भर्खरै :

भारतमा मजदुर हडताल

नयाँ दिल्ली, २४ पुस । भारतका मजदुर संगठनहरूले भारतीय जनता पार्टी नेतृत्वको मोदी सरकारविरुद्ध दुई दिने हडताल आह्वान गरेको छ । मङ्गलबार मध्यरातबाट सुरू भएको हडताललाई किसान संगठनहरूले पनि समर्थन गरेका छन् । मोदी सरकारको जनविरोधी नीति तथा निर्णयको विरोधमा सो मजदुर हडतालको आयोजना गरिएको आयोजकले बताए । मजदुर संगठनले आह्वान गरेको हडतालका कारण मङ्गलबार भारतका सबै जसो प्रमुख सहरको जनजीवन प्रभावित बनेको छ । रेलमार्ग, यातायात, उद्योग कलकारखाना, व्यापारिक निकाय र बैंकिङ क्षेत्र पनि हडतालका कारण ठप्प भएको बताइएको छ ।
सबै प्रान्तमा हजारौं हजार मजदुर र किसानहरू हडतालको समर्थनमा सडकमा निस्केका थिए । कलेजका विद्यार्थीहरूले मजदुरहरूको हडतालप्रति ऐक्यबद्धता जनाउँदै जुलुस प्रदर्शन गरेका थिए । हडतालमा उत्रेका मजदुरहरूमाथि प्रहरीले हिंसात्मक दमन समेत गरेको थियो । मजदुरहरूको हडताललाई भारतका कम्युनिष्ट पार्टीहरूले समर्थन जनाउँदै सक्रिय सहभागिता जनाएको थियो ।
भारतीय मजदुरहरूले नवउदारवादी आर्थिक नीति लागु भएयता भारतीय मजदुर वर्गको अवस्था दिनानुदिन खराब बन्दै गएको भन्दै हालै मोदी सरकारले श्रमिक संगठन ऐन १९२६ मा संशोधन गरेर मजदुरमाथि दासता थोपर्न खोजेकोमा विरोध गरे । ४८ घण्टे मजदुर हडताल सरकारले ल्याएका मजदुरविरोधी र जनविरोधी नीतिविरुद्ध भएको हडतालमा सहभागी मजदुरहरुले बताए ।
“यो सरकार श्रम ऐन अक्षर र भावनामा लागु गर्न गम्भीर छैन ।”, मजदुर हडतालमा सहभागी एक जना मजदुरले भने । हडतालका आयोजक मजदुर संगठनहरूले मूल्यवृद्धि नियन्त्रण गर्न, बेरोजगारी समस्या समाधान गर्न, श्रम ऐन उल्लंघनका घटना नियन्त्रण गर्न, सबै मजदुरलाई आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्न, न्युनतम मासिक तलब १८ हजार तोक्न, लगायतका माग राखेका छन् ।
मोदी सरकारका जनविरोधी नीतिको विरोधमा यसअघि किसानहरूले ठूलठूला प्रदर्शन र जुलुस गरेका थिए । मोदीको हिन्दुअतिवादी नीतिका कारण भारतमा मजदुर–किसान, अल्पसङ्ख्यक, आदिबासी जनसमुदायमाथि चर्को दमनमा परेका छन् । प्रधानमन्त्रीको अर्को निर्वाचन आउन केही महिनामात्र बाँकी हुँदा भारतका विभिन्न जनसमुदाय मोदी र भारतीय जनता पार्टीको हिन्दुवादी शासनको विरोधमा आन्दोलनमा उत्रेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *