भर्खरै :

जसरी पनि सिमानामा पर्खाल लगाउने ट्रम्प

वाशिङ्टन, २५ डिसेम्बर । संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिमानामा पर्खाल बनाउने काम चालु आंशिक सरकारी कार्यालय बन्दले नरोकिने बताएका छन् । उनले सिमानामा कडाई गर्ने आफ्नो नीति नछोड्ने सङ्केत गरेका छन् ।
“सरकार कहिलेदेखि पुनः खुल्छ, त्यो म भन्न सक्तिनँ । …तपाई त्यसलाई तारबार भन्नुस् वा पर्खाल भन्नुस्, सिमानामा ३० फिट अग्लो छेकबार नलगाएसम्म यो खुल्नेछैन ।”, आफ्नो कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले भने ।
“हाम्रो देशमा ओइरिएका मानिसलाई रोक्ने छेकबार हो त्यो । …लागूऔषधबाट छेकबार हो । आजको विश्वमा मानवबेचविखन भन्ने एउटा समस्या ज्याद्रै गरी बढेको छ । …हामी त्यो हुन दिने छैनौं ।” राष्ट्रपतिले भने, “हामीलाई छेकबार नभई भएको छैन, हामीलाई पर्खाल नभई भएको छैन ।”
गएको शुक्रबार मध्यरातदेखि संरा अमेरिकाका सरकारी कार्यालयहरू आंशिक रुपमा बन्द भएका छन् । राष्ट्रपतिले पटक–पटक प्रतिबद्धता जनाउँदै आएको संरा अमेरिका–मेक्सिको सिमाना पर्खाल बनाउन आवश्यक बजेट निकासाबारे राष्ट्रपति कार्यालय र सिनेटबीच भएको मतान्तरका कारण संरा अमेरिकाका कार्यालय बन्द भएका हुन् ।
सिनेटमा डेमोक्रेटिक नेता चुक स्चुमरले शनिबार भौतिक छेकबार नै समस्याको समाधान हुन नसक्ने बताए । “डेमोक्रेटिक र रिपब्लिकन दुवै पक्ष वास्तविक र प्रभावकारी सिमाना सुरक्षाको समर्थन गर्छौं । तर, त्यो भनेको पर्खाल होइन । पर्खाल त राष्ट्रपति ट्रम्पको जिद्दी मात्र हो ।”
ट्रम्पले सिमानामा पर्खाल बनाउन ५ अर्ब अमेरिकी डलरको माग गरिरहेका छन् । तर, डेमोक्रेटिकहरू सिमानामा सुरक्षा बन्दोबस्त बलियो बनाउन १ अर्ब ३० करोड अमेरिकी डलर मात्र निकासा गर्ने अडान लिंदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *