भर्खरै :

विपरीत धारको यात्रा

 नीरज लवजू, मजदुर दैनिक
पुँजीवादी व्यवस्थाले सञ्चार र पत्रकारिता क्षेत्रमा व्यवसायिकताको नाममा व्यापार गर्दै आएको छ । यस्तो परिस्थितिमा पुँजीवादी व्यवस्थाविरुद्ध लड्ने लक्ष्य राखेको आस्थाको सञ्चारमाध्यमको एक चौथाइ शताब्दीका निरन्तर सञ्चालन आफै पनि प्रवाहको विपरीत धारमा हिंड्नु हो । हाम्रा तीनवटा सञ्चारमाध्यमले त्यहीविपरीत धारको यात्रा गरिरहेको छ । नदीको धारविपरीत हिँड्नु कति कठिन हुन्छ भन्नेमा मैले धेरै चर्चा गर्न आवश्यक नहोला ।
श्रमिक साप्ताहिकको प्रकाशन आफैमा सुरुवात थिएन । देश र विदेशका न्यायपूर्ण सङघर्ष प्रचार गर्ने, जनतालाई ऊर्जाशील र सचेत बनाउने लक्ष्यका साथ श्रमिकको प्रकाशनअघि पनि भिन्नभिन्न कालखण्डमा फरक–फरक नामका विभिन्न पत्रपत्रिकाको प्रकाशन भएका थिए । श्रमिक साप्ताहिकले त्यही सिलसिलालाई निरन्तरता दियो, समयान्तरमा मजदुर र अहिले अनलाइन मजदुर पनि जोडिएका छन् ।
यहाँसम्मको यात्रामा निःसन्देह सयौं–हजारौं अग्रज कार्यकर्ताको लगातारको मिहिनेत र समर्पणको भूमिका रहेको कुरा आजको कार्यक्रममा म स्मरण गर्न चाहन्छु । सबै अग्रजप्रति हार्दिक सम्मान व्यक्त गर्छु । यो यात्राले आजको आकार लिन धेरै समर्पित कार्यकर्ताहरूको पसिना परेको छ । ती सबै कार्यकर्ताले राखेको जगमै आज पनि यसले निरन्तरता पाइरहेको छ ।
तीनवटै सञ्चारमाध्यमका सकारात्मक र सुधारिनुपर्ने पक्षबारे आज यो कार्यक्रममा पनि छलफल हुनेछ । त्यसबाहेक बेलाबेला हुने गल्ती कमजोरीलाई हरेक पाइला पाइलामा आलोचना गरेर सबैले सहयोग गरिरहनुभएको छ । आलोचनाले नै हामीलाई अझै मिहिनेत गर्न र यसलाई अझ श्रमिक जनताप्रति प्रतिबद्ध विचारवान बनाउन हौस्याइरहेको हुन्छ । आजको कार्यक्रमलाई मूलतः तीन वटै सञ्चारमाध्यमलाई अझ परिस्कृत बनाउन छलफल र अन्तरक्रिया गर्ने दबु मानेका छौं ।
आजसम्मको यात्रामा निरन्तर मार्गनिर्देशन गर्ने नेपाल मजदुर किसान पार्टीको सिङ्गो सङ्गठन, शुभचिन्तक, लेखक, विज्ञापनदाता, पत्रकार, वितरक, पाठकलगायतप्रति हार्दिक सम्मान व्यक्त गर्दै सबैजनालाई स्वागत गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *