नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सुरेन्द्रराज गोसाई
देशको शासक दल हाम्रा गाउँ–बस्ती युवाविहीन बनाउन खोजिरहँदा हामी युवा जागरणका लागि युवा सम्मेलन गर्दैछौँ । सरकार युवाहरूलाई बेरोजगार बनाई अन्तर्राष्ट्रिय बजारमा सस्तो ज्यामी पठाएर दलाली भाग खाइरहँदा हामी युवा सचेतना अभियानमा छौँ । नयाँ गल्लावालाहरू र आधुनिक दासमालिकहरू देशको बागडोर सम्हालिरहँदा हामी सङ्गठित युवा शक्ति निर्माणको आह्वान गर्दैछौँ । देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरू नेपाली राजनीतिक आन्दोलन, युवा आन्दोलन छिन्नभिन्न र तहसनहस पार्न खोजिरहँदा हामी सङ्घर्षको निरन्तरताको कसरतमा छौँ । विश्वको इतिहास भन्छ, प्रतिक्रियावादीहरूले हजार–लाख दुष्प्रयास गरे तापनि युवा अवश्य जाग्छन् र विद्रोह, क्रान्तिको रातो झण्डा साहसपूर्वक उठाएरै छाड्छन् । नेपाली समाज त्यसबाट अछुतो रहन कदापि सक्दैन ।
हो, ढिलो या चाँडो समाज बदल्ने अठोटका साथ युवा जाग्नेछन् र आफ्नो वास्तविक परिचय दिनेछन् । परिवर्तन, आमूल परिवर्तनको निम्ति समर्पित बन्दै बलिदानी भावनाका साथ युवाहरू उठ्नैपर्छ । सुषुप्तता, मौनता तोड्दै समाजको नैराध्य पखाल्दै युवाहरू जुर्मुराउनेछन् । समाज विकासको नियमले यही भन्छ ।
हामीलाई थाहा छ, कार्ल माक्र्सले विश्व बदल्ने सपनासहित युगान्तकारी दस्तावेज कम्युनिष्ट घोषणापत्र तयार गर्नुहुँदा ३० वर्षे जवान हुनुहुन्थ्यो भने एँगेल्स अठाइस वर्षे युवक । चिनियाँ क्रान्तिका महान् नेता अध्यक्ष माओ त्सेतुङ्ग आधुनिक चीन निर्माणको विराट योजनासहित चिनियाँ कम्युनिष्ट पार्टीको गठनमा जुट्नुहुँदा भर्खर २८ वर्षका हुनुुहुन्थ्यो । विशाल समाजवादी सोभियत सङ्घको निर्माण गरी मानव सभ्यतामा अभूतपूर्व उपलब्धि हासिल गर्दा लेनिन छयालीस वर्षको परिपक्व युवक हुनुहुन्थ्यो भने स्तालिन अठतीस वर्षका युवा हुनुहुन्थ्यो । आठ–दस वर्षको कलिलो उमेरमा राजनीतिक यात्रा थालेर कोरियाली नेता किम इल सङले ४० वर्षको युवा उमेरमा संरा अमेरिकी साम्राज्यवादलाई परास्त गर्न नेतृत्व गर्नुभयो र देशलाई सदाको निम्ति मुक्त बनाउनुभयो । समाजवादी देश क्युवा स्थापनाको ऐतिहासिक अभिभारा पूरा गर्दै गर्दा फिडेल क्याष्ट्रो ३३ वर्ष र चे ग्वे भारा ३१ वर्षका युवा हुनुहुन्थ्यो । विश्वले हो चि मिन्हजस्ता त्यागी, साहसी युवा पनि पायो । उहाँहरू तत्तत् देशको आन्दोलन, सङ्घर्ष र विद्रोहका परिणाम हुनुहुन्थ्यो । उहाँहरूले इतिहासलाई उजिल्याउने अभिभारा बहादुरीपूर्वक बहन गर्नुभयो । उहाँहरूले साहसिक निर्णय गर्नुभयो एउटा अत्याधुनिक हतियार बोक्ने । त्यो शक्तिशाली हतियार थियो– माक्र्सवाद । उहाँहरूसँग महान् उद्देश्य थियो–कामदार वर्गको स्वर्ग समाजवाद स्थापना गर्ने । उहाँहरूसँग एउटा फलामे दृढ इच्छाशक्ति एवम् सङ्कल्प थियो– पुँजीपति वर्गको शोषणको घृणित संसार ध्वस्त पार्ने । त्यसकारण, उहाँहरू विश्व इतिहासमा त्योभन्दा अगाडि कहिल्यै नजन्मेका युवा बन्नुभयो, अग्रदूत बन्नुभयो र इतिहासको पुनर्लेखन गर्न सफल हुनुभयो । मानव सभ्यता चम्काउन देन पु¥याउने उहाँहरू नक्षेत्र बन्नुभयो । उहाँहरू विश्वका लाखौं–करोडौँ युवाका ढुकढुकी हुनुहुन्छ अनि हाम्रा आदर्श । ‘रोल मोडेल’ का रुपमा युवाहरूको मन–मनमा उहाँहरू बाँचिरहने निश्चित छ ।
अझ महत्वपूर्ण पक्ष त उहाँहरू जति उमेर बाँच्नुभयो युवा भएर बाँच्नुभयो । नब्बे वर्षभन्दा बढी बाँच्ने क्याष्ट्रो होस् या ४० वर्षमात्र बाँच्ने चे, अस्सी वर्षभन्दा बढी बाँच्ने माक्र्स र माओ होस् या पच्चास हाराहारीमात्र बाँच्ने लेनिन, सबै जीवनको अन्तिम पल–विपलासम्म सङ्घर्षको मैदानमा सक्रिय हुनुहुन्थ्यो । विचार, भावना र साहसमा उहाँहरू तेजिला हुनुहुन्थ्यो । विश्व सर्वहारा वर्गको मुक्तिको निम्ति उहाँहरूले अन्तिम सास फेर्नुभयो । त्यसकारण, उहाँहरू अझै अजर–अमर हुनुहुन्छ ।
अब प्रश्न तेर्सिन्छ हाम्रा युवासमक्ष । हामीले कुन बाटो रोज्ने ? हामी कहाँसम्म हिंड्ने ? हामी कुन गतिमा हिंड्ने ? हामीले कुन जीवन रोज्ने ? हामीले कसको सेवा गर्ने ? हामी कति बाँच्ने ? हामी कसरी बाँच्ने ? के हामी माक्र्सवादजस्तो शक्तिशाली तथा अत्याधुनिक हतियार बोक्न तयार हुनसक्छौँ ? के हामी समाजवादजस्तो नयाँ समाज निर्माणको लामो यात्राका सिपाहीं बन्नसक्छौँ ? एक्लैले भए पनि क्रान्तिको रातो झण्डा फहराउने साहस बटुल्न सक्छौँ ? रक्तप्लावित गोदाहरू लिएर सुदूर पूर्वको त्यो क्षितिज उघार्न अथकरुपमा लम्कन सक्छौँ ? मृत्युशैय्यामा छटपटाइरहेको साम्राज्यवादविरुद्ध लड्ने योद्धा बन्नसक्छौँ । पुँजीवादी व्यवस्थाले देखाउने लोभ, लालचलाई तिलाञ्जली दिँदै उसका हरेक त्रास र आशासामु नझुकी एक तपस्वीझैँ निःस्वार्थ सेवामा समर्पित हुनसक्छौँ ?
यी र यस्ता प्रश्नहरू नेपाली युवाहरूसामु खडा छन् । हाम्रो सही निर्णयले, हाम्रो विवेकसम्मत निर्णयले नेपाली समाजको भविष्य तय गर्नेछ । नेपाली युवा आन्दोलनसमक्ष पनि केही आशा एवम् अपेक्षा छ । नेपाली युवा आन्दोलन अन्धविश्वास तथा अन्धपरम्पराविरोधी अभियान बन्न आवश्यक छ । अन्धविश्वास र अन्धपरम्परा नेपाली समाजको महारोग हो । नेपाली युवा आन्दोलन सु–संस्कृत समाज निर्माणको सेतु भई प्रस्तुत हुन आवश्यक छ । शिक्षित, सचेत, सभ्य समाजको निर्माण हाम्रो अभिष्ट हो । नेपाली युवा आन्दोलन भारतीय एकाधिकार पुँजी तथा भारतीय विस्तारवादविरोधी आन्दोलनको अभिन्न अङ्ग बन्न आवश्यक छ । यो देशको बर्बादी र नेपाली जनताको दुर्भाग्यको मूल कारण भारत र भारतीय शासक वर्ग हुन् । नेपाली युवा आन्दोलन देशभक्तिपूर्ण आन्दोलनको बलियो हिस्सा बनाउनुको विकल्प छैन । कारण यो देशको शासक वर्गको आत्मसमर्पणवादी चिन्तन, दलाली प्रवृत्ति र मालिक रिझाइले गर्दा ६० हजारभन्दा बढी हेक्टर जमिन भारतमा पुगिसकेको छ र हस्तक्षेप बढ्दो छ । देशको स्वतन्त्रता, स्वाधीनता र अखण्डता आजको हाम्रो प्रमुख सवाल हो । नेपाली युवा आन्दोलन विश्वको साम्राज्यवादविरोधी आन्दोलनको एउटा महत्वपूर्ण भागको रुपमा अगाडि बढाउनुपर्ने हाम्रो जिम्मेवारी हो । विगत ५० वर्षदेखि यो अन्तर्राष्ट्रवादी कर्तव्य तथा जिम्मेवारी हामीले पूरा गर्दै आइरहेका छौँ । अझ उचाइमा पु¥याउने अपेक्षा साम्राज्यवादविरोधी जनता राख्दै छन् ।
नेपाली युवा आन्दोलनको अर्को अभिभारा भनेको समाजवादी प्रचार अभियानलाई जारी राख्नु हो । कारण, यतिखेर नक्कली कम्युनिष्टहरूद्वारा नेपाली जनता शासित छन् । तिनीहरू नेपाली कम्युनिष्ट आन्दोलनलाई मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनलाई विश्वासधात गर्दै छन्, ढाँट्दै छन् । तिनीहरू धोका दिँदै छन् । तिनीहरू कम्युनिष्टहरूको बदनाम गर्दै छन् । तिनीहरू विश्व साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीका सेवक बन्दै छन् । तिनीहरू पुँजीपति वर्गको सेवा गर्दै छन् । नयाँ सम्भ्रान्त वर्गको रुपमा उठ्दैछन् । तिनीहरूलाई बेलैमा छ्यास्नु र उदाङ्ग्याउनु सचेत युवाहरूको गम्भीर अभिभारा हो । यो नेपाली युवा आन्दोलनको जिम्मेवारी हो । यही मार्गमा अगाडि बढ्नु हाम्रो अभिभारा हो ।
अन्तमा, यो सम्मेलनले युवाहरूलाई जुझारु, सङ्घर्षशील बनाउन, युवाबीच देशभक्तिपूर्ण भावना फैलाउन सफलता प्राप्त गरोस् । युवाहरूको ऊर्जा देश र जनताको निःस्वार्थ सेवामा, आमूल परिवर्तनको बाटो फराकिलो बनाउन र युवाहरूलाई विषयवस्तुमा पोख्त बनाउँदै, प्रविधिमैत्री बन्न उत्प्रेरित गर्दै समाजवादी आचरण निर्माणमा हौस्याउन यो सम्मेलन उपलब्धिमूलक होस् । नयाँ नेतृत्वले अनुशासित युवा सङ्गठन निर्माण गरी समाजमा उत्साह बढाउन सकोस् ।
(नेपाल क्रान्तिकारी युवा सङ्घको ११ औँ भक्तपुर जिल्ला सम्मेलन उद्घाटन समारोह –२०७५ पुस १४ गते व्यक्त शुभकामना मन्तव्य – सं.)
Leave a Reply