भर्खरै :

थारू बस्तीमा माघीको रौनक

– नारायणी रजौरे
दाङ, २५ पुस । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू बस्तीको हो ।
थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइन जिल्लाका अधिकांश थारू बस्तीमा देख्न पाइन्छ । थारू बस्तीमा माघी आउन अब एक हप्तामात्र बाँकी छ । यहाँका थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्नमै व्यस्त छन् ।
अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघी अघि नै सुँगुर काट्ने, रोटी पकाउनेलगायत काम गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफूहरूको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम एक हप्ता अगाडिबाटै गर्न थालिन्छ ।”
मङ्गलबार तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू गाउँमा सुँगुर घरघरमा बाँधेका देखिन्थे भने महिला दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे । उनीहरूले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको बताए । घर आँगनमा बसेर दुना टपरी बनाउँदै गरेकी ४० वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो बनाउन लागेकी हुँ ।”
तुलसीपुरको रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य थारू बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवीकी ६० वर्षीया मनराखी चौधरी माघीका लागि दुना टपरी बनाउनमै व्यस्त हुनुहुन्छ । आफ्ना बुहारीसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहनुभएकी मनराखीले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–१५ का ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउनमै ब्यस्त हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “एक महिना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी हुँ ।” मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गर्नुभएकी शाान्तिले माघीका लागि विशेष परिकारका रूपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसक्यांै, अब गाउँका दिदीबहिनीसँग माछा मार्न जाने सल्लाह भइसकेको छ ।” माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरू बबई नदी जाने तयारीमा रहेको उहाँको भनाइ थियो । बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ का ५५ वर्षीया लीला चौधरीले भन्नुभयो, “माछा मार्न गाउँका सबै मिलेर यहाँ आएका छौँ ।”
थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । घर घरमा सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीका साथ खानपिन गरेर रातभर नाचगान गर्ने गरिन्छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।
माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबैजना नजिकैको खोला, तलाउ, पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *