भर्खरै :

कूटनीतिक सम्बन्ध विस्तार गर्दै दमास्कस

दमास्कस १३ पुस  । युनाइटेड अरब इमिरेट्स (युएई) ले सिरियाको दमास्कसमा आफ्नो राजदूतावास पुनः खोलेको छ । युएईको उक्त कदमले सिरिया सरकारलाई अरब मुलुकको सामिप्यमा ल्याउने विश्वास गरिएको छ ।
सिरियाली सरकार परिवर्तन हुनुपर्ने भन्दै राष्ट्रव्यापी प्रदर्शन भएपछि युएईले सन् २०१२ को फेब्रुअरीमा सिरियासँगको सम्बन्धविच्छेद गरेको थियो ।
झण्डै सात वर्षपछि दमास्कसमा आयोजित विशेष समारोहमा युएईको झण्डा राजदूतावासमा फहराइएको छ । उक्त कार्यक्रममा कूटनीतिक व्यक्तित्व र पत्रकारको बाक्लो उपस्थिति थियो ।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा हाल कार्यवाहक राजदूतले काम थालिसक्नुभएको उल्लेख छ । दूतावासले दुवै देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन युएई तत्पर रहेको जनाएको छ ।
युएईको राजदूतावास खुल्न लागेको खबर दमास्कसमा केहीदिन अघिदेखि नै फैलिएको थियो । केही दिन अघिदेखि नै दूतावास भवनको मर्मत कार्य हुन थालेको देखिएको थियो ।
सुडानका राष्ट्रपति ओमार अल–बासिरले पनि यही महिनाको सुरुमा सिरियाको भ्रमण गर्नुभएको थियो । युएईले राजदूतावास पुनः खोलेलगत्तै बहराइनले पनि आफ्नो राजदूतावास पुनः खोल्ने सङ्केत दिएको छ । यो दूतावास पनि सन् २०१२ को मार्च महिनाबाट बन्द छ ।
सिरियालाई अरब लिगको सदस्यबाट सन् २०१२ मा निलम्बित गरिएको थियो । धेरैवटा खाडीमुलुक र उत्तर अफ्रिकी मुलुकहरूले सिरियाली सत्ता परिवर्तन हुनुपर्ने माग गरिआएका थिए ।
सिरियाली गृहयुद्धका कारण विद्रोही र सेना गरी ३ लाख ६० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।
यसैबीच बहराइनले पनि सिरियास्थित आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । शुक्रबार बहराइनको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा सो कुरा सार्वजनिक गरिएको हो ।(एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *