भर्खरै :

भक्तपुर नगरपालिका ६९ वर्षमा : नगरवासीको हितमा नयाँ विचार र नीति बनाउन जोड

भक्तपुर, २ पुस । भक्तपुर नगरपालिका स्थापना भएको ६९ वर्षमा प्रवेश गरेको छ । भक्तपुर नपाले विविध गतिविधि गरी आफ्नो स्थापना दिवस मनायो ।
सो क्रममा सोमबार नगरपालिकाको आयोजनामा नपाका जनप्रतिनिधि र कर्मचारीहरूबीच प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनप्रतिनिधि र कर्मचारीको अनुशासन र स्फूर्तिको निम्ति खेलकुद गतिविधिहरू आवश्यक भएको बताउनुभयो । उहाँले नगरपालिका स्थानीय जनताको समस्या सम्बोधन गर्ने जिम्मेवार निकाय हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बिजुक्छेंले समयको मागसँगै कर्मचारीहरूको व्यक्तित्व र स्तर वृद्धि हुने सीपमूलक तालिमको आवश्यकता औँल्याउनुभयो ।
उहाँले नगरपालिका नगरवासीको हितको निम्ति नयाँ नयाँ विचार र नीति बनाउने साझा संस्था भएको बताउनुहुँदै नगरको सरसफाइको गतिविधिलाई निरन्तरता दिनुपर्ने र नगरवासीहरूको गुनासो तथा समस्या सम्बोधनमा नपाका कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाले सडक छेउ फुटपाथ बनाउने र व्यवस्थापन गर्ने, ढल निकास व्यवस्थित गर्नेलगायतका कामहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले शिक्षित र सचेत व्यक्तिले मात्र समाजलाई मार्गदर्शन गर्नसक्ने बताउनुभयो ।
उहाँले सफाइ मजदुरको सुरक्षाको विषयमा नगरपालिकाले ध्यान दिनु उचित हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रमजीवी जनतालाई केन्द्रबिन्दुमा राखेर नगरपालिका अगाडि बढिरहेको, भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सरसफाइको नमुना नगर बनाउने उद्देश्यले जनप्रतिनिधिहरू लागिरहेको बताउनुभयो । प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूको हरेक काममा साथ र सहयोग गर्ने नगरवासीहरूमा कृतज्ञता ज्ञापन गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “विगतको स्थानीय निकाय अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार सम्पन्न स्थानीय तह भएको छ । शिक्षा, स्वास्थ्य, सहकारी, कृषि, समाज कल्याण, भेटनरीजस्ता विगतमा केन्द्रीय सरकारमातहत सञ्चालन हुने कार्यालयहरूको जिम्मेवारी पनि नगरपालिकामा आएको छ । संविधान र कानुनले जनताको नजिकको सरकार भनी चिनिने स्थानीय तहलाई अत्यन्त बलियो बनाइदिएको छ ।”
भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रमा गरिरहेको काम अहिले देशभरि चर्चाको विषय बनेको बताउँदै प्रमुख प्रजापतिले देशका विभिन्न नगरपालिका, महानगर र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरूको भक्तपुर भ्रमण र अनुभवको आदानप्रदानले काम गर्न अझ हौसला मिलेको बताउनुभयो ।
प्रदेश नं ३ को प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले स्थानीय तह सिंहदरबार नभई जनताको दरबार बन्न आवश्यक भएको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले सधैं जनताको निःस्वार्थ सेवाको नीति लिएको र जनताको असल सेवक बन्न जनप्रतिनिधिहरूलाई उत्साहित गर्दै आइरहेको स्मरण गर्नुभयो । जनताका दरबारका महत्वपूर्ण हिस्सा कर्मचारीहरू हुने चर्चा गर्दै सांसद गोसाईंले कर्मचारी साँघुरो मनोवृत्तिमा रमाएर होेइन जनसेवाको भावना र जनताको आँखाको नानी बनेर जनसेवक कर्मचारी भएर काम गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नपा देशकै व्यवस्थित र मानवीय, सामाजिक तथा सभ्यता विकास भएको उदाहरणीय नगर भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख कार्यकारी अधिकृत रोहितराज पोखरेल, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्व र भनपा कर्मचारी एसोसियसनका गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो । भक्तपुर नपाको स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूबीच र कर्मचारीहरूबीच सम्पन्न विविध खेलकुद प्रतियोगिताका विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छें (रोहित) ले प्रशंसापत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *