भर्खरै :

बङ्गलादेशमा आम चुनाव, दसको मृत्यु

ढाका, १५ पुस  । बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाउँमा हिंसात्मक घटना भएको र दस जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । विपक्षीले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको हो ।
“गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले एएफपीसँग भन्नुभयो । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती जिल्लामा पनि विपक्षीले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाइ छ । “उहाँको अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो,” स्थानीय प्रहरी प्रमुख जाजिबुल इस्लामले भन्नुभयो । लामो प्रतिपक्षीपछि भएको निर्वाचनअन्तर्गत बङ्गलादेशमा स्थानीय समयानुसार आइतबार बिहान आठ बजे मतदान सुरु भएको अधिकारीले जनाएका छन् । कडा सुरक्षा व्यवस्थासहित निर्वाचन भइरहेको छ, कतिपय हिंसात्मक घटनाका विवरण आउने क्रम जारी रहेको जनाइएको छ । अधिकारीले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी झण्डै ६ लाख परिचालन गरिएको जनाएका छन् । विगत केहीदिनदेखि हिंसात्मक घटना बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको अधिकारीको भनाइ छ । सुरक्षाकर्मीलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाउँगाउँसम्म खटाइएको छ । यसपटकको निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको र हजारौँ घाइते भएका थिए । आमनिर्वाचनका लागि देशभरि झण्डै ४० हजार मतदान केन्द्र तय गरिएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको यस देशमा अहिले प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी (वीएनपी) बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रधानमन्त्री शेख हसिनाले आफ्नो जीत सुनिश्चत भएको दाबी गर्दै आउनुभएको छ भने विपक्षीले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् । विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा हुनुहुन्छ । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुनुहुन्छ भने प्रधानमन्त्री हसिनाका बुबा बङ्गलादेशका संस्थापक नेता हुनुहुन्छ । यी दुवै महिला नेतृ सन् १९८० को दसकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय हुनुहुन्छ । यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासीन हुने रेकर्ड बनाउनुहुनेछ । यसअघि दुवै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्युत गरी लोकतन्त्र पुनःस्थापना गरेका थिए ।
सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन् र प्रतिशोधको राजनीति चरम बिन्दुमा पुगेको छ । विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय तोकिएको र उहाँ अहिले जेलमा हुनुहन्छ । बङ्गलादेशी कानुनबमोजिम जियाले चुनाव लड्न पाउनुभएको छैन । उहाँको दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौँ कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।(एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *