भर्खरै :

उपत्यकाव्यापी टेबलटेनिस सम्पन्न

भक्तपुर, २२ पुस । प्रभात उच्च माविको आयोजनामा भएको प्रथम काठमाडाँै उपत्यकाव्यापी अन्तरविद्यालय टेबुलटेनिस प्रतियोगिता आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का सांसद सिर्जना सैंजूले समाजमा परिवर्तनको निम्ति विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यार्थीलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउन सके समाज परिवर्तनको निम्ति योगदान हुने धारणा राख्दै उहाँले सानै उमेरदेखि विद्यार्थीलाई भ्रष्टाचारविरोधी बनाउन सके उनीहरू विभिन्न क्षेत्रमा गएर भ्रष्टाचारविरुद्ध लड्न सक्ने बताउनुभयो ।
राजधानीमा घर भएका सांसदहरूले समेत घरभाडा लिएर सांसदहरू भ्रष्टाचारमा संलग्न हुने गरेको भन्दै सुविधाको नाममा देशको ढुकुटी सकाउनु भ्रष्टाचार भएको बताउनुभयो ।
सांसद सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी खेलकुद गतिविधिमा पनि सहभागी बनाउनुले देशमा स्वस्थ नागरिक तयार गर्न सहयोग पुग्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, अखिल नेपाल टेबुलटेनिस सङ्घका अध्यक्ष चतुरानन्दन वैद्यलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ टेबुलटेनिस प्रशिक्षक विनोद शाक्य, प्रभात सार्वजनिक शैक्षिक गुठीका सदस्य हरिराम सुवाल, इसान भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछा, भक्तपुर टेबुलटेनिस सङ्घका प्रेमकृष्ण खर्बुजा, विद्यालय सञ्चालक गुठीका विष्णुभक्त राजचल सहभागी हुनुभयो ।
कार्यक्रममा टेबुलटेनिस प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *