भर्खरै :

रेशम चौधरीको शपथ कि भारतको ताबेदारी !

२०७२ साल भदौ ७ गते सातजना प्रहरीसहित आठजना मानिसको ज्यान जाने गरी भएको टीकापुर काण्डमा दोषी ठहर भएका रेशम चौधरीलाई बिहीबार सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गराए । टीकापुर घटनाका प्रमुख योजनाकारको रुपमा दोषी भेटिएपछि डिल्लीबजार कारागारमा सजाय भोगिरहेका रेशमलाई शपथग्रहणपश्चात् पुनः कारागारमा लगिएको थियो । लोकतान्त्रिक गणतन्त्रको योभन्दा कुरुप दृश्य अरु के हुनसक्छ ? अदालतले अपराधी भनिसकेको मानिसलाई सांसद भनी शपथग्रहण गराउँदा संसद्को उच्च मर्यादा कसरी अक्षुण्ण रहनसक्छ ? राजनीति र राजनीतिमा लागेका मानिसको नैतिकता उच्च र चरित्र आदर्शवान हुनुपर्ने भनाइलाई रेशम चौधरीको शपथले नालीमा मिल्काएको छ । कारागारबाट प्रहरीको घेरामा आएका अपराधीलाई सभामुखले ‘नैतिकता र आदर्शको शपथ’ खुवाएर फेरि प्रहरीकै घेरामा जेल फर्काइने लोकतन्त्रको के हामीले कल्पना गरेका थियौँ ?
रेशम चौधरीलाई राष्ट्रिय जनता पार्टी (राजपा) को दबाबमा शपथग्रहण गराइयो । कसैलाई उच्च आदर्श र नैतिकताको शपथ कुनै राजनीतिक दलको दबाबमा दिलाउनु विकृत राजनीतिको दृष्टान्त हो । लोकतन्त्रको नाममा भएका यस्ता अभ्यासबाट नयाँ पुस्ताले के सिक्ने हुन् ? कसैले अनेक हठकण्डा लगाएर चुनावमा जित्दैमा के उसका सबै अनैतिक काम पखालिन्छ ?
रेशम चौधरीलाई राजपाको दबाबमा शपथग्रहण गराउनुले प्रस्टतः आजको सरकार र सभामुख भारतीय दबाबसामु लत्रेको पुष्टि हुन्छ । नेपालका स–साना विषयमा पनि सूक्ष्म व्यवस्थापनको तहमा उत्रने भारतीय दूतावासकै दबाबमा चौधरीलाई शपथग्रहण गराइएको घामजत्तिकै छर्लङ्ग कुरा हो । टीकापुर घटनाका दोषी चौधरीलाई ‘फरार’ अवस्थामा प्रधानमन्त्रीका हैसियतमा नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालले भारतमा भेटेका थिए । नेपालबाट ‘फरार’ मानिएका उनलाई प्रधानमन्त्रीले दिल्लीमा भेटेका थिए । यसबाट चौधरीको थाप्लामा भारतीय संरक्षण भएको बुझ्न कठिन छैन । साथै उनीमाथि सत्तासीन दलकै शीर्ष नेताहरूको सहयोग र सद्भाव भएकोमा कुनै द्विविधा छैन ।
सरकारसँग भारतको संरक्षणबिना बहुमत भएर पनि टिक्न सकिंदैन भन्ने लघुताभास छ । त्यसकारण आफूसँग प्रस्ट बहुमत हुँदा पनि सरकारले उपेन्द्र यादवको समाजवादी फोरमलाई काखी च्याप्न पुगेको थियो । राजपामार्फत आउने दबाब दिल्लीको चाहना हो भन्ने कुरा नेपालको शासक दललाई राम्ररी थाहा छ । रेशम चौधरीको रिहाइ वा शपथग्रहण राजपाले सरकारसँग सौदाबाजीको बुँदाको रुपमा प्रस्तुत गर्दै आएको थियो । आज सत्ता राजपासामु झुकेको छ ।
रेशम चौधरीको शपथ नेपाली लोकतन्त्रको विकृत रुप हो । वाइडबडी एयरबस प्रकरणमा बहालवाला मन्त्रीसमेत मुछिएको प्रतिवेदन सार्वजनिक भएको, लाख कोसिस गरेर पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको अकर्मण्य सरकारले अब भारतकै आड नपाए सत्ताबाट हात धुनुपर्ने अवस्थाबाट जोगिन रेशम चौधरीलाई फूलमाला लगाएर भारतको ताबेदारीमा अग्रसर देखिएको छ । यो घटनाले नेपालको लोकतन्त्रको आदर्शप्रति पछिसम्म खिसिट्ुयरी भने गरिरहेको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *