भर्खरै :

किसान कार्यकर्ता सिन्ताकलको निधन

भक्तपुर, ३० पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगरपालिका वडा. नं ५ चण्डेश्वरी एकाइ समितिका अध्यक्ष हरिगोविन्द सिन्ताकलको पुस २९ गते निधन भयो । उहाँ पुस २५ गते सूर्यविनायकमा बिहान मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको थियो । मध्यपुर अस्पतालमा उपचारको क्रममा पुस २९ गते साँझ उहाँको निधन भएको थियो । सिन्ताकलको २०१७ साल असार २५ गते बुबा जितबहादुर सिन्ताकल र माता आशाबेटी सिन्ताकलको कोखबाट चासुखेल महाननीमा जन्मनुभएको थियो ।
किसान कार्यकर्ता हरिगोविन्द सिन्ताकल प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलन, देशको सार्वभौमिकता रक्षार्थ भएको आन्दोलन, भारतीय विस्तारवादको थिचोमिचोविरुद्ध भएको आन्दोलन, प्रतिगमनविरोधी आन्दोलनहरूमा सक्रिय एक सङ्घर्षशील, कर्तव्यनिष्ठ, इमानदार कार्यकर्ता हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टी चण्डेश्वरीका सदस्य पनि हुनुहुन्छ । संस्कृतिप्रेमी सिन्ताकल चण्डेश्वरी डाफा भजनका एक अगुवा पनि हुनुहुन्छ ।
उहाँको पार्थिव शरीरमा नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय उपाध्यक्ष एवम् भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवाल र भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले नेपाल क्रान्तिकारी किसान सङ्घको झण्डा ओढाई अन्तिम बिदाइ गर्नुभयो । हरिगोविन्द सिन्ताकलका एक श्रीमती, ३ छोरी र १ छोरा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *