भर्खरै :

लोकेश्वर साकोसमा संस्थागत विकास तालिम

लोकेश्वर साकोसमा संस्थागत विकास तालिम

भक्तपुर, २४ जेठ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा एकदिने संस्थागत विकास तालिम समापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सहकारी क्षेत्र सेवाभावलाई आत्मसात गर्दै सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै सहकारीहरू स्वेच्छाचारी ढङ्गले नभई नियम, कानुन र समुदायको भावनाअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी संस्था निरन्तर रूपमा सञ्चालन हुनको लागि संस्थाको जिम्मेवार कर्मचारीको क्षमता विकासका साथै सहकारी ऐन, नियम र कानुनबारेमा पूर्णरूपमा ज्ञान हुनुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा देखापरेका समस्याबारे औँल्याउँदै उहाँले सहकारीमा समस्या निम्तिनुको मुख्य कारण राज्यको गलत र फितलो नीति, जथाभावी सहकारी खोल्न इजाजत दिनु र ठुला व्यवसायी र धनाढ्य व्यक्तिहरूले सहकारी संस्था कब्जा गर्नु रहेको बताउनुभयो ।
उहाँले बजेट पुँजीवादी र विदेशीमुखी रहेको तथा सरकारले विद्युत् ५० युनिटमाथि उपभोगमा लगाएको कर नीति तथा स्वास्थ्य क्षेत्रमा लागेको नयाँ करको दायित्व, कृषि, शिक्षा र विकास निर्माणको क्षेत्रलाई नसमेटिएको, वैदेशिक ऋणबाट खर्च पूर्ति गर्ने, कर्मचारीहरूको तलब तथा पारिश्रमिक वृद्धिलाई मात्र जोड दिएकोजस्ता धेरै कारणबाट यो बजेट सर्वसाधारण जनताको हितमा नरहेको जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगर क्षेत्रभित्रका सहकारीहरूको अनुगमन गर्दा देखिएका चुनौती र समस्याहरूका बारेमा जानकारी दिनुभयो । उहाँले पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग मानव जीवनमा सहजता ल्याएको भए तापनि यसको नकारात्मक प्रभावबाट जोगिन सचेत रहनुपर्ने धारण राख्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्थामा सञ्चालक समितिमा रहने सदस्यहरूमा सहकारीसम्बन्धी ज्ञान र आधारभूत योग्यताहरू भए सहकारी राम्रोसँग सञ्चालन गर्न सकिने बताउनुभयो ।
उहाँले तालिमको मुख्य उद्देश्य सदस्य, समिति उपसमितिका पदाधिकारीहरूको क्षमता वृद्धि गर्ने तथा नयाँ कार्यसमिति निर्माणलाई व्यवस्थित बनाउनु रहेको बताउनुभयो । सहकारीले स्थापनाकालदेखि नै सदस्यको हक हितमा कार्य गर्दै आएकोमा आगामी दिनमा पनि सोहीअनुसार कार्य गर्दै जाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिमको प्रशिक्षण सहकारी तालिम प्रशिक्षणकर्मी राधेश्याम दुवाल र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण ध्वजुले दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट संस्थाको शिक्षा तथा बचत उपसमितिका सदस्य मञ्जुमैंया लाखाजुले तालिम प्रभावकारी र उपयोगीमूलक रहेको बताउनुभएको थियो । संस्थाका सचिव राजु छुकां र उपाध्यक्ष प्रनेश बाटीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *