भर्खरै :

विद्यार्थीले भक्तपुरको सम्पदाको अध्ययन–अनुसन्धानमा जोड दिनुपर्ने

भक्तपुर, ३ माघ । ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको आयोजनामा बिहीबार २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूले भक्तपुरको सम्पदाको अध्ययन–अनुसन्धानमा लाग्नु उपयुक्त हुने र विद्यार्थीहरूलाई नयाँ प्रविधि सँगसँगै मौलिक प्रविधि र पुरानो शैलीको पनि अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले अरु देशको प्रविधिमात्र हामीले सिको गर्ने होइन, हाम्रो मौलिक प्रविधिबारे पनि विदेशीलाई थाहा दिनुपर्ने र संसारभरि प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
नेपालमा २०७२ सालमा गएको भूकम्पबाट नेपालीहरूमा अरुसँग मागेर खाने प्रवृत्ति विकास भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र मौलिक शैलीको घर निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सभासद् सुरेन्द्रराज गोसाईंले चीनको भूकम्पले क्षतिग्रस्त सिचुवान सहर अहिले अर्थक्वेक टुरिज्म शहरको रुपमा विकास भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘प्रदेश सभा गठन भएको एक वर्ष बितिसक्दा पनि प्रदेशसभामा सङ्घीयताबारे छलफल नै भएन, त्यसैले यो सङ्घीयता भारतीय पुँजीद्वारा लादिएको सङ्घीयता हो ।’
उहाँले माघ २ गते भएको भूकम्पसम्बन्धी जनचेतनामूलक प्रदर्शनीले जनतालाई भूकम्पप्रतिरोधी भवन निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भूकम्पसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन यही २०७६ वैशाख १२, १३ र १४ गते हुन गइरहेको जानकारी दिनुभयो ।
ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले टाउन प्लानिङले कृषि योग्य भूमि मास्ने नभई अनियमित निर्माणलाई व्यवस्थित गर्ने र भौतिक संरचना निर्माण गर्दा मानवीय मूल्यमान्यतालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डा. सुवेगमान बिजुक्छेंले अर्थक्वेक भल्नराबिलिटी, डा. मञ्जिप शाक्यले रिसर्च वर्क फर रिकन्स्ट्रक्सन अफ कल्चरल हेरिटेज स्ट्रक्चर र डा. विजयकृष्ण श्रेष्ठले पनि भूकम्पसम्बन्धी प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा उपप्राचार्यद्वय ई. रविन्द्र फोंजू र रत्नशोभा प्रजापति, आर्किटेक लिवास फैजू र राजन जतीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *