भर्खरै :

मुक्त हलियालाई पानीको अभाव

कञ्चनपुर, १४ पुस : कञ्चनपुरको भीमदत्तनगरपालिका–१ बाराकुण्डामा पुनःस्थापन गरिएका मुक्त हलियालाई पानीको अभावमा घर निर्माण गर्न चुनौती थपिएको छ ।
पुनःस्थापनमा परेका ‘क’ वर्गको परिचयपत्र पाएका ३७ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनःस्थापन गरिएको छ । पुनःस्थापनमा परेका परिवारले घर निर्माणको कार्य थाले पनि पानीको अभावमा टाढाबाट पानी बोकेर ल्याई प्लाष्टिकको खाल्डोमा जम्मा गरेर घर निर्माण गर्न थालेका छन् ।
पुनःस्थापन गरिएको बस्तीभन्दा एक किलोमिटर टाढाबाट स्थानीयवासीले गाडेको बोरिङबाट पानी किनेर घर निर्माणमा जुटेको मनि दमाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “किनेको पानी बाल्टी, ड्रममा बोकेर घर निर्माणस्थलमा पु¥याउन निकै चुनौती छ ।”
पानीकै लागि एक परिवारले दैनिक रु ५०० देखि रु एक हजारसम्म खर्च गरिहनुपरेको उहाँले बताउनुभयो । “बस्ती बसाइएको ठाउँमा सानो रकमले हातेपम्प गाड्न सकिँदैन”, हरि दमाईंले भन्नुभयो, “रु एक लाखमाथिको रकम हातेपम्प गाड्नकै लागि लाग्छ, त्यो नसकेर बाध्यताले पानी किन्नुपरेको छ ।” नगरपालिका र दातृ निकायसँग हातेपम्प गाड्नका लागि कयौँ पटक माग गरेपनि सुनवाइ हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
पानी पनि खरीद गर्नुपरे पछि घर निर्माणको लागत खर्च बढ्न थालेको राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारले बताउनुभयो । लागत खर्च बढ्दा सरकारले भूमि सुधार कार्यालयको पुनःस्थापन समितिमार्फत् मुक्त हलिया परिवारलाई उपलब्ध गराएको घर निर्माणको रु दुई लाख २५ हजार रकमले नपुग्ने उहाँले जानकारी दिनुभयो ।
घर निर्माणका लागि लागत बढी हुने भएपछि समाजले समेत रु २० हजारका दरले प्रतिपरिवारलाई थप रकम उपलब्ध गराउने जनाइएको छ । सरकारले घर निर्माणका लागि ‘क’ वर्गको परिचयपत्र पाएका मुक्त हलिया परिवारलाई रु एक लाख २५ हजारका दरले र जग्गा खरीदका लागि रु दुई लाख रकम प्रदान गर्दै आएको छ । पुनःस्थापनमा परेका मुक्तहलिया परिवारले खानेपानीसमेत किनेर खाँदै आएका छन् ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *