भर्खरै :

सल्लाघारी चोङापा पुनः सार्वजनिक (पर्ती) कायम गर्नुपर्ने

काठमाडौं, १९ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका साविक वडा नं. १७ हाल वडा नं. १ कि.नं. ४९ को क्षेत्रफल ५४–१३–०–० को सार्वजनिक (पर्ती) जग्गा तत्कालीन पञ्चायती सरकारको मिति २०४१÷०६÷११ गतेको निर्णयबाट नेपाली सेना भक्तपुरको नाममा दर्ता भएको उल्लेख गर्दै उक्त सार्वजनिक (पर्ती) जग्गामा पुरानो रानी पोखरीलगायत जनताको सांस्कृतिक सम्पदा चोङापासमेत भएको हुँदा यथोचित संरक्षण गर्न उक्त ठाउँ पुनः सार्वजनिक (पर्ती) नै कायम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिनिधिसभाको विशेष समयमा भनाइ राख्दै बिहीबार सांसद सुवालले न्यायाधीशहरूबाटै सर्वोच्च अदालतलाई बन्धक राख्ने काम सार्वजनिक भएको हुँदा कानुनमन्त्रीले संसदलाई स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले सिँहदरबार, बालुवाटार र शीतल निवास ठगको घेरामा परेको जनगुनासो सार्वजनिक भइरहेको अवस्थामा हाल बानेश्वर संसद भवन पनि भ्रष्टाचारी र अपराधीहरूकै घेरामा परेको जनगुनासो आएकोमा प्रधानमन्त्रीबाट संसदलाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सीमा नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।
जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि विरोधको सूचना पेश गर्दै सांसद सुवालले पर्याप्त अनुदानसहित प्राङ्गारिक खेतीमा युवालाई आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याउँदै खाद्यान्नमा विषादी प्रयोगबाट मानव स्वास्थ्यमा देखिएका रोग नियन्त्रण गर्ने र सरकारी लगानीमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्ने प्रावधान राखी अर्को विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले केही नेपाल ऐन संशोधन विधेयकको सैद्धान्तिक छलफलमा भनाइ राख्दै २५ वटा ऐन संशोधनको लागि पेश भएको सो विधेयकबारे तीन मिनेटमा बोल्न सम्भव नभएको उल्लेख गर्नुभयो ।
उहाँले भूकम्प पीडित जनतालाई दिइने रू. ३ लाख अनुदानलाई रू. ५ लाख पु¥याउनुपर्ने, दुई प्रतिशत व्याजको घर पुनःनिर्माण कर्जा सबै पीडितले पाउने गरी आगामी पाँच वर्षको लागि समय थप्नुपर्ने, नेपाल ट्रष्टको सम्पत्ति देश र जनताको हितमा शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई दिने प्राथमिकतामा राख्नुपर्ने, घर–घरबाट कुहिने र नकुहिने फोहरमैला सङ्कलन अनिवार्यरूपमा गर्नुपर्ने प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो ।
बैठकअघि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची राखिएकोमा राजपाबाट कैलाली क्षेत्र नं. १ बाट निर्वाचित रेशम चौधरीलाई सपथ ग्रहण गराउने कार्यक्रम भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
पुस १२ गतेको पहिलो प्रतिनिधिसभा बैठकमा राजपाका सांसद राजेन्द्र महतोले द्वन्द्वमा १७ हजार मानिस मारेको आरोप लागेका प्रचण्ड प्रधानमन्त्री हुने अनि राजपाबाट जितेका रेशम चौधरी जेलमा बस्नुपर्ने किन भनी चर्चा गर्नुभएको थियो ।
यसैकारण प्रचण्ड र ओली डराएको संसद परिसरमा चर्चा चलेको थियो ।
पुस १७ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली काङ्ग्रेसका तेजुलाल चौधरीले राजपाबाट निर्वाचित रेशम चौधरीलाई शपथग्रहण गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *