भर्खरै :

इरानमाथि सैनिक हमलाको तयारी भएको खुलासा

वाशिङ्टन, १३ जनवरी । संरा अमेरिकी राष्ट्रपति कार्यालयअन्तर्गत राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) ले गएको वर्ष सन् २०१८ मा संरा अमेरिकी रक्षा विभागलाई इरानमाथि सैनिक विकल्प दिन आग्रह गरेको संरा अमेरिकी सञ्चारमाध्यमहरूले खुलासा गरेका छन् ।
गएको सेप्टेम्बर महिनामा इराकको राजधानी बगदादमा भएको मोर्टार हमला पश्चात परिषद्ले सैनिक विकल्पको खोजी गरेको संरा अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दैै वाल स्ट्रिट जर्नलले जनाएको छ । इरानसँग सम्बद्ध लडाकूहरूले इराकस्थित संरा अमेरिकी राजदूतावासमा सो हमला गरेको वाशिङ्टनको दाबी छ ।
“कोही पनि घाइते नभएको र निकै कममात्र क्षति भएको हमलाको प्रतिक्रिया जनाउन इरानमाथि परिषद्ले दीर्घकालीन सैनिक विकल्पको खोजी गरेको थियो ।” संरा अमेरिकी अधिकारीले भने । राष्ट्रिय सुरक्षा परिषद्का ती अनुरोध पत्र पेन्टागनले अभिलेखीकरण गरेको थियो तर ती पत्र राष्ट्रिय कार्यालयमा बुझाए नबुझाएको कुनै टुङ्गो नलागेको बताइएको छ ।
वाशिङ्टनले भने गएको मे महिनामा इरानी आणविक सम्झौताबाट हात झिकेको थियो र तेहरानमाथि थप नाकाबन्दी थोपरेको थियो । संरा अमेरिकी परराष्ट्र सचिव माइक पोम्पेओले आफ्नो मध्यपूर्व भ्रमणका क्रममा पटक पटक इरानी खतरालाई दोहो¥याएका छन् । माइक हाल मध्यपूर्वी देशको भ्रमणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *