नानकिङ विश्वविद्यालय केन्द्र पनि स्थापित छ । रेगन–बुश सरकारको पालामा सन् १९८६ मा सो केन्द्र स्थापना भएको थियो । यो केन्द्रले चीन र संरा अमेरिकाबीच आपसी साँस्कृतिक बुझाइ समझदारी विकास गर्न सक्रियतापूर्वक भूमिका खेलेको थियो ।
नानकिङ विश्वविद्यालयको सो भ्रमणका क्रममा सिनिअर बुशले लेखक पर्ल सी बकको घर हेर्ने इच्छा गरेका थिए । पर्ल एकजना इसाई धर्मप्रचारक र नानकिङ विश्वविद्यालयका अङ्ग्रेजी भाषाका प्राध्यापक थिइन् । उनले नानकिङको एउटा घरमा बसेर ‘द गुड अर्थ’ नामको उपन्यास लेखेकी थिइन् । सो उपन्यासमा पर्लको पालामा चिनियाँ जनसङ्ख्यामध्ये पनि बहुमत ओगटेका चिनियाँ किसानहरूबारे धेरै रहस्योद्घाटन गरेकी छन् ।
पर्ल बकको बारेमा अध्ययन गरेका विद्वान र नानकिङ विश्वविद्यालयको परराष्ट्र अध्ययन कलेजका पूर्वडीन हैपिङ ल्युका अनुसार सिनिअर बुशको यो आग्रहले त्यतिबेलाका कार्यक्रम आयोजकहरू चकित परेका थिए । बुशको भ्रमण तालिकामा त्यस्तो कुनै कार्यक्रम समावेश थिएन । नानकिङ विश्वविद्यालयका कतिपय प्रशासक र प्राध्यापकहरूलाई समेत नानकिङमा पर्ल बकको घर छ भन्ने जानकारी थिएन । त्यस्तो अवस्थामा सिनिअर बुशलाई त्यसको जानकारी हुनु धेरैका लागि अनपेक्षित आश्चर्यको विषय थियो । त्यतिबेला नानकिङ विश्वविद्यालयका प्राध्यापक ल्युले नानकिङ विश्वविद्यालयसँग पर्ल बकको सम्बन्धबारे सिनिअर बुशलाई जानकारी पत्र लेखेका थिए । निकै कमलाई मात्र थाहा भएको पर्लको घरमा बुशले वास्तवमै भ्रमण गर्ने इच्छा राख्छन् भन्नेबारे ल्युले पनि चिताएका थिएनन् ।
त्यतिबेला बुशले कार्यक्रम आयोजकहरूलाई आफूले कलिलो उमेरमै पर्ल बकका कृतिहरू पढेको जानकारी दिएका थिए । उनले आफू नोबेल साहित्य पुरस्कार तथा पुलिट्जर पुरस्कारका विजेता पर्ल बकको प्रशंसक भएको बताएका थिए । पर्लले आफ्नो जीवन सिद्धहस्त लेखन र सामाजिक अभियानमार्फत विश्वको उत्थानको लागि समर्पित गरेकी थिइन् । उनको यस्तो जीवन चिनियाँ जनताले मन पराए । उनका कृतिहरूले नै सिनिअर बुशको मानसपटलमा चीन र चिनियाँ जनताप्रति प्रशंसाभाव जगाइदियो । हिजोआज सामाजिक मिडियामा अभद्र प्रतिक्रिया र त्यतिबेलाको यो भावना कहिल्यै बराबरी हुनसक्दैन ।
संरा अमेरिका–चीन सम्बन्धमा हालै भएका व्यापार तथा अन्य द्वन्द्वले निम्त्याएका असरले आपसी समझदारी र सम्मानको लागि पर्ल बक र सिनिअर बुशजस्ता मानिसले हिँडेका बाटाको सम्झना अझ गाढा बनाइदिएको छ । भिन्न पृष्ठभूमिबाट आएका मानिसलाई चिन्न खुला दिमाग र खुला हृदयको आवश्यकता पर्दछ । त्यसको लागि उपयोगी अन्तश्चेतना हासिल गर्न एकअर्कोबारे पढ्ने र लेख्ने काम हुन जरुरी हुन्छ । जब कसैले कसैको बारेमा गहिराइ बुझ्ने गर्दछ, उसले त्यो व्यक्तिको विषयमा गलत व्याख्या वा बुझाइ बनाउने गर्दैन ।
आज पनि विदेशमा बसेका अमेरिकीहरू चीनबारे आधारभूत कुरा बुझ्न पर्ल बकका किताबहरू नै पढ्ने गर्दछन् । पर्लका साहित्यलाई कहिलेकाहीँ समाजबारे इतिहासजत्तिकै सत्यका रूपमा लिइने गरिन्छ । त्योबाहेक पनि तिनका अन्य आयाम छँदैछन् ।
चिनियाँ प्रकाशकहरूले अमेरिकी लेखकहरूका प्रमुख र कम महत्वका दुवैथरि कृतिलाई अनुवाद गरी प्रकाशन गरिरहेका छन् । चीनबाट पुस्तक आयात गर्न संरा अमेरिकाको तर्फबाट देखिएको अनिच्छाले एक प्रकारको असन्तुलन भने देखा परेको छ । दुई देशबीच साहित्य अनुवादको क्षेत्रमा पनि असन्तुलन आएको छ । जसले ज्ञानको दुरीलाई अझ फराकिलो बनाएको छ । संरा अमेरिकी विमानस्थलका पुस्तक पसलमा अङ्ग्रेजीमा अनुवाद भएको नयाँ चिनियाँ पुस्तक तपाइँले कहिले देख्नुभएको थियो ?
व्यापार युद्धलाई स्थगित गरेर चीन र संरा अमेरिकाबीचको सम्बन्ध सही बाटोमा ल्याउन चीनका राष्ट्रपति सी चिनफिङ र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सहमति भएको समाचारले मलाई खुशी लागेको छ । सिनिअर बुशको ९४ वर्षको उमेरमा निधन र यो निर्णय हुनु एकै समयमा परेको छ । प्रशान्त सागरपारिका मानिसहरूले सिनिअर बुश र चीनको नीति निर्माणमा उनको संलग्नतालाई सम्झिरहनेछन् । सिनिअर बुशको स्मरण गर्ने एउटा तरिका मेरो विचारमा हामीजस्ता ‘अरू’ लाई बुझ्न केही समय र शक्ति लगानी गर्नुपर्ने पनि हुनसक्छ । यसो नगरे हाम्रो मिथकको कसैले चोरीनिकासी गर्नेछ अनि हाम्रो भाष्यलाई हल्लाको विषय बनाइदिनेछ । त्यस्तो अवस्था अन्ततः दुःखद् नै हुनेछ ।
(लेखक अङ्ग्रेजी–चिनियाँ भाषा अनुवादक हुन् । उनले पर्ल एस. बकका दुईवटा जीवनी अनुवाद गरिसकेका छन् । उनी संरा अमेरिका बस्छन् ।)
स्रोतः चाइना डेली (६ डिसेम्बर, २०१८)
नेपाली अनुवादः नीरज
Leave a Reply